लिवाङ सङ्घर्षको पर्याय

लिवाङ रोल्पा जिल्लाको सदर मुकाम हो । यो जिल्ला  वि. सं. २०१८ सालको नयां भौगोलिक संरचना अनुसार बनेको हो । दाङ, सल्यान र प्युठानबाट केही भूभाग कटाएर यो जिल्ला निर्माण भएको हो । जिल्ला निर्माण हुनुपूर्व यसको अधिकांश भूभाग प्युठान जिल्लामा पर्दथ्यो ।

Libang, rolpa
हाल एक लिवाङ नगर पालिका र ४९ वटा गाउं विकास समिति रहेको यो जिल्ला निर्माण हुँदा जम्मा ३३ वटा गाउं पञ्चायतहरु मात्र थिए ।

लिवाङ यसको सदरमुकाम हो । लि र बाङ दुईवटा शब्द वा तीन वटा अक्षर मिलेर यसको नामाकरण भएको छ । ‘लि’ भनेको मगर खाम भाषामा बांस हो भने बाङ भनेको चौर वा सम्म परेको ठाउं हो । शाब्दिक अर्थ लगाउने हो भने लिबाङको अर्थ बांसैबांस भएको बांसेचौर हो ।

 
सदरमुकाम बनाउनका लागि विगतमा पनि रोल्पाका अन्य ठाउंहरुको अध्ययन भएको थियो । लिवाङदेखि केही किलोमिटर टाढा रहेको माडीचौर भन्ने ठाउंमा पनि खोजी गरिएको भनिन्छ । यो माडी नदीको किनारामा अवस्थित सुन्दर वस्ती पनि हो । यहांका स्थानीय यस बस्तीलाई ‘माण्डीबाङ’ भनेर सम्बोधन गर्दछन् । यहां जनजातिको बस्ती छ । भनिन्छ, पञ्चायत कालमा यो बस्तीलाई सदरमुकाम बनाउने प्रस्ताव आएपछि यति मलिलो र उर्वरभूमि घरैघर र सडकमा सकिन्छ भनेर स्थानीयहरुले मानेका थिएनन् रे । माडी किनारामा रहेको यो वस्ती जङ्कोट र कोटगाउं गरी दुई गाविस अन्तर्गत पर्छ ।
अन्तत लिवाङ नै सदरमुकाम बनेपछि अहिले त्यहां भौतिक पूर्वाधारदेखि सबै कुराहरुको राम्रो विकास भएको छ । अब सदरमुकाम कतै सार्ने संभावना पनि छैन । बरु यसको गुरुत्तर विकासको संभावना बढेर गएको छ । हाल यो लिवाङ नगरपालिका घोषणा भएको छ ।