
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफैले नौ महिनाअघि प्रधानमन्त्रीमा प्रस्ताव गरेका केपी शर्मा ओलीबारे नयाँ रहस्य खोलेका छन् ।
शुक्रबार ब्यवस्थापिका संसदको बैठकमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्दै उनले ओलीबारे नयाँ रहस्य खोलेका हुन् ।
संघीयता र गणतन्त्रविरोधीहरुसँग मिलेर नै सरकारमा गएका दाहालले सरकारबाट फिर्ता भएसँगै प्रधानमन्त्री ओलीको लगनगाँठो संघीयता र गणतन्त्रविरोधीसँग गाँसिएको आशंका गरे ।
‘गणतन्त्रका बारेमा त म त्यही शब्द भन्दिनँ तर उहाँलाई गणतन्त्र मन परेजस्तो लाग्दैन,’– दाहालको भनाइ थियो ।
ओलीलाई प्रधानमन्त्री बनाउँदा आफूले निकै ठूलो काम गरेको भनी बढाइचढाइँ गरेका दाहालले शुक्रबार उनी संघीयता र गणतन्त्रविरोधी भएको भन्दै सत्तोसराप गरे ।
एमालेसँग पार्टी एकताबारे छलफल
नेकपा माकेका अध्यक्ष दाहालले आफूले एमालेसँग पनि पार्टी एकताको तयारी गरेको खुलासा गरेका छन् । दाहाल माओवादी एमाले भएको आरोप लागिरहेका बेला उनी आफैले एमालेसँग एकताका लागि छलफल चलिरहेको खुलासा गरेका हुन् ।
एकता नै गर्न लागेको एमालेसँग आफूले एमालेसँगको गठबन्धन तोड्ने इच्छा नहुँदा नहुँदै पनि गठबन्धन तोड्नुपरेकोमा दुःख लागेको बताए ।
प्रधानमन्त्री बन्न आतुर रहेका दाहालले ओलीले पानी जहाज, रेल, ग्यास पाइप लाइन ल्याइदिने भनी गरेका अभिब्यक्तिको पनि आलोचना गरे ।