जलजला रोल्पा जिल्लाको चिनारी हो । यो रोल्पाको उत्तरमा रहेको छ । जिल्लामा रहेका यो चौधवटा गाउं विकास समितिहरुको छानोको रुपमा रहेको छ । यसले थबाङ, जेल्बाङ, उवा, मिरुल, कुरेली, राङकोट, राङ्सी, भावाङ, जङ्कोट, ह्वामा, धाङ्सीधवाङ, गजुल, फगाम र जैमाकसलालाई घरको छानाले घपक्क ढाके झैं ढाकेको छ । प्राकृतिक सान्दैर्यताले भरिपूर्ण यो पहाडमा सौदर्यको विविधता पनि पाइन्छ ।

जलजला पहाडको उच्चस्थानमा पुगेर पनि त्यसको वरपर होचा र अग्ला लेकका चुच्चाहरु चढ्न निकै समय लाग्छ । त्यति अग्लो भएर पनि यसको बीच भागमा स्वच्छ पानीको मुहान छ । त्यहांबाट बग्ने पानी जेल्बाङको उर्वर भूमि भएर बग्दछ । त्यहां वरपर मूलबाट बग्ने नदीहरुको नामाकरण पनि गरिएको छ । लेककै दक्षिणबाट उत्तरतिर पानी बग्ने भएकाले त्यहां उत्तरगङ्गा नाम गरेको सानो नदी पनि छ ।

त्यहाँ रहेको भामा गुफा निकै प्रचलित छ । यस बारेको जनश्रुति अहिले पनि बूढाबाकाहरुको बीचमा निकै लोकप्रिय छ । भनिन्छ, पहिले पहिलेका मान्छेहरु त्यो बाटो भएर हिंड्दा गुफामा रहेका भामा बाबाले त्यहाँ बास बस्न दिने र खाना पनि खुवाउने गर्दथे ।

त्यहां रहेको घम्मिरेको लेक सबैभन्दा अग्लो लेक हो । त्यो पश्चिम दक्षिणतिर निकै ठाडो र भिरालो परेको छ भने पूर्वउत्तरतिर भने रमाइलो सम्म परेको सजिलो भूभाग रहेको छ । जलजलाको पूर्वमा निकै रमणीय विविधतायुक्त र रहस्य जस्ता लाग्ने ढुङ्गा, पखेरा र पहराहरु रहेका छन् । तर उत्तरतिर भने थवाङ र उवा गाउ विकास समितिहरुमा जाने बाटाहरु भएको सापेक्षिक सजिलो र केही भिरालो जमीन रहेको छ ।


जैविक विविधता भएको जलजलामा विविध वनस्पति तथा जङगली पशुहरु पाइन्छन् । यहां च्याखुरा, प्युरा, फक्रांस, डांफे, आदि जस्ता लोप हुंदै गरेका पङ्क्षीहरु पाइन्छन् । जलजलाको संरक्षणपछि कस्तुरी पनि फैलन थालेको छ । बंदेल त यहां बग्रेल्ती नै पाइन्छन् ।
सबैभन्दा राम्रो र मनमोहक भनेको यहांको पाखा र पखेरामा फुल्ने विभिन्न रङका लाली गुरांस नै हुन् ।  

प्रतिक्रिया

सम्बन्धित खवर