जाडो मौसम । त्यो पनि माघ महिनाको । निकै ठिहिराउने । तराइको बिहानीपख । म थिए मकवानपुर जिल्लामा । बाक्लो हुस्सु । चिसो शीत । त्यसमा पनि चिसापानी, मकवानपुरे हटिया बजारको ।
म क्षणभरमा माथिको चूरे डाँडामा पुगेर उभिए । मलाई सूचनाको जिम्मा दिइएको थियो । सधैें तल्लिन रहन्थे आफ्नो काममा । आफ्नो कर्तव्य । त्यसमा पनि अझ युद्ध काल ।
मोबाइल अन गरे । जनमुक्ति सेना फापरबारीमा जम्मा हुँदै थियो । रहररहर लाग्ने र डरडरलाग्ने ती दिनहरु । मोबाइलको घण्टी बज्यो । फोन रिसिभ गरे । रविन्द्रको फोन आएको रहेछ सीमापार भारतबाट । फोन उठाउने बित्तिकै थाह भयो । संयोग पनि कस्तो ? ठीक त्यसैबेला एक स्थानीय पत्रिकामा रबिन्द्रकै बारेमा लेखिएको समाचार पढ्दै पनि थिए । लेखिएको थियो– ‘रविन्द्रले पार्टी छाडेर छुट्टै सङ्गठन खोलेका छन्’ ।
फोन उठाएपछि मैले पनि पत्रिकामा लेखिएका कुरा वाचन गर्दै रबन्द्रिलाई सुनाए । मैले सँगसँगै थपे– ‘दाइ, तपाई बिग्रनु भयो । तपाईमा बिचलन आयो । विचारमा चित्त नबुझे पार्टी भित्रै लडनु पर्ने हो । तपाईविरुद्ध अब म पनि लड्छु र पार्टी पनि लड्छ’ ।
म पार्टी कमजोर नहोओस्, फुट नआओस् र सबै साथीहरु एकजुट नै भइरहौं भन्ने कुरालाई जोड दिन र बेलाबखतमा हुने र गर्ने गरिएका कमजोरीलाई सच्याऔं भन्ने चाहन्थे । यो कुरा बाहेक मलाई अरु कुनै कुराको ख्यालै थिएन ।
मैले कुरा गर्दैगर्दा मेरो पछाडि उभिएर शालिकराम जमरकट्टेलले चियो गरिरहेका रहेछन् । मैले कुरा सिध्याउनै लाग्दा पो जमरकट्टेललाई देखे । म लुकेर फोन गर्न थालेको पनि होइन । सहजै ठाने । उनलाई पनि ‘रविन्द्र दाइसँग कुरा गर्नुहुन्छ’ भनी सोधे । उनले नगर्ने भनी जवाफ दिए । त्यसपछि म शेल्टरतिर लागे ।
… … … … … … …
भोलिपल्ट आन्तरिक सेटबाट खबर आयो । कमाण्ड इञ्चार्ज अनन्तले फापरबारी (मकवानपुरको एक गाविस) मा आउनु भनी खबर गर्नु भएछ । ‘तपाई तुरन्त यहाँ आउनुहोस्’ सेटमा हतार र हतासको आवाज सुनियो । मेरो शेल्टरबाट त्यहाँ पुग्न पौनै तीन घण्टा जति समय लाग्दथ्यो । म तुरन्त नै पुगे त्यहाँ । कमाण्ड इञ्चार्ज अनन्तको एउटा मात्र प्रश्न थियो– ‘रविन्द्र भाग्यो, तपाई रविन्द्रसँग लामो समय बसेर सँगसँगै काम गरेको मान्छे, के छ तपाईको विचार ?
मैले सिधा बोले– ‘बाबुराम बिग्रिए, उनलाई पार्टीले कारबाही गर्यो, पार्टी पनि उनका विरुद्ध लडयो म पनि लडे । आलोक बिग्रियो, पार्टी पनि उनका विरुद्ध लडयो म पनि लडे, रबिन्द्र बिग्रियो, पार्टी पनि उसका विरुद्ध लड्छ र म पनि लड्छु’ । मेरो जवाफ सिद्धियो ।
त्यसपछि उनले ‘ल ठीक छ, तपाईको जहाँ जे जिम्मेवारी छ, त्यही काम गर्नुस्’ भनेर फिर्ता पठाए । म अघि बढे । केही क्षणको हिँडाइ पछि अलि अघि नपुग्दै फेरि सेटमा लगातार घण्टी बज्यो । ‘मकवानपुरका जिल्ला इञ्चार्ज कुशलले भेट्न श्रीपुर बोलाउनु भएको छ, आउनु पर्यो’ भन्ने खबर आयो । समस्या पनि थियो त्यतिबेला । सिधासिधा खबर गर्न पाइँदैनथ्यो । सूचना बेसमार्फत खबर आउँथ्यो ।
म हतार हतार गर्दै श्रीपुर पुगे । कुशलको प्रश्न पनि अनन्तकै प्रश्नको फोटोकपी थियो । म अवाक भए । जवाफ पनि अनन्तलाई जे दिएको थिए, त्यही दिए । उनले पनि ‘पाएको जिम्मेवारी पूरा गर’ भन्ने आदेश फर्मान गरे ।
अचम्म नै लाग्छ, आज ती तर्साउने हस्तीहरु पुरानै राज्यसत्ताको जुठोपूरो खान र्याल काढेर पुछारमै भए पनि लाइन कुरेका छन् । इतिहासको पनि कस्तो मजाक ?!