कुनै जमाना थियो । नारी पुरुषको विभेद संगसंगै कामहरु पनि नारी पुरुषका लागि भिन्दाभिन्दै गरी छुट्टयाइका हुन्थे । क्षमता र शारीरिक शक्तिका हिसाबले कुनै एउटी महिलाले पुरुषले गर्ने काम गरिछन् भने पनि ‘पोथी बास्यो’ भन्ने चलन थियो । भन्न त कतिसम्म पनि बांकी राखिदैन थियो भने ‘महिला पनि जान्ने हुने’ सम्म भनिन्थ्यो ।
तर अहिले जमाना त्यस्तो रहेन । पहिलो कुरा त राजनीतिक परिवर्तनले सबैलाई बुझ्ने र सोच्नसक्ने बनाएको छ । मानिसको विचार गर्ने कोण पनि जनमुखी बन्दै गएको छ । अब त कसैले पुरानो जमानामा अनौठो लाग्ने काम गरेर देखाएछ भने ‘क्षमताले भ्यायो, गर्यो’ भन्ने गर्दछन् ।
दोस्रो कुरा, महिला सशक्तिकरणको आवाज र प्रक्रिया दुवै अघि बढिरहेको छ । महिलाले विभिन्न पेशा र व्यवसायका साथै सिकर्मी काम गर्नु, डकर्मी काम गर्नु र खेतबारीमा हलो जोत्नु सामान्य भएको छ । बरु यसलार्ई दक्षतामा लैजान जोड गरिएको पाइन्छ ।
तेस्रो कुरा, विज्ञान प्रविधिले पनि मानिसलाई निकै अगाडि ल्याइदिएको छ । मानिसले अब त संसार बुझ्न थालिसकेको छ ।
चौथो कुरा, नयां आर्थिक जीवन सुरु भएको छ । वैदेशिक श्रम र रोजगारीले गर्दा महिलालाई पुरुषमहिला दुवैले गर्ने काममा अग्रसर गराएको छ ।
पाचौं कुरा, समाजद्वारा विगतका बर्जित भनिएका र अमान्य घोषणा गरिएका कामहरु अहिले मान्य मात्र होइन, सामान्य पनि पनि बनिसकेका छन् ।
छैठौं र यी सबैको सार भनेको यी माथिका आधारमा निर्माण हुंदै गएको श्रममा आधारित नयां संस्कृतिको निर्माण नै हो ।
त्यसैले त, सानु कसको बाटो कुरेर बसु म बारी छ भिरालो ।