प्याकेजमै सहमति जुटाउने बैकल्पिक प्रस्ताव

प्याकेजमै सहमति जुटाउने बैकल्पिक प्रस्ताव

nepal-parliament-protest BICCकाठमाडौं । आर्थिक विधेयक या अविश्वासको प्रस्तावमध्ये कुनलाई पहिलो सूचीमा राख्ने भन्ने विवादले व्यवस्थापिका संसद चल्न नसकिरहेकाबेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्याकेजमै सहमति जुटाउने गरी बैकल्पिक प्रस्ताव अघि सारेका छन् ।

कुन प्रस्तावलाई पहिलो कार्यसूचीमा राख्ने भन्ने विवाद नमिल्ने भएपछि मुठमेड निम्तिने सम्भावनाका कारण सहमति जुटाउने पहल भएको हो । तर प्रधानमन्त्री केपी ओलीले भने पौडेलले राखेको पछिल्लो सहमतिको प्रस्ताव पनि अस्वीकार गरेका छन् ।

पौडेलले प्रधानमन्त्रीको राजीनामा दिने र अन्य दलले अविश्वास प्रस्ताव फिर्ता लिने तथा बजेट आश्रित विधेयक पनि पास गर्ने प्रस्ताव गरेका छन् । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने र संविधान कार्यान्वयनका लागि पनि सबै दल मिलेर अघि बढ्ने प्रस्ताव गरेका छन् ।

कांग्रेसका तर्फबाट नेता पौडेलले राखेको प्रस्तावमा राजनीतिक सहमति भने हुन सकेन । माओवादीले सकारात्मक रुपमा लिएपनि सरकारको नेतृत्व लिएको एमालेले उक्त विकल्पलाई समेत स्वीकार्न नसकेको कांग्रेस नेता पौडेलले बताए । तर एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने पौडेलको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहेको बताए ।

एमालेले प्रधानमन्त्रीको निर्वाचन प्रकृयालाई संविधान संशोधन गर्नुपर्ने सर्त राखेका कारण सहमति हुन नसकेको कांग्रेस नेता पौडेलको भनाई छ ।