यतिखेर चन्द्रसमशेर जबराको नाचघर (सिंहदरबार) भित्रको मासु पसलमा नयाँ सरकारी ठेकेदार निर्माणको भतेरका लागि पुलाउ पाकिराखेको छ । पुलाउ पकाउनका लागि सातुसामलको जोहो गर्ने र पकाउने इन्धनको तयारी महाराजगन्ज स्थित कुइरे दरबार तथा लैनचौरको गुजराती दरबारबाट भइरहेको छ । विशेष गरेर गुजराती दरबारले पुलाउमा राख्ने मसलाको सम्पूर्ण व्यवस्था मिलाएको कुरा झर्रोटर्रो श्रोतले फेला पारेको छ । गुजराती दरबारका पानवाला दूत अहिले सिंहदरबार छिरेका व्यापारिक दलहरूका माउनेताहरूको घर, क्वार्टरदेखि अफिससम्म धाउने गरेको छ । आफ्नो अनुमति र योजना विना बनेको उखानप्रसादको सरकारबाट नाराज भएको दक्षिणको गुजराती मुखिया यतिखेर आफ्नो योजना अनुसार पुलाउ पकाउने जिम्मेवारी पाएपछि निकै हौसिएका छन् । पौराणिक कालको महाभारतको लडाइँ आफ्नै भूमिमा भएको र त्यो लडाइँका मुख्य योजनाकार सकुनी पनि गुजरातीकै क्षेत्र आसपासका भएकाले अहिले हिमालय पवर्त क्षेत्रमा नयाँ महाभारत पर्वको रचना गरेर सकुनीको रोलमा तिनै गुजराती मुखिया लागि परेका छन् ।

यता सरकारी पुलाउ पकाउन माके दलका सुप्रिमो, चारतारे दलका सभापति र तराईका महिषपालहरू कस्सिएर लागि परेका छन् । त्यसको सहज चाँजोपाँजो मिलाउनेमा खसिको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने पसलका टोली नेता आफ्नो पदलाई दाउमा राखेर लागि परेकी छन् । उनले आफ्नो विवेकले व्यापारको हिसावकिताबमा लाग्न भन्दा पूजनीय धर्मपतिको कानुनी सल्लाह बमोजिम चल्ने गरेको गुनासो सरकारी खान्की खाइराखेकाहरूले लगाउने गरेका छन् । व्यापारिक विषय नै नपढेकी र विगत दसबर्से महाभारतमा ब्रिगेडियर भएर लडेको मान्छेलाई मासु पसलको मुख्य व्यापारी कमाण्डरको जिम्मेवारी दिइनु ‘भालुको कम्पारो’ सावित भएको उनका कुलघर भित्रका आफन्तहरूले बताउने गरेका छन् । मुख्य व्यापारीले पसलमा सबै साझेदारहरूलाई मिलाएर लैजान स्वतन्त्र भूमिका खेल्नु पर्नेमा उनले आफ्नो कुलगोत्रको पक्षमा मात्र लाग्नु र मैदानबाटै सर्मनाक हार व्यहोरेका धर्मपतिको योजना र निर्देशनमा चल्न थालेपछि उनलाई आफ्नो जिम्मेवारी सम्हाल्न ‘मुतको पैरो’ भएको बताइएको छ ।

एकातिर खाइपाई आएको जागिर एकाएक खोसिनु र अर्कातिर भागबण्डाका बिलभरपाई समेत पास गर्नै नदिएर हटाउन थालेपछि उखानप्रसादले नयाँ बखेडा झिकेर पुलाउ पकाउने योजनाकारहरूलाई पुलाउ पकाउनमा अप्ठ्यारो पारेका छन् । सहज रूपमा नयाँ पुलाउ पाक्छ र हसुर्न पाइन्छ भनेर मुख मिठ्याएर बसेका सुप्रिमोलाई पहिलो गाँसमै ढुङ्गा बनेजस्तो भएको छ । कतै यो पुलाउ नपाकेर पसल नै विघटन हुने त हैन भनेर उनी झस्किएका छन् । उखानप्रसादका सरकारी सल्लाहकार, आफ्नो व्यापारिक दलका केही साझेदारहरू देखि कानून निर्माणका केही सहयोगीहरूसम्मले पसल नै विघटन गर्ने सल्लाह दिने गरेको कुरा पनि खुल्न आएको छ । पसल नै विघटन गरेमा ‘नरहे बाँस नबजे बाँसुरी’ हुने र पुलाउ पकाउनेहरू उत्तानो पर्ने भएकाले त्यसो पो गर्ने हो कि भन्ने मनसुवा उखानप्रसादले राखेको देखिन्छ । यदि पसल विघटन नगर्ने भएमा पनि सजिलै मुखिया पद नछोड्ने मुड बनाएर उखानप्रसाद बसेका छन् । उनले आफ्नै घरभित्रबाट ठूलो दबाबको सामना गर्नु परेमा मात्र केही न केही उपद्रो गरेर मात्रै मुखिया पद छोड्ने मनसाय रहेको कुरा आफ्ना भित्रियाहरूसँग गर्न थालेका छन् । यसरी पुलाउ पकाउने मामिलामा लफडा परेपछि यतिखेर मासु पसलका टोलीनेताले आफ्नो कार्यकक्षमा सबै व्यापारी सङ्गठनका माउनेताहरूलाई बोलाएर भागबण्डाको मोलतोलमा छलफल चलाएकी छन् ।

नाफाघाटाको साझेदारीमा कुरा मिल्न गएको खण्डमा यो जानकारी पत्र प्रकाशित हुँदासम्म नयाँ सरकारी पुलाउ पाक्ने छ । त्यो पुलाउ पकाउने क्याट्रिङको ठेकादारमा माके दलका सुप्रिमो नियुक्त हुनेछन् । विगतमा सरकारी पाले मुखिया कट्वालेलाई हटाउन खोज्दा उनका मालिक दख्खिनका पाटेलले एक सासमा थर्काएपछि आफै जागिरबाट हात धोएका सुप्रिमोलाई फेरी सरकारी ठेकेदारी प्राप्त गर्न फलामको च्युरा सावित भएको छ । सनकमा आएर छँदाखाँदाको जागिरबाट हठात राजिनामा दिएर बाहिरिएका सुप्रिमोलाई यतिबेला फेरी सरकारी ठेकेदार बन्ने तिब्र लालसा जागेको छ । त्यसका लागि अरूले गर्दा अपवित्र हुने गठबन्धन अहिले आफ्ना लागि निकै पवित्र र शुद्ध भन्दै नयाँ गठबन्धन गर्न पुगेका छन् । यहि गठबन्धन पहिला चारतारेदलसँग साँठगाँठ गरेर माकुनेले बनाउँदा सुप्रिमोको शब्दकोषमा अपवित्र थियो र त्यसलाई भत्काउन आफ्ना कार्यकर्तालाई बलिको बोको बनाएर राजधानी लगाएत देशका मुख्य सहरहरूमा छदिने हडताल गर्न उकासेका थिए । अहिले फेरी त्यहि गठबन्धन आफ्नो अनुकूलमा भएपछि पवित्र, शुद्ध र युगको आवश्यकता बनेर व्याख्याइएको छ । जे होस् यतिखेर निकै ठूलो झरी र बर्षदका बिच पनि सरकारी पुलाउ पकाउने धन्दा चलेको छ ।

यो देश सदैव बाहिरिया शक्तिको खिचडी, पुलाउ पकाउने र पिकनिक मनाउने थलो मात्र बनेको छ । यसो किन भयो भन्ने प्रश्नको जवाफमा अहिले पुलाउ पकाउन दाविलो समाएर बसेका चारतारेका माऊनेताले भने ‘हेर्नुस् हामीलाई आफ्नै वुद्धिले पुलाउ पकाउन पनि आउँदैन, हामीसँग सातुसामल पनि छैन भनेर भन्नलाई । सँधै भिख मागेर सरकारी डाडुपन्यु चलाउनु प¥या छ भनेर भनेको । अरूले दिएको खान्की खाएपछि उसको इसारामा चल्नु परेन भनेर भन्नलाई ? कस्तो कुरो नबुभ्mया तपैँले ।’ त्यहि कुरा माकेका सुप्रिमोलाई सोध्दा उनले यस्तो जवाफ दिए ‘मने, हाम्रो देशै गरिब छ, गरिब देशका नेता गरिब हुने कुरा स्वतः भैहाल्यो । गरिब नेतको वुद्धि पनि गरिब हुने कुरा भयो भन्ने म ठान्चु । त्यसैले हामीलाई मित्रहरूको सहयोग सुझावको आवश्यक्ता पर्च । मने, अहिले त्यो सहयोग हामीलाई गुजराती भाइले दिइरखेका छन् । यस कुरामा कसैले आपत्ती मान्नु पर्ने कुनै कारण म देख्दिन ।’ यसकुरामा तराईका महिषपालहरूको तर्क अलि बेग्लै छ । उनीहरू भन्छन् ‘गुजराती भाइको सुझाव नमानेर जवर्जस्ती कानुन पास गर्दा देशले नाकावन्दीको सास्ती खेप्नु प¥यो । हामी त निमित्त पात्र मात्र थियौँ । अहिले हात घुमाएर उही नाक समाउनु प¥यो । सोझै समाएको भए यत्रो लफडा पनि हुने थिएन । ढिलै भएपनि गुजराती भाइ सफल भएकोमा उनलाई बधाई छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर