प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव शुक्रवार संसदमा विधिवत रुपमा पेश गरेपछि पुष्पकमल दाहाल आफै झांक्री आफै बोक्सीको भूमिकामा देखा परेका छन् । दाहालले शुक्रवार संसद् बैठकमा उक्त अविश्वासको प्रस्ताव पेश गरेका हुन् । नेपाली कांग्रेसको तर्फबाट नेता विमलेन्द्र निधिले उक्त प्रस्तावको समर्थन गरेपछि यसले संसदमा विधिवत् प्रवेश पाएको हो ।
नौ महिनाअघि जुन रोष्ट्रमबाट दाहालले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन लम्बे भाषण गरेका थिए, नौ महिनापछि ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेर उत्तिकै लम्बे भाषण दिएका छन् । उही मान्छे जसले उसको प्रशंसा गर्यो, उसैको विरुद्ध बोल्दा अप्ठेरो मानेर आफ्नो बचाउ गर्न खोज्दै दाहालले ‘राजनीतिमा असंभव भन्ने केही नहुने’ भन्दै नौ महिना पहिले ‘आफ्नै प्रस्तावमा प्रधानमन्त्री निर्वाचित भएका नेताविरुद्ध अहिले अविश्वासको प्रस्ताव पेश गर्ने परिस्थिति आउनुले त्यसको पुष्टि गरेको’ बताए ।
दाहालले प्रमुख सत्तारुढ एमालेसँग शान्ति प्रक्रियाका बांकी कामहरु पूरा गर्ने गरी ९ बुंदे सहमति भएको र सत्तामा आलोपालो गरी भागशान्ति गर्ने भनी भद्र सहमति समेत् भएको भन्ने कुरालाई बारम्बार दोहर्याए । आफूले गल्ती नगरेको पुष्टि गर्न उनले ती दुवै खाले सहमति कार्यान्वयन नभएपछि बाध्य भएर अविश्वासको प्रस्ताव पेश गर्नु परेको जिकिर पनि गरे ।
ओलीसंग व्यक्तिगत रुपमा आफ्नो कुनै कटुता नरहेको तर उनको काम गर्ने शैली र व्यवहार कत्ति पनि मन नपरेकाले सुरुदेखि नै अन्तरविरोध रहंदै आएको खुलासा पनि गरे । लम्बेथान भाषणसहितको झांक्री बस्दाको ‘झांक’मा उनले प्रधानमन्त्री ओली संघीयता विरोधी भएको भन्दै संघीयताविरोधीसंग उनको बलियो लगनगांठो कसिएको पनि बताए । माओवादी केन्द्रलाई ओलीले सरकारमा चढ्ने भर्याङ बनाएको भन्दै ओली ‘इगोसेन्ट्रिक’ भएको जिकिर गर्दै बोक्सी बनेर डस्न पनि भ्याए ।