राप्ती अञ्चलमा पर्ने प्युठानको जिल्लाको बारेमा निकै नै किम्बदन्तिहरु पाइन्छन् । साथै केही ठोस प्रमाणहरु पनि रहेका छन् यो जिल्लाको नामाकरण र स्थापनाको बारेमा । प्युठान आफैमा एक पुरानो र निकै नै स्थापित जिल्ला वा ठाउं पनि हो ।
कर्नेल कर्कपेट्रिकका अनुसार पूरथानाबाट प्युठान रहन गएको भनेर पनि व्याख्या गरिएको छ । पुरथाना भनेको प्रार्थना गर्ने ठाउं हो । त्यस्तै गरी ह्यामिल्टनले पुजुथानबाट प्युठान बनेको उल्लेख गरेका छन् । ओल्डफिल्डले प्रार्थानाबाट प्युठान रहन गएको बताएका छन् । योगी नरहरि नाथले प्लुथानबाट प्युठान रहन गएको बताएका छन् ।
नेपालको एकीकरणपछि पृथ्वीनारायण शाहले गर्ने गरेको पत्राचारमा प्युठाना अथवा लेखाइमा हेर्दा ‘पिउठाना’ भनी संबोधन गरेको पाइन्छ । अहिले प्युठान र त्यहांका बासिन्दालाई प्युठानी भनेर सम्बोधन गरिदै आएको छ । सुरक्षासम्बन्धि पिउठ वा प्युठलाई त्यहां जिम्मा दिइएकाले पनि यसलाई पिउठ थाना भन्दै जांदा प्युठान रहन गएको सामान्य आंकलन गर्न सकिन्छ ।
प्युठानको सदरमुकाम खलङगा हो । खलङगा झिमरुक नदीको किनारामा अवस्थित रमाइलो फांट बिजुवारहुंदै जांदा माथिको डांडामा अवस्थित छ । पहिले पहिले सदरमुकामहरु सुरक्षाका दृष्टिले अग्ला डांडामा राखिन्थे । तर अबका सदरमुकाम र राजधानी सहरहरु समथल फांटमा राख्ने गरिएका छन् ।
प्युठानको सदरमुकाम विजुवारको फांटमा झार्न पनि निकै आन्दोलनहरु भएका र हुने गरेका छन् । अहिले त विजुवारका मानिसहरु खलङगाको उकालो चढ्न त्यति मन पनि पराउंदैनन् । त्यहांको प्रशासनले सेवा विभागहरु विजुवारमा राख्ने मनशाय व्यक्त गरेको पनि सुनिन आएको छ ।
एक पटकको कुरा हो, जनताले खलङ्गा सदरमुकाम तल बिजुवार फांटमा झार्न भनी सङ्घर्ष गर्दा ‘खलङ्गा अड्डा बिजुजार झार्नै पर्छ’ भनेर नारा लगाउंदा एक सहभागी पर्से ओलीले ‘मान्यापछि’ भन्दै जुलुशको पछिपछि हिंड्ने गरेका थिए रे । हुन पनि हो, अझैसम्म सरकारले यो अड्डा तल बिजुवारमा झार्न मानेको छैन ।