दलाल वर्गविरोधी सङ्घर्षले नेवार समुदायलाई जोड्छ

दलाल वर्गविरोधी सङ्घर्षले नेवार समुदायलाई जोड्छ

देशमा दलाल पुंजीपति वर्गको दबदबाका कारण नेवार समुदायले व्यापारबाट पनि सन्तोषजनक उन्नति हासिल गर्न सकिरहेको छैन । अहिलेको दलाल पुंजीपति वर्ग र राष्ट्रिय पुंजीपति वर्गबीचको टक्करमा राष्ट्रिय पुंजीपति वर्गमाथि पर्न गएको असर प्रत्यक्षत नेवार समुदायका व्यापारीहरुमाथि पर्न गएको छ । नेकपा क्रान्तिकारी माअाेवादीका नेता पवनमान श्रेष्ठसँग गरिएकाे संक्षिप्त कुराकानी ः 

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको निर्माण कसरी हुन गयो ?

नेवाः राष्ट्रिय मुक्ति मोर्चा युद्धकालको बीचबाट जन्मिएको र सुदृढ भएको मोर्चा हो । नयां जनवादी क्रान्ति कसरी सम्पन्न गर्ने भन्ने वैचारिक प्रश्नसंगै जनयुद्धको सुरुआतमै जातिय मुक्तिको कुरा उठेको थियो । यही स्पिरिटअनुसार काठमाडौंमा यो मोर्चाको निर्माण भएको थियो । जातिय मुक्तिको आन्दोलन वर्गीय मुक्तिसंग जोडिएको राजनीतिक आन्दोलन पनि होे । वर्गीय मुक्तिसंगै जातीय मुक्ति संभव हुन्छ भन्ने माक्र्सवादी मान्यताका आधारमा यो मोर्चा गठन भएको हो ।

pawanman shresthaमोर्चाले भोगेका पीडाहरु के कस्ता छन् ?

२०५५ सालतिर काठमाडौंमा चरम दमन थियो । त्यसैबेला २०५५ साल जेठ ९ गते नेवा राष्ट्रिय मुक्ति मोर्चाको गठन भएको थियो । यसको निर्माणसंगसंगै जातीय स्वशासन, स्वायत्तता र आत्मनिर्णयका कुराहरु पनि उठेका थिए । वौद्धिक समुदायमा यसको निकै राम्रो प्रभाव परेको थियो । यसबारेमा व्यापक छलफल र बहसहरु पनि भएका थिए । तर त्यसलगत्तै उत्पन्न देशको बदलिंदो परिस्थिति, दरबार हत्याकाण्ड र देशमा जारी संकटकालले मोर्चाको गतिविधि सीमित बनाइदियो । विज्ञप्ति मात्र जारी गरेर पनि मोर्चाको धारणा सार्वजनिक गर्ने अवस्था सिर्जना भएको थियो ।

मोर्चाको पछिल्लो अवस्था कस्तो छ ?

शान्ति प्रक्रियामा आएपछि यो मोर्चा फेरि पनि आकर्षणको केन्द्र बन्न पुग्यो । विभिन्न पार्टीहरुबाट मोर्चा प्रवेशको क्रम बढेर गएपछि यो नै सबैभन्दा ठूलो मोर्चा बन्न पुग्यो । यसले उठाएका मुद्दाहरु लागू गर्न प्रयत्नरत रह्यो पनि । तर पार्टीभित्रका समस्याले सोचे झैं गति लिन सकेन । तात्कालीन पार्टी नेतृत्वको विचलनकारी व्यवहार र जनतामा त्यसको निकै नराम्रो प्रभाव पर्दै गएकाले पछि त आफैले उठाएका मुद्दाहरुबारे जनमानसमा स्पष्ट पार्न नै निकै सकस भयो ।
पहिलो संविधानसभाको निर्वाचनमा नेवा मोर्चाको भूमिका र विश्वास निकै प्रवल नै रह्यो । तर जब यसको विघटन माओवादी नेताहरुबाटै भयो, त्यसले जनतामा घोर निराशा जन्मायो । पार्टीमा फूट र विभाजन आयो । मोर्चा पनि विभाजित भयो ।

मोर्चालाई अबका दिनहरुमा करी अघि बढाउंदा राम्रो होला ?

मूल कुरा नेवा मोर्चा आफैमा पूर्ण होइन । मोर्चा बलियो हुनका लागि सबै उत्पीडितहरु एक ठाउंमा आउनु पर्छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीले यसको नेतृत्व गर्नुपर्छ । नत्र गाह्रो पर्छ । यसका लागि पहिलो शर्त भनेको क्रान्तिकारी पार्टी र क्रान्तिकारी नेता हुनुपर्छ । यसले मात्र सबै उत्पीडितहरुलाई एकताबद्ध बनाएर लैजान सक्छ ।
पार्टी ठीक हुंदा मोर्चा बलिया हुन्छन् र पार्टी बेठीक भएमा मोर्चा कमजोर बन्न पुग्छन् । हाम्रो बलियो मोर्चा तात्कालीन पार्टी नेतृत्वको वैचारिक पलायनता र गद्दारीले निकै कमजोर हुन पुगेको यथार्थता हाम्रासामु लुकेको छैन । त्यसैले क्रान्तिकारी पार्टी र क्रान्तिकारी नेतृत्वको अगुवाइमा जातीय मोर्चाहरु र जवसहरु चल्नुपर्दछ ।

अहिले सङघीयतासहितको संविधान जारी गरिएको छ । कस्तो प्रभाव छ नेवार समुदायमा यसको ?

जुन रुपमा संविधान निर्माण भयो, यसबाट अधिकांश नेवार जनसमुदाय खुशी छैनन् । नेवा राज्यको कल्पना गरिएको थियो । यसको निकै आशा थियो नेवारी समुदायमा । नेवा भाषा एउटा अनुराग जस्तै छ नेवारी समुदायमा । यसमाथि यो संविधानले बन्देज लगाएको जस्तो छ । यसले नेवारी जनसमुदायलाई निकै दुखित र आक्रोशित दुवै बनाएको छ ।

नेवार समुदायभित्र वर्ग विश्लेषण कसरी गनुृहुन्छ ?

जातीय समस्या आफैमा वर्गीय समस्या पनि हो । नेवारभित्र धनी, मध्यम, निम्नमध्यम, गरीब तथा भूमिहीन सबै छन् । सबैभन्दा बढी कम त सर्वहारा वर्गका नै देखिन्छन् । त्यसैले वर्गीय आन्दोलनको उठानमा समस्या देखा पर्ने पनि गरेका छन् । तथापि मध्यम, निम्न मध्यम र धनीहरु पनि राष्ट्रवादी आचरणका छन् । मोर्चाले यी सबैलाई समेट्ने कार्यक्रम निर्माण गरी व्यवहारमा ल्याउनु जरुरी छ ।

नेवारी समुदायभित्र रहेका युवाहरुको स्थितिबारे के छ ?  

नेवार युवाहरु बढि खेलकूदमा रुची राख्ने गर्दछन् । त्यसैले ती क्लबहरुमा आकर्षित छन् । व्यायाम गर्ने र स्वास्थ्यमा बढि ध्यान राख्ने कुरामा पनि उनीहरुको चासो बढ्दै गइरहेको छ । राजनीतिमा पनि उनीहरुको उत्तिकै चासो छ । देशमा हुने हरेक राजनीतिक परिवर्तनहरुमा उनीहरुको ठूलो भूमिका रहिआएको छ । हरेक सङ्घर्ष र जनआन्दोलनहरुमा नेवारी युवाहरुको बाक्लो सहभागिता रहने गरेको छ । यो स्थितिलाई हेर्दा नेवार युवाहरुको भूमिकालाई सुनिश्चित गर्दै ठीक ढङ्गबाट एउटा उचाइमा लिएर जान सकिन्छ ।

देशैभर व्यापारमा जोडिएर नेवार समुदाय छरिएर रहेका छन् । के गरेमा उनीहरुको समस्यालाई सम्बोधन गर्न सकिन्छ ?
ठीक हो, यो व्यापारिक समुदाय पनि हो । देशैभर छरिएर पनि रहेको छ । पेशाका हिसाबलले व्यापार र कृषि दुवैलाई अवलम्बन गर्दै आइरहेको छ ।

उपत्यकाभित्र जमीनको समाप्तिसंगसंगै यो समुदायमा पेशाको संकट पनि थपिदै गएको छ । यो समुदाय आर्थिक तथा पेशागत संकटको कारणले विस्थापित हुने अवस्थामा पनि पुगेको छ । देशमा दलाल पुंजीपति वर्गको दबदबाका कारण यो समुदायले व्यापारबाट पनि सन्तोषजनक उन्नति हासिल गर्न सकिरहेको छैन । अहिलेको दलाल पुंजीपति वर्ग र राष्ट्रिय पुंजीपति वर्गबीचको टक्करमा राष्ट्रिय पुंजीपति वर्गमाथि पर्न गएको असर प्रत्यक्षत नेवार समुदायका व्यापारीहरुमाथि पर्न गएको छ ।

कस्ता खाले कुराले नेवारी समुदायलाई छुन्छ ?

काठमाडौं उपत्यकामा शहरीकरणहुँदै जांदा नेवार जाति अल्पमतमा पर्दै गएका छन् । यस्तै स्थिति रहिरहने हो भने यसले नेवारहरुलाई विस्थापित बनाउंदै लैजाने देखिन्छ । शहरभित्र बेरोजगारी निकै नै बढ्दै गएको छ । तर जनजीविकाका लागि संघर्षहरु उठान हुन सकेका छैनन् । यी विषयहरुलाई क्रमश उठान गरिनुपर्छ ।