बाढीपहिरोको कारण २८ जनाको मृत्यु, २४ बेपत्ता

बाढीपहिरोको कारण २८ जनाको मृत्यु, २४ बेपत्ता

Morang_Urlabari_madumallaकाठमाडौं । केही दिनदेखि परेको अविरल वर्षाका कारण देशभर २८ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परि २४ जना बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ । बाढीपहिरोमा परि १० जना घाइते भएको पनि गृहले जनाएको छ ।

गृह मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार प्यूठानमा ६, गुल्मीमा पाँच, पाल्पामा चार, बाग्लुङमा चार, मकवानपुरमा तीन, रुपन्देहीमा दुई र काठमाडौँ, अर्घाखाँची, दोलखा र सर्लाहीमा एक एक जनाको मृत्यु भएको छ ।

विपद्कै कारण प्यूठानमा १९, बाग्लुङमा दुई, सुनसरी, सप्तरी र झापामा एक÷एक जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ ।
गृहमन्त्रालयका सहायक प्रवक्ता झङ्कनाथ ढकालद्वारा मंगलबार जारी विज्ञप्तिअनुसार बाढीपहिरोको कारण गुल्मीमा तीन, काठमाडौँमा दुई, बाग्लुङमा दुई र प्यूठान, दोलखा र अर्घाखाँचीमा एक÷एकजना घाइते भएका छन् ।

गृहका अनुसार विपद्का कारण ७५ घर पूर्ण रुपमा र दुई घर आंशिकरुपमा क्षति पुगेको, तिनाउ नदीमा आएको बाढीले ठूलो झलुङ्गे पुल बगाएको, मोरङमा रङ्गेलीबाट उर्लाबारी जाने पक्की पुल बगाएको छ ।

नारायणी नदीमा पानीको सतह खतराको तहसम्म पुगेको हुँदा चितवन र नवलपरासी जिल्लाका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन गृह मन्त्रालयले अनुरोध गरेको छ ।

घटनाको जानकारी हुनासाथ सुरक्षा निकायका नजिकका इकाई र जिल्ला सदरमुकामबाट समेत उद्धार टोली तत्कालै परिचालित भई खोज तथा उद्धार कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।