कोल्चौरबाट हिंडियो

कोल्चौरबाट हिंडियो

मङ्सीर २५ गते बिहान कोल्चौरबाट उकालो लाग्यौं । साथमा भाइ कृष्ण कार्की छ । बिहानको ९ बजिसकेका छ । तर पनि हुस्सुले वरपरको डाँडाहरुलाई ढाकिरहेको छ । कसैले मन पराओस्–नपराओस् हुस्सु न ठहरियो, त्यत्तिकै गमक्क परेर आकाशलाई ढाकेर अँध्यारो बनाइरहेको छ ।
   त्यसै त जाडोको मौसम । त्यसमाथि घामको अनुहार देख्न नपाउँदा हुस्सुसंग रिस पनि उठिरहेको थियो । तर पनि प्रकृतिसंग कसले सक्ने ? फेरि पनि जोशिलो रगतको पारा अर्कै हुन्छ  “साला हुस्सु ” ठेट्नो रिसाउँदै थियो ।
घरबाट निक्लन गाह्रो मान्दै थियो ऊ ।

कृष्ण घिसिंङ

‘कति घरमा मात्रै सडेर बस्छस्, बाहिरी दुनियाँ पनि देख्नुपर्छ, बुझनुपर्छ ।’
अलिअलि कर, अलिअलि गाली । साथमा सम्झाइ बुझाइको मात्रा घोलेर उसलाई खुवाएको थिएँ ।
फेरि भन्यो “साला हुस्सु” 
मलाई हो कि साँच्चैको हुस्सुलाई  दोधारमैं थिएं । दुई किलोमिटर उकालो चढेपछि निगालपानी लामाटोल आयो । गुणराज लामा हाम्रो प्रतिक्षामा थिए । आपसमा दर्बिलो हात मिलायौं ।
रामेछाप, नेकपा–माओवादीको इलाका भेला चलिरहेको थियो । चुल्ठेपानी पुग्नुपर्ने यहीं दश बजिसक्यो । बाटो उस्तै छ । हिंड्दा हिंड्दै गोरेटो हराउने खालको । युगौंदेखिको यो अवस्थामा कुनै परिवर्तन आएको छैन । ठेट्नो, म र गुणराजजी गोरेटोलाई पहिल्याउँदै, पोथ्रापोथ्रीहरुलाई पन्छाउँदै भाल्डाँडाको बाटोहुँदै कुरन्थली पुग्यौं ।

   कृष्ण घिसिङको घर त्यहीं पर्छ । कृष्ण घिसिङ अर्थात् समाज परिवर्तनका लागि लडेका पुराना सामाजिक कार्यकर्ता । दश वर्षे जनयुद्धका दौरानमा पार्टीले दिएको जिम्मेवारीलाई इमान्दार एवम् निष्ठापूर्वक बहन गर्ने एउटा साहसिक नाम ।
युद्धकालमा जनविरोधी सत्ताले माओवादी पार्टी र यसका नेता कार्यकर्ताहरुमाथि आतङककारीको बिल्ला लगाउँदै ज्यानको माया हुने जत्तिलाई आत्मसमर्पणको लागि दरखास्त आव्हान गरेको थियो । विविध प्रकारका धम्की तथा चेतावनीहरु दिंदै आएको थियो ।
घरमा बस्नसक्ने अवस्था थिएन । जङ्गलतिर लुकेर बस्नुपर्ने बाध्यता सिर्जना भएको थियो । त्यत्तिबेला थुप्रै हस्ति भन्नेहरुले आत्मसमर्पण गरेका थिए । आफ्नो ज्यानको खातिर यसो गरे । यो भन्दा बढि जान्ने बनेर आत्मसमर्पणका लागि उनलाई सल्लाह पनि दिए उनीहरुले ।

पुलिसले उनको घरलाई थुप्रै पटक घेरा हाल्यो । छापा मार्यो । खानतलासी लियो । वरिपरिको वातावरणलाई आतङ्कित बनायो । तर उनलाई आस्थाको मृत्यु आफ्नो शरीर भन्दा बढि भयङ्कर लाग्यो ।
त्यसैले उनी आफ्नो आस्थाको लागि शरीरलाई बलिदान गर्न तयार भए । यद्यपि उनलाई भौतिक रुपमा कुनै आक्रमण भएन । कारण यो हुन सक्छ, शारीरिक रुपमा उनी अशक्त छन् । उनका दुवै गोडाहरु पोलियोले ग्रस्त भएका छन् । राम्रोसंग हिंड्नलाई पनि उनलाई समस्या हुन्छ ।

आफ्नो अपाङ्ग शरीरका बावजुद जब पार्टीको कुरा आउँछ, राष्ट्र र राष्ट्रियताको सवाल उठ्छ, उनीभित्र एक प्रकारको जोश उम्लेर आउँछ । भित्रैदेखि उमङ्ग जागेर आउंछ । ५०–५५ तिर हिंड्दै गरेका कृष्ण काकाका छोराहरु बाध्यताले देश प्रदेशतिर छन् ।

छोरी बुहारीहरुले पनि उनलाई कहिं जानबाट रोक्न सक्दैनन् । आज पनि उनलाई रोकेनन् । उनीहरुलाई थाह छ, काका आफ्नो बाटो कसैले रोक्दैमा रोकिंदैनन् । उनलाई आफ्नो घर परिवारभन्दा पनि सिङ्गो समाज, राष्ट्र अनि राष्ट्रियता नैं प्यारो छ । त्यसैले त उनी आज पनि हाम्रो अघिअघि लागिसकेका थिए, चुल्ठेपानी तिर ।
यत्रो त्याग तपस्या र सहादतबाट निर्माण भएको पार्टी टुक्रा हुँदा अवश्य पनि पीडा त थियो नैं । तर पनि यसो गर्नु समयको माग थियो । फोहोर मुहानबाट स्वच्छ पानी बहन सक्दैन । मुहान फोहोर भएर ढल जस्तै बगिरहेको थियो । त्यसैले हामीलाई अर्को मुहानको आवश्यकता थियो । यसलाई हामीले भेट्टाउनु थियो ।

धेरै समयको सङ्घर्ष, अन्तरसङ्घर्ष पश्चात् करीबकरीब हामीले नयाँ मुहानलाई भेट्टाएका थियौं । अब हाम्रो जिम्मेवारी यो अमूल्य निधिलाई कसरी फलाउने फुलाउने, जगेर्ना गर्ने, संरक्षण गर्ने, स्वच्छ दुरुस्त राखेर अबिरल नदी बहाउने भन्ने । हाम्रो चासो र चिन्ताको विषय यही थियो ।
   बाटो उस्तै भिर, उकालो ओरालो, हिंड्नुपर्ने अझै थुप्रै बाँकी थियो । तर पनि कृष्ण काका, एउटा खुल्ला किताव, साथमा हुनुहुन्थ्यो । जति पढ्यो उति ज्ञान प्राप्त गर्न सकिने । अनुभव साट्न सकिने । कतै दुःख वेदना । कतै पीडा । कतै खुशी आनन्द त कतै रोमाञ्चकता । यो हिंडाइ हामी युवाका लागि एउटा प्रशिक्षण कार्यक्रमको रुपमा साकार भएको अनुभव भयो ।  
जाली फटाहहरुसंगको पौंठेजोरी, आक्रमण, प्रतिआक्रमण, सुरक्षाफौजसंगको लुकामारी आदि जस्ता विगतका संस्मरणहरुले भोलिका लागि एउटा बहुउपयोगी शिक्षा ग्रहण गर्ने अवसर प्राप्त भयो । साथसाथै उनले आफ्नो पूर्व पार्टी एमाओवादीभित्रको विश्लेषण पनि राम्रोसंग गरे । उनका अनुसार सो पार्टीभित्र निम्न तत्वहरु छन्–
   १) कमाउ खाऊ मोज गर भनेर लागेकाहरु
   २) अरुको ऋण नतिर्न शक्ति प्राप्तिका खातिर लागेकाहरु
   ३) युवतीका खातिर लागेकाहरु
   ४) भिन्न राजनीतिक उद्देश्य बोकेर पार्टीलाई बदनाम गराउन लागेकाहरु
  ५) साच्चिकै नैं समाज परिवर्तन गर्न लागेकाहरु

   तर, हामी जस्ता पार्टीलाई माथि उठाउन दिलोज्यानले लागेका कार्यकर्तालाई पा“चौं नम्बरमा पुर्याइएको छ । पार्टीभित्र बोलवाला उनीहरुकै चलेको छ, जो हिजो  हामीलाई पुलिस सेना लगाइलगाई घर घेर्ने, धरपकड गर्नेहरु आज पार्टीका विश्वासपात्र बनेका छन् ।
त्यस कारणले पनि मलाई त्यो पार्टीप्रतिको मोह भङ्ग भएर गयो । उनी आफ्नो पुरानो पार्टीबाट टाढिनु पर्नाको कारण भन्दै थिए । दुःख गरेर हुर्काएको पार्टीको चिन्ता उनमा आज पनि पढ्न सकिन्थ्यो ।