आरम्भ
पहेलो घाम उपन्यास कवि विष्णु भण्डारीको पहिलो आख्यानकृति हो । जनयुद्धको आंधीबेहरीमा खारिएकी लालसेनाकी कमाण्डर शिवालाई उपन्यासको मूलचरित्र र बाहुनी आमाबाट जन्मिएको कामीको सन्तान माइकल सोहन उपन्यासका सुत्राधार हुन् । उपन्यास २५ वटा मूल अध्याय, प्रस्तावना र पूर्वकथा गरी २७ भागमा विभाजित रहेको छ ।
यो उपन्यास लालसेना अस्थायी क्याम्पमा संकेन्द्रीत भएपछि प्रारम्भ हुन्छ । युद्धको सघनताबाट अस्थायी क्याम्पको नवीन जिन्दगीले कोरेका मधुरा चित्रहरु त्यतिवेला धुमिल हुन्छन्, जतिवेला शिवा आफूलाई अयोग्यमा दर्ज भएको जानकारी पाउंछे । अयोग्यताको प्रमाणपत्रले छापामार युद्धको वीरतापूर्ण समय मात्र होइन भावी जिन्दगीको कल्पना पनि नराम्रोसंग कोक्याउंछ र शिवा जनमुक्ति सेना नेपालको दोस्रो डिभिजनबाट निस्किन्छे ।
ऊ काठमाडौंको बस चढ्छे । संयोगले त्यो बसमा शिवाको युद्धकालीन वीरता र सौर्य गाथा सुनेको अमेरिकी पनि हुन्छ । शिवा खोज्दै अस्थायी क्याम्प पुगेको अमेरिकी र युद्धले अयोग्यताको नयां परिचय दिइएकी छापामार एउटै वसमा हुन्छन् । सडक दुर्घटनाले बस रोकिन्छ । गन्तव्यहीन यात्रामा निस्किएकी शिवा र सोहनको बीचमा बसमै सामन्य सम्बाद हुंदै परिचय हुन्छ । शिवालाई खोज्दै हिंडेको सोहनलाई शिवाले आफ्नो नाम रमिला बताउंछ । नयां वसपार्कमा अंध्यारोमा पुगे पछि विलखबन्दमा परेकी रमिलालाई सोहनले आफ्नो ठमेलको कोठामा लैजान्छ र एक अपरिचित अतिथिलाई बन्दोवस्त गरिदिन्छ । सोहन शिवाको खोजीमा दोलखा निस्किन्छ । दोलखाको बैरामको एउटा होटलमा बास बस्छ । त्यहां सेनाको अत्याचारले जन्माएकी विद्रोही शिवाको पारिवारिक कथा कसरी शिवाको हजुरआमा र बुवाको निशंस हत्या भयो र आमाको चेत गुम्यो ? एउटा रक्ताम्य इतिहास बैराममा कसरी कोरियो ? उसले थाहा पाउंछ ।
शिवा बलात्कार र मृत्युको मुखबाट भाग्दै हिउंले ढाकेको पाटनमा पुगेपछि भेट्याउने जनमुक्ति सेनाको कमाण्डर तारासंग पनि माइकल सोहनको भेट हुन्छ । शिवा दुश्मनको मुखबाट मात्र होइन प्रकृतिले लुछिरहेको अन्तिम घडिमा संयोगै संयोगले बांच्छे ।
आफ्नो जनमुक्ति सेनाको काकालाई भेट्न हिंडेकी शिवा कमाण्डर तारासंग रहन्छे । उ छिटोभन्दा छिटो जनमुक्ति सेनामा भर्ति हुन चाहन्छे । उमेर र अनुभवको कमीले गर्दा कमाण्डरले उसलाई जनमुक्ति सेनामा भर्ति गर्न अस्वीकार गर्दछ । कमाण्डरलाई एउटा सेना हुन आवश्यक परीक्षा शिवाले दिन्छ र ६ महिनामै सार्पसुटर छापामार बन्छे । छापामारहरुसंग ढुङ्ग्री खोलामा भिडन्त हुन्छ । त्यो कारवाहीमा शिवाको बीरतापूर्ण आक्रमणले मेजरसहित १२ जनाको घटनास्थलमै मृत्यु मात्र हुंदैन । यो बीरतापूर्ण मोर्चाले शिवालाई अन्तर्राष्ट्रियकरण गर्दछ ।
सोहन दोलखाबाट शिवाको पूर्वकथा जानकारी पाएर फर्किन्छ । ठमेलमा एउटा अर्की कमाण्डरसंग भेट हुन्छ । उसले त्यो अराजक केटीको डकुमेन्ट्री निर्माणको लागि सहयोग गर्दिन । तराईबाट फर्किदा भेटिएकी रमिलालाई आफ्नो डकुमेन्ट्री निर्माणको सपनासंग जोडिएको आमा बुवाको त्रासदीपूर्ण मृत्युको कथा सुनाउंछ । रमिलासंग सहयोगको अपेक्षा गर्दछ । रमिलाको काठमाडौंमा जनमुक्ति सेनाका पूर्वकमाण्डर र सदस्यहरु पासाङ, आशा, सलिना समरसिंह र सागरहरुसंग भेट हुन्छ । सलिना बांच्न दोहोरी सांझ धाउंदै छे । आशा गृहिणीमा बदलिएकी छे । सागर घाट न घाटको वेरोजगारमा बदलिएको छ । शिवाले जिउनका लागि होटलमा भांडा माझ्न सुरु गर्छे । जिन्दगीले टोकिरहेका समयमा अयोग्यहरुको बीचमा क्रान्ति, श्रमसंघर्ष, पार्टीको तत्कालीन कार्यनीति, उत्पादन, सत्ताा, सरकारजस्ता बहुविध विषयमा छलफल हुन्छ ।
एकवर्षपछि युद्धमा आफ्नो प्रिय मान्छे गुमाएको समरसिंह शिवाको कोठामा जान्छ र त्यहां शिवाले काम गरिरहेको होटल मजदुर युनियनको कमिसनको खेलमा आन्दोलन र चन्दाको धम्कीले बन्द हुन्छ । शिवा फर्सदिली बन्छे । एकदिन युद्धमा सहिद भएका योद्धाहरु सपनामा पिचास बनेर आउंछन् र तिनले शिवासंग एकोहोरो प्रेम र सेक्स बक्दछन् ।
शिवा कोटेश्वरबाट डेरातिर गइरहेको बेला अचानक पछाडिबाट कसैले अठ््याउँछ । भूतपूर्व छापामार अञ्जना हुन्छे । सामान्य भलाकुसारी पछि आफ्नो घरमा आउन निम्तो दिन्छे । शिवा त्यहाँ जान्छे । अञ्जनाले मधेशको जग्गा विक्री गरी घर किनेको वयान मात्र गर्दिन, पानी कम्पनी, कृषि फर्मदेखि रेष्टुरासम्म फैलिएको आफ्नो लगानीको साम्राज्य बताउंछे र घरमा एउटा चौधरी नाबालिकालाई नोकर्नी बनाएर कज्याइ गरिएको मोजमस्तीको राजमा शिवालाई अड हुन्छ र फर्किन्छे ।
त्यही बेला समरसिंहले शिवालाई नयां जागिर लगाइदिन्छन् । आकर्षक तलवको पासोमा तरुनी खेति गर्ने म्यानपावर सञ्चालक मालिकको चालामाला ठीक नलागे पछि शिबाले आस्थासंग परामर्श लिन्छे । उनीहरु नयां संकटलाई नयाँ ढंगले सामना गर्न मानसिक ढंगले तयार हुन्छन् । आस्था र पासाङले कृषि कार्यलाई जीवन जिउने आधार बनाउंछन् । समरसिंह, शिवा र साथीहरु राज्य र पार्टीले अयोग्य सावित गरेपछि कृषि कर्मबाट स्वरोजगार र योग्यता सावित गर्ने संकल्प गर्दछन् । पासाङले लगातार तीन महिना जग्गा खोजेर लिजमा लिए पछि फर्म संचालनको नियम विनियमको निर्माण हुन्छ । यही बीचमा शिवाको बोसले अन्तर्राष्ट्रिय मिटिङमा शिवा नै जानुपर्ने बहानामा भोग गर्ने योजना निर्माण गर्दछ । शिवाले कृषि फर्मको दुरगामीतालाई ध्यानदिंदै अन्तर्राष्टिय मिटिङमा जान नसक्ने भएपछि सम्भोगका लागि पैसाको प्रलोभन देखाउंछ । त्यो बोसलाई पैसाको होइन मानिसको मूल्य सिकाउंदै शिवाले अफिसमा कुटेर हात भाचिदिन्छे ।
अमेरिकाबाट सोहन फर्किन्छ । सोहन र रमिला दुई हप्ते यात्रामा निस्किन्छन् । सोहनले रमिलालाई म्यानपावर कम्पनीको बोसको हात शिवाले भांचिदिएको समाचार सुनाउंछ र सपनामा शिवा रमिलाझै भएको पाउंछ । सोहन र रमिला गोरखा दरबार हुंदै पोखरासम्मको यात्रामा निस्किन्छन् । शिवा र सोहन पोखरा घुम्दै गर्दा शिवाले पहिलो चोटी सुहागरातको कल्पना गर्छे ।
पश्चिमी यात्राबाट काठमाडौं फर्के पछि दोलखाको जिरी हुंदै बराम, कालि लेकसम्म पुग्छन् । कालिलेकमा युद्धको बेला हतियार कारखानामा प्राविधिक दुर्घटनामा खुट्टा गुमाएको पासाङ र अर्को चौरी गोठालोको परिवारसंग भेट हुन्छ । शिवाको झन्डै श्वास फुस्किएको त्यो हिमाली पाटनको दस बर्षे पूर्वस्मृतिले उसलाई द्रवित तुल्याउंछ । काठमाडौं फर्किएपछि सोहनले शिवालाई फार्ममा छोडिदिन्छ र ऊ होटलमा फर्किन्छ । शिवाले पहिलो चोटी प्रेमको अनुभूति गर्छे । राती सपनामा कुमारी आमा भएको देख्छे । अर्कोदिन कलेज जानुपूर्व सोहनलाई फोन गर्न खोज्दा स्वीच अफ हुन्छ । कजेजबाट होटलमा जांदा त्यहां सोहन हुंदैन । निकैवेर कुर्दा पनि आएन । सांझपख सोहनको फोन आउंदा ऊ कालिन्चोक यात्रामा हुन्छ । फर्मको विस्तार र अस्थायी टहराको निर्माण पश्चात शिवाले आमालाई उपचार गराउंछे । आमालाई सञ्चो हुन्छ । आमा र छोरीको दशक पछिको भेट भावपूर्ण हुन्छ । स्काइपमा सोहन र शिवाको गफ हुन्छ । स्काइपमा नै शिवाले सोहनलाई पहिलो चोटी प्रेम टक्राउंछे । सोहन रमिलाको प्रेमले द्रविभूत हुन्छ ।
अयोग्य र वर्हिगमित पूर्वछापामारहरुको पेरिसडांडामा धर्ना सुरु हुन्छ । यो धर्ना युद्धको मूल्य र अधिकारको लडाइंमा केन्द्रित छ । शिवाकी साथी सिर्जनासंग त्यहां भेट हुन्छ । जो अन्तरजातीय विवाहका कारण पारिवारिक झमेलामा फसेकी मात्र छैन, युवा लिगमा कार्यरत बूढो कोरिया भासिए पछि इट्टा भट्टामा काम गरेर गुजारा गर्दैछे । धर्ना अयोग्यको संवेनशीलता नबुझ्ने पत्रकार मात्र होइन चिल्ला कारहरुमा हुंइकिरहेका नेताहरु आइरहेछन् र विना प्रतिक्रिया गइरहेछन् ।
लामो समयपछि समरसिंह मैला कपडा र लामा लामा दाह्री जुंगासहित गहिरो उदासीलिएर आउंछ । व्यक्त गर्न नसकेकी मायालु शिवाको निकटताले उद्देलित हुन्छ । आफू निराशावादी भएकोले कम्युनिष्ट नरहेको घोषणा गर्दछ । दोस्रो संविधानसभाको मेलो पारेर डिभिजन कमाण्डर जीतवीर सिर्जनशील कृषि फर्ममा जान्छ । त्यहां ऊ आफ्नै सदस्यहरुको समाजवादी क्रान्तिको कार्यनीति, रणनीति, युवाहरुको विदेश पलायन, घाइते, अपांग र अयोग्यहरुको सास्तीका यक्षप्रश्नहरु सामु नीरिह बन्छ । पार्टी गर्दैछ र गर्नेछजस्तो अमूर्त प्रशिक्षणलाई शिवाले अस्वीकार गरिदिन्छे ।
शिवाको लामो समयपश्चात आफूलाई जनमुक्ति सेनामा भर्ति गर्ने कमरेड बलिदानसंग भेट हुन्छ । एक इमान्दार र साहासी कमाण्डसंगको भेटले सिर्जनशील कृषि फर्ममा उत्साह सञ्चारित हुन्छ । प्रतिक्रान्तिविरुद्ध क्रान्तिका लागि इमान्दारहरु क्रियाशील नहुनु भनेको प्रतिक्रान्तिकै सेवा हुने निस्कर्ष निस्कन्छ । स्काइपमा सोहनसंग भेट हुन्छ । सोहन दुई महिना पछि नेपाल आउने खबरले शिवा उत्तेजित हुन्छे र एकसाथ विवाह, सुहागरातको कल्पना मात्र होइन उसको फाइभस्टारमा कोठाको व्यवस्था गर्छे । शिवाको गोज्याङ्गे्र नेपाल आउंछ । दुईवर्षपश्चातको प्रेमिल भेट हर्षाश्रुले भरिन्छ । होटेल एभरेष्टमा राज्य, पुंजीवाद र बजारशास्त्रमाथि छलफल मात्र हुंदैन, यौनआनन्द पनि लिइन्छ ।
काठमाडौंबाट चरिकोटको यात्रामा निस्किन्छन् । चरिकोटमा सोहनले अनुरोध गरेको माओवादीले आफ्नो छोरोको हत्या पछि हराएका नाति र बुहारीको बारे बेखबर दिनहीन बुढावुढीको सेर्मा गाउंको झुपडीमा लैजान्छ । त्यहां एक बाहुनी आमा र दलितको कोखबाट जन्मिएको सोहनको उद्देश्य पुरा हुन्छ । सोहन अमेरिका फर्किन्छ र शिवा फर्ममा । सोहनसंगको यात्रालाई सहयात्रीहरुले रसिक कटाक्ष र व्यङ्ग्यको विषय मात्र बनाउंदैनन्, एकोहोरो प्रेम गर्ने समरसिंह पनि कहिल्यै नफर्किने गरी हराउंछ ।
सिर्जनशील कृषि फर्ममा धनवीर, विकल्प, आकाश आएका छन् । त्यहां विगुल, पासाङ, आस्था र शिवाहरु प्नि छन् । उनीहरुबीच क्रान्तिकारी भूमिसुधार, खस अहंकारवाद, जातीय पहिचान, जनपक्षीय संविधान, बलिदान र क्रान्तिसम्बन्धी छलफल हुन्छ । नेपालबाट अमेरिकामा रहेको सोहनलाई शिवाले लामो छटपछि पछि वास्तविक शिवा को हो ? र शिवा कसरी रमिला बनी ? ऊ शिवाकै रुपमा किन बांच्न चाहन्छे भन्ने पत्र र शिवाको साहसको महाकाव्य पहेलो घाम पार्सल गरेर खबर गर्छे । सोहन पत्र र उपन्यास पढेर ब्यूंझिन्छ ।
अन्तमा सोहन नेपाल आउंछ । रक्तरन्जित शिवाको गाउंमा सहिद घर निर्माण भएको छ । त्यसको उद्घाटनमा शिवा, सोहन जान्छन् । त्यहां कमरेड पासाङहरु मात्र छैनन्, हिजो सोझा तामाङ, दलितमाथि दमन गर्ने काजी पनि छ । उद्घाटनमा त्यो काजी नै मुख्य अतिथिको रुपमा देखिन्छ । सोहनले ‘सहिदको रगतले कट्कटिएको काजीको हातबाट सहिदघर उद्घाटन हुन नसक्ने ठहर मात्र गर्दैन, त्यहां सोहनको आमाले शिवा र सोहन सानो हुंदा त्यो घरमा कसरी रहेका थिए ? काजीको हातबाट सोहन मारिन कसरी जोगिएको थियो ? सोहनकी आमाले मागेकी बुहारी नै शिवा थिइ । सोहनले डकुमेन्ट्रिको निहुंमा भेटको वातावरण कसरी निर्माण ग¥यो ? योे पूर्वकथासँगै उपन्यास सकिन्छ ।
उपन्यासमा समकालीनता
पहेलो घाम उपन्यास क्रियात्मक वर्तमानको क्रियात्मक अभिव्यक्ति नै हो । क्रियात्मक समकालीनतामाथि लेख्नु जोखिमपूर्ण हुन्छ । उपन्यासले ओगटेको समकालीनताको पूर्ण आवृत्ति नै तयार छैन, त्यस्तो परिस्थितिमा उभिएका पात्रहरु र तिनको मनोदशामाथि लेखकले न्यायका लागि कठिनतम् साधना गरेका छन् । शिवाले भोगेको वर्तमान बाह्र बुंदे समझदारी हुंदै वृहत् शान्ति सम्झौताबाट जन्मिएको हो । युद्धको आंधीबेहरीबाट जन्मिएको जनमुक्ति सेना नेपाल अस्थायी क्याम्प केन्द्रित भएपछि अनमिनले शिवा र साथीहरुलाई अयोग्य सावित गरिदिन्छ र त्यही विन्दूबाट नै शिवाको औपन्यासिक चरित्रले आकार ग्रहण गर्दछ । युद्धमा मात्र होइन शान्तिमा पनि दुश्मनका अखडाहरुमाथि हमला गर्नु छ र उसले जीवनलाई ‘आगो छुन मन लाग्ने जाडोबाट गुजार्नु परेको छ ।
अञ्जनाहरुको जीवनमा अकस्मात कायापलट मात्र भएको छैन, घाइते पासाङहरुको आधा खुट्टा खाइदिने बम रातारात डिस्पोज गरिएको छ । विस्फोटक निराशाको गर्तमा जाकिए पनि पार्टी पार्टी पार्टीको अवशाद गाइरहेका छन् पासाङहरुले । चौरी चर्ने पाटनहरु पुनः उदास छन् र तिनले कुनै छापामारको परेड देखिरहेका छैनन् । अपितु रोदीघरमा जीवन जिउन बाध्यछन् युद्धका योद्धाहरु । राष्ट्र निर्माणको अभियानबाट आफूलाई अलगथलग पार्दै कोरिया भासिएका छन् युवा लिगका कार्यकर्ताहरु र तिनले युद्धमा गांसेको अन्तरजातीय पिरतीको रङ खुलिइएको छ । अयोग्यहरु योग्यताको लडाइंस्वरुप धर्ना बसिरहेछन् आफ्नै युद्धले सिर्जित पेरिस डांडाको अखडामा । ती घाइते, अपांग र अयोग्यहरुलाई गिज्याउंदै हुंइकिरहेछन् बोस कमरेडहरु । नवधनाढ्य कमरेडका विरुद्ध गरिव कमरेडहरुको नाराबाजी चलिरहेछ ।
एकातिर छन् आफ्नो इमान्दारिताले श्रीमतीको उपचार गर्न नसकेका कमरेड बलिदानहरु र अर्कोतिर रातारात चम्किएका छन् कमरेड जीतवीरहरु । बलिदान र जीतवीरहरुको बीचमा छन् नयां कर्ममा जुटिरहेका आस्था, पासाङ र शिवाहरु । जो पार्टीसंग एकोहोरा गुनासोको पोको पन्तरो बोकेर हिंड्दैनन्, जिउनका लागि श्रमको हतियार उठाउंछन् र माटोलाई सुनमा परिणत गरिदिन्छन् । उपन्यासले माटोलाई सुनमा बदल्ने कार्यनीतिलाई जोड दिएका शिवाहरुको जिन्दगीलाई साधारणीकरण गर्दछ ।
यो उपन्यासमा जे जति घटनाहरु घटेका छन्, जे जति पात्रहरुको चित्रण गरिएको छ, ति सबै समकालीन परिवेशबाटै गुज्रिएका छन् । बगिरहेको खोला, दन्किरहेको आगो र गर्जिरहेको बादलमाथि अनुमानहरु हुनसक्छ, कुनै मूर्त प्रतिमानहरु निर्माण गर्न सकिदैन । लेखकले बारुदको विरुदावली गाएकी शिवालाई मूर्तिकृत गरेका छन् ।
जीवनको काव्यिक प्रतिनिधित्व
उपन्यासमा युद्धबाट गुज्रिएका जीवनहरु छन् र ति मूलतः युद्धबाट निर्मित चेतना र सौन्दर्यलाई शान्तिकालमा अनुवाद र विकृत भइरहेका छन् । लेखकले शिवालाई सेनाको आतंकको गर्भबाट जन्माउंछन्, युद्धमा हुर्काउछन् र शान्तिमा सर्घषरत तुल्याउंछन् । नायिकामा कुनै कमि देखिदैन । ऊ ६ महिनामै सार्पसुटर छापामार बन्छे । एउटै कारवाहीले अन्तर्राष्ट्रियकरण हुन्छे । हिन्दी फिल्मका नायकहरुले एकसाथ सयौं उधुमहरु मच्चाउंछन्, त्यो प्रवृत्तिबाट नायिकालाई जादुगरी तुल्याउने कोशिस गरिएको छ ।
आफ्नो कमाण्डरले प्रेमको प्रस्ताव गर्दा नै हात भाँचिदिने, आफ्नो बोसले सेक्सको प्रस्ताव र जर्वजस्तीमा हात भांचिदिने नायिक विवाह विना नै सोहनसंग एभरेष्ट होटलमा सेक्स गरिदिन्छे । प्रेम, विवाह र सेक्सको क्रमिक एकनिष्ठता तोडिदिन्छे । यसले सेक्सको परम्परागत धारणाबाट गुज्रिएका माक्र्सवादीहरुका लागि एकप्रकारको गांठो पारिदिने छ ।
अर्कोतिर सोहन काजीको भान्जा हो । काजीहरुले उसको बाबुलाई आफ्नो बाहुन छोरी विहे गरेवापत हत्या गरिदिन्छन् । सोहनकी आमाले शिवाको बुवा रामबहादुर तामाङको घरमा नाबालक सोहनलाई छोडेर काठमाडौं आई अमेरिका हानिने मेलोमेसो मिलाउंछिन् । सोहनकी आमाले शिवालाई बुहारीको रुपमा मगनी पनि गर्दछिन् अपितु शिवाका बुवा, हजुरआमाको निर्ममतापूर्वक हत्या मात्र हुँदैन, नेपालमा डकुमेन्ट्रिका लागि आउनुपूर्व नै सोहनकी आमा र अमेरिकी बाबुको कार दुर्घटनामा हत्या हुन्छ । यसले सोहन र शिवाबीचको सम्बन्धलाई एकातिर परम्परागत सम्बन्धमा बदलिदिन्छभने अर्कोतिर तामाङ र दलितबीचको विभेदको कुनै गुन्जायसै शिवामा नहुनु शिवाको यौद्धिक चेतनाको उच्च प्रतिफल हो । उपन्यासको सुत्राधार लेखकको काल्पनिक रचनात्मकताको उपज हो, जुन यथार्थबाट टिपिएको पात्रबोध हुंदैन । तथापी उसको वर्गधरातल नायिकको वर्गसापेक्ष छ । त्यसले सोहन र शिवाको संकल्पलाई सत्यको निकट पुरयाउँछ ।
इतिहासको रचनामा शिवाजस्ता व्यक्तिहरुको भूमिका हुन्छ । त्यो व्यक्ति निरपेक्ष होइन, अन्ततः सामाजिक एवम् सामुहिक परिणामहरुको एकाई हो । उपन्यासमा व्यक्ति नायक हुन्छ, त्यो पतिनिधि सामुहिक चरित्रहरुको पतिनिधि अभिव्यक्ति हो । शिवा अयोग्यहरुको वीचको एउटा यस्तो प्रतिनिधि पात्र हो, जुन अयोग्यताको दागलाई चन्दमाले झै निलिदिने प्रयत्नमा गतिशील छे । शिवा भोगवाद, पलायनवाद र निराशावाद विरुद्ध उभिएकी छे । तसर्थ शिवाको आवेग, संवेग, वीरता, बलिदान, मुक्तिको आकांक्षा ऊ बांचेका सामाजिक जीवनकै प्रतिछाया हुन् ।
गतिशील वर्तमानका गतिशील जीवनहरुलाई पहेलो घामले प्रतिनिधित्व गरेको छ । आख्यानका लागि प्रतिनिधि घटना, प्रतिनिधि पात्र, प्रतिनिधि चरित्र आवश्यक हुन्छ । सिंगो मुक्तियुद्ध र जनयुद्धको इतिहासबाट हेर्ने हो भने अयोग्यताको कथा प्रतिनिधि कथाभने होइन । यो जनयुद्धलाई विर्सजन गर्ने प्रक्रियाको पेचिलो भाग चाहीँ हो ।
उपन्यासको सीमा
यो उपन्यासका पात्रहरुलाई सामाजिकीकरण, साधरणीकरणको प्रक्रियाबाट हेर्ने सामन्य जकर्को मात्र हो । एउटा लेखकले सय वर्ष पुरानो कथा मात्र होइन गतिशील समयको कथा भन्न सक्दछ । इतिहासको आवृत्ति तयार हुन्छ, जुन फ्रेममा लेखक दौडिन समकालीनभन्दा सहज हुन्छ । यद्यपि अनुभवको तीव्रता समकालीनतामै हुन्छ,, जुन लेखक स्वयमले पनि भोगिरहेको हुन्छ । पहेलो घामका लेखकले तामाङ नायिकाको नाक सर्लक्क परेको चित्रण गरेका छन् । त्यो नाक बाहुन, क्षेत्रीको जस्तो अनुभूति हुन्छ । सामन्य कार्यकर्तासँग युद्धकालीन विग्रेडियरले अंग्रेजी भट्याउंछ तर एउटा कुहिरेसंग रुट गाइडले नेपाली त्यो पनि ठेट स्थानीय भाषा प्रयोग गर्छ । यो चित्रणको अमिल्दो पक्ष हो । स्थानीय लवजको प्रयोग दोलखादेखि गोरखासम्म एउटै छ । डाडावरि र डाडापोरी त लवजको एकोन्वति हुंदैन यसरी पूर्व र पश्चिमको आञ्चलिकता एउटै हुन सक्दैन ।
शिवाको सपनामा सहिद, पूर्वप्रेमीहरु पटक पटक पिचास बनेर तर्साउन आउंछन् । पहिलो कुरा त सहिदलाई सपनामा नै किन नहोस्, पिचासको रुपमा चित्रण गर्नु भनेको भ्रष्टिकरण नै हो । सहिदको गौरवपूर्ण इतिहासलाई शिवाले सपनामा पनि पिचास देख्नु मनासिव हुंदैन किनकी ऊ स्वयम् युद्धको अग्निगर्भबाट आएकी छ । सपनाहरु सेक्स र कुमारी आमामा केन्द्रित छन्, जहां शिवाले भयानक युद्धका ताजा अनुभवहरु देख्न सक्थी । अर्कोतिर शिवा जो मुक्तियुद्धबाट निर्मित चरित्र हो, ऊ नेपाली सेना बन्ने र खुल्लामञ्चमा परेड खेल्ने सपना देख्छे । मुक्तियुद्धको व्यापक आयामबाट शिवा संकुचित पारिएकी छे ।
यो गतिशील सत्यमा आधारित उपन्यास हो । यो सत्यको अन्तः संरचना जनयुद्धको उर्जावान वेग रोकिए पछि सिर्जना हुन्छ । उत्पादन, उत्पादन र फेरि पनि उत्पादनमा रातदिन घोटिएका मजदुर र किसानहरुको जीवन फेर्न राजनीतिक क्रान्ति अनिवार्य छ । वर्गसंघर्षको मातहातमै उत्पादन संघर्ष चल्दछ । अन्तरविरोधलाई पक्रिने मामिलामा यो धु्रवसत्य पनि पहेलो घामझैं छड्के परेको छ । एउटा प्रश्न बांकी छ कि आफ्ना हजुर आमा र हजुरबुवासंग निकै लामो भेटमा खास प्रतिक्रिया नदिएको सोहन कामी झैं शिवाको सहिदघरको नयां संकल्प पारिवारिक मात्र हुनेछ कि सांच्चिकै युगीन । यसरी सारतः विचलनको थुम्कोमा पहेलो घाम झुल्किएको छ ।





























