१. सङ्घीय गठबन्धनले सरकारसँग राखेका मागहरु केके हुन् ?
सङ्घीय गठबन्धनले आदिवासी जनजाति, मधेशी, थारु, मुश्लिम, सिल्पी (दलित), खस लगायतका उत्पीडित जाति समुदायका विभिन्न मागहरुलाई समायोजन र सश्लेण गरेर २६–बुदे माग सहितको ज्ञापनपत्र सरकारलाई बुझाएको छ । ज्ञापनपत्रमा जातीय पहिचानको आधारमा सङ्घीय प्रदेशहरुको निर्माण, स्वशासित तथा स्वायत्त प्रदेश संरक्षित तथा विषेश क्षेत्र, राज्यका सबै निकाय कर सबै तहहरुमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व, सरकारी कामकाजमा वहुभाषिक नीति, मातृभाषामा शिक्षा तथा सूचनाको हक, प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिहरुको अग्राधिकार, आत्मानिर्णयको अधिकार, अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि १६९ र आदिवासी जनजातिहरुको अधिकार सम्बन्धि राष्ट्र सङ्घीय घोषणापत्र लगायत नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय महासन्धि तथा प्रतिज्ञापत्र नेपाली जनतालाई प्रत्याभूत गराउनेगरी संविधानमा व्यवस्था गर्नुपर्ने जस्ता मागहरु रहेका छन् ।
साथै, बैवाहिक नागरिकतासम्बन्धी संवैधानिक व्यवस्था, मधेश तथा थरुहट आन्दोलनको बेला निर्दोष जनतामाथि गरिएका सरकारी दमन र अत्याचार छानबिनको लागि न्यायिक आयोगको गठन आन्दोलनका दौरानमा मारिएकाहरुलाई शहीद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेहरुको निशुःल्क उपचार, गिरफ्तार भएका आन्दोलनकारीहरुलाई विनासर्त रिहाई, राजनैतिक नेता तथा कार्यकर्तामाथि लगाईएको झुठा मुद्दाहरुको खारेजी र राज्यद्वारा सिर्जना गरिएको आतङ्क, हत्या, हिंसा, दमन, धरपकड र गिरफ्तारी जस्ता निन्दनीय कार्य तत्काल बन्द गरिनुपर्ने जस्ता मागहरु रहेका छन् ।
२. सरकारले यी मागहरुमा चासो नदेखाएको हो ?
सरकारले सङ्घीय गठबन्धनको आन्दोलनले उठाएका मुद्दा र मागहरुप्रति हालसम्म कुनै चासो देखाएको छैन र यसबाट सिर्जना हुनसक्ने जटिल परिस्थितिप्रति चिन्तित पनि देखिदैन । किनकि वर्तमान सरकार देश र जनता प्रति गैरजिम्मेवार छ ।
३. आधिकारिक खबर पठाएको छ सरकारले भन्ने प्रचार त निकै पो भएको छ त ।
बाहिरी हल्ला त्यस्तो छ । प्रधानमन्त्री के.पी. ओली स्वयम्ले पनि यसअघि आफ्नो सार्वजनिक भाषणमा सङ्घीय गठबन्धनलाई वार्तामा बोलाउँछु भनेका थिए । तर सरकारको तर्फबाट वार्ताको लागि पत्र आउँदा मधेशी मोर्चालाई मात्र पत्र पठाइयो । त्यसको जवाफमा सङ्घीय गठबन्धनका घटक सदस्य सङ्गठनका नेताहरुसँग छलफल गरेर मधेशी मोर्चाले वार्ताको लागि पूर्वशर्तको रुपमा ७–बुँदे प्रस्ताव सरकारलाई पठाएको पनि १ महिना बितिसक्यो तर त्यसप्रति सरकारले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन । त्यसैले सरकारले वार्ताको लागि गठबन्धनलाई पत्र पठाएको छ भन्ने प्रचार हल्लामात्र हो ।
४. सङ्घीय गठबन्धन नै एकढिक्का नहुनाले वार्तामा समस्या आएको छ भन्ने गरिएको छ, खास कुरा के हो ?
सङ्घीय गठबन्धन फरक फरक राजनीतिक विचार र आस्था बोकेका राजनैतिक दल र सामाजिक संस्थाहरुको संयुक्त मोर्चा भएकाले गठबन्धनमा कहिलेकाहीं गठबन्धनले उठाएका विभिन्न मुद्दा र माग तथा गठबन्धनको कार्यशैलीप्रति गठबन्धन भित्रै फरक धारणाहरु आउँछन् । त्यस्तो फरक विचार आउनु स्वभाविकै हो । तर गठबन्धन भित्रबाहिर बजारमा आएको हल्ला जस्तो फुट र विभाजन छैन । गठबन्धनले उठाएका साझा मुद्दा र मागप्रति गठबन्धनका घटकहरु सबै एक ढिक्का छन् ।
५. त्यसो भए सङ्घर्ष अझैं लम्बिन्छ ? कत्तिको समर्थन र सहानुसभूति पाउनु भएको छ ?
सङ्घीय गठबन्धनले उठाएका मुद्दाहरु सम्बोधन नभए सम्म र मागहरु पूरा नभए सम्म आन्दोलन रोकिदैन । र यो आन्दोलन निरन्तर रुपमा अगाडि बढ्छ । यो आन्दोलन न्याय पूर्ण छ र आन्दोलनले उठाएका मुद्दा र मागहरु जायज छन् । त्यसैले यो आन्दोलनप्रति विभन्न राजनीतिक दलहरुका नेता, नागरिक समाज, स्वतन्त्र बुद्धिजीवी, मानव अधिकारकर्मी, कानुनविद, विभिन्न पेशाकर्मी, सञ्चारकर्मी लगायत् आम न्याप्रेमी जनसमुदाय र अन्तर्राष्ट्रिय समुदाय समेतको सहयोग र सर्मथन रहेको छ ।
६. आजसम्म भएका सङ्घर्र्षका कार्यक्रमहरुको समीक्षा कसरी गर्नुहुन्छ ?
सङ्घीय गठबन्धनले सञ्चालन गर्दै आएको आज सम्मको आन्दोलनका सबै कार्यक्रमहरु सफलता पूर्वक सम्पन्न भएका छन् । काठमाडौं, ललितपुर, भक्तपुर, वीरगञ्ज र पोखरामा आयोजना गरिएका गठबन्धको पहिलोचरणको सडक आन्दोलन सफलतार्पूवक सम्पन्न भयो । सडक आन्दोलनमा हजारौं जनताहरुको सक्रिय सहभागिताले हामी आन्दोलनकर्मी उत्साहित भएका छौं । हाल काठमाडौंमा सञ्चालन भइरहेको दोस्रो चरणको ३९–दिने रिले अनसन आन्दोलन पनि आज ३५–औं दिनमा सफलतापूर्वक सञ्चालन हुँदै आइरहेको छ । आन्दोलनको प्राविधिक तथा व्यवस्थापकीय पक्षहरुमा धेरै कमीकमजोरीहरु महशुस गरिएको छ र ती कमीकमजोरीहरु धेरै हदसम्म सुधारिएका पनि छन् ।
७. सङ्घीय गठबन्धनका यी कार्यक्रमहरु राष्ट्रियता, जनतन्त्र तथा जनजीविकासँग जोडिएका छन् त ?
सङ्घीय गठबन्धनको आन्दोेलन जातिय–क्षेत्रीय आन्दोलन मात्र नभई राष्ट्रियता र राष्ट्रिय एकताको आन्दोलन पनि हो । यो आन्दोलनले तराई मधेश, हिमाल पहाडका सबै जाति समुदाय, वर्ग लिङ्ग र क्षेत्रका जनताहरुलाई गोलबन्द गरेको छ र उनीहरुबीच भावनात्मक एकताको विकास गरेको छ । यो आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि हो । यसले राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको मुद्दा र वर्गीय शोषण उत्पीडनको मुद्दालाई प्रखर रुपमा उठाउन नसकेता पनि ती मुद्दाहरु प्रति सङ्घीय गठबन्धनको दृष्टिकोण नकारात्मक छैन र हुनु पनि हुँदैन ।
जनतन्त्र र जनजीविकाका मुद्दाहरु भने सङ्घीय गठबन्धनको आन्दोलनले प्रखर रुपमा उठाएको छ । स्थानीय स्वशासन, समानुपातिक समावेशी प्रतिनिधित्व, स्रोत साधन र अधिकार सम्पन्न स्थानीय निकायहरुको गठन, गणतन्त्र, सङ्घीयताजस्ता मागहरु जनतन्त्रसँग सम्बन्धिी छन् भने भष्टाचार, कमिसनखोर र कालोबजारको नियन्त्रण, दैनिक उपभोग्य बस्तुहरुको सहज र सरल रुपमा आपूर्ति, भुकम्पपीडितहरुको पूनर्बास, राहत वितरण तथा भत्किएका संरचनाहरुको पूनर्निर्माण, वेरोजगारी युवाहरुलाई रोजगारको व्यवस्था, गरिब तथा विपन्न वर्ग, अनाथ बालबालिका, बृद्धबृद्धा र अपाङ्गता भएकाहरुको लागि सामाजिक न्याय र सुरक्षा नीति तथा उनीहरुको बाँच्न पाउने अकिारको सुनिश्चितता आदि मागहरु जनजीविकासँग सम्बन्धित छन् ।
८. पहिचानको अभिव्यक्ति सङ्घीय राज्यसत्तामा कसरी भयो भने सङ्घीय गठबन्धनको माग सम्बोधन हुन्छ ?
सङ्घीय गठबन्धनको आन्दोलन सारमा पहिचानको आन्दोलन हो । कम्तिमा पनि अहिलेको राज्य सरकारले हाल जारी भएको नेपालको नयाँ संविधानले व्यवस्था गरेको नामाङ्कन र सिमाङ्कन विनाको ७–प्रदेश खारेज गरी पहिलो संविधानसभाको राज्य पुनःसंरचना तथा र राज्यशक्तिको बाँडफाँड समिति र राज्य पुनः संरचना सुझाव आयोगले पहिचान र सामाथ्र्यको आधारमा सङ्घीय प्रदेशहरुको व्यवस्था गर्नुपर्दछ । त्यसो गरेमा गठबन्धनको आन्दोलनले उठाएका महत्वपूर्ण मागहरुमध्ये एउटा माग पूरा हुनेछ ।
९.सङ्घीय गठबन्धनको आन्दोलनलाई स्वतन्त्र पहलमा अघि बढाउनुपर्छ भन्ने जनगुनासो पनि छ । त्यो सम्भव छ ?
सङ्घीय गठबन्धनको आन्दोलन स्वतन्त्र रुपममा नै अगाडि बढिरहेको छ । तर स्वतन्त्रको अर्थ कसैसँग सहकार्य नगर्ने भन्ने होइन । यदि आन्दोलनलाई कुनै पनि राष्ट्रिय अथवा अन्तराष्ट्रिय न्यायप्रेमी जनसमुदायहरुले सहयोग र सर्मथन गर्दछ भने त्यसलाई स्वागत नै गर्नु पर्दछ ।
१०. हाल चलिरहेको दोस्रो चरणको कार्यक्रमको समापन कसरी गर्दै हुनुहुन्छ ?
अहिले चलिरहेको सङ्घीय गठबन्धनको रिले अनसन आन्दोलन आषाढ ३१ गते समापन गर्दैछौं । उक्त समापन कार्यक्रम पहिचानयुक्त विविध सांस्कृतिक कार्यक्रमसहित वृहत्त जनसहभागिताबीच हुँदैछ । उक्त समापन कार्यक्रममा सङ्घीय गठबन्धनसँग आवद्ध विभिन्न घटक सङ्गठनका शीर्षस्थ नेताहरु लगायत् मानव अधिकारवादी नेता, नागरिक समाजका अगुवाहरु आदिले सम्बोधन गर्ने छन् । उक्त समापनको दिन नै आन्दोलनको तेस्रोचरणको कार्यक्रम पनि घोषणा गरिने छ र सो कार्यक्रम विभिन्न सञ्चार माध्यममार्फत् आम नागरिकमा पु¥याइने छ ।
११. अन्त्यमा, सोध्न छुटेका केही कुरा … ?
अन्तमा सङ्घीय गठबन्धनको आन्दोलनको विषयमा आफ्नो विचार राख्न अवसर दिनुहुने र यो आन्दोलनको समाचारलाई आम नागरिकमाझ पु¥याइदिने मूलबाटो अनलाइनलाई धन्यवाद दिन चाहन्छु । साथै, यो आन्दोलनलाई पत्यक्ष वा परोक्षरुपमा सहयोग पु¥याउनुहुने सबैलाई धन्यवाद दिँदै आन्दोलनले सफलता प्राप्त नगरेसम्म आन्दोलनलाई निरन्तर रुपमा सहयोग पु¥याउनको लागि देश विदेशमा रहने न्यायप्रेमी जनसमुदायहरुमा हार्दिक अपिल गर्दछु ।