भोलि अविश्वासको प्रस्तावमा मतदान 

nepal-parliament-protest BICCकाठमाडौं । संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि शनिबार र आइतवार छलफल गराई आइतवार नै मतदान गरिने भएको छ । सभामुख ओनसरी घर्तीले मतदान गरिसक्ने गरी कार्यसूची पेश गरेकी हुन् ।

दुर्इृ दिनसम्म छलफल चलेपछि प्रधानमन्त्रीले प्रस्ताव र छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन् । जवाफपछि पनि अविश्वास प्रस्ताव फिर्ता नभएका खण्डमा कानुनी प्रावधानअनुसार सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ बैठकमा प्रस्तुत गर्नेछिन् ।

त्यसपछि सभामुखले प्रस्तावका पक्षमा र विपक्षमा हुने संसद् सदस्यहरुका लागि छुट्टाछुट्टै कक्षमा हस्ताक्षर गरी मत प्रदान गर्ने व्यवस्था गर्ने छिन् ।

प्रस्तावमाथि अन्तिम निर्णय संसद्को मत विभाजनद्वारा हुने छ । तर संसदमा तत्काल कायम सदस्य सङ्ख्याको बहुमतबाट सो प्रस्ताव पारित भएमा मात्र प्रधानमन्त्री पदबाट स्वतः पदमुक्त हुनुहुने छन् ।

त्यसपछि त्यसको जानकारी सभामुखले राष्ट्रपतिलाई गराउनेछिन् । तदनुसार राष्ट्रपतिले नेपालको संविधानको धारा २९८ बमोजिम राजनीतिक सहमतिका आधारमा नयाँ प्रधानमन्त्रीको निर्वाचनका लागि आह्वान गर्नेछिन् ।

यो प्रक्रियाबाट सजिलैसंग एकहप्ताभित्र सहमतिका आधारमा नयाँ प्रधानमन्त्रीको चयन हुन नसकेमा सोही धाराको उपधारा ३ बमोजिम संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुने संवैधानिक प्रावधान रहेको छ ।

तीनवटा आर्थिक विधेयकहरु शुक्रवार नै संसदमा अस्वीकृत भएपछि ओली सरकार वैधानिक रुपमा अल्पमतमा परेको छ ।