बागलुङ । नेकपा क्रान्तिकारी माओवादी छाडेर नेकपा (माओवादी केन्द्र) का गएका नेता रामबहादुर थापा ‘बादल’ले सत्तामा जान हतारो गरेका छन् । क्रान्तिकारी माओवादीबाट प्रचण्ड माओवादीमा जानुअघि नै बादलले प्रचण्डसँग सत्ता बार्गेनिङ गरेको आरोप लागिरहेका बेला बादलले माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका छन् ।
शनिवार बाग्लुङमा भएको पत्रकार भेटघाटमा उनले माओवादी नेतृत्वमा सरकार बन्ने बताए । राष्ट्रिय सरकार गठनका लागि आफ्नो पार्टीका अध्यक्ष प्रचण्डले पहल गरिरहेको भन्दै प्रचण्डको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने बताए ।
संविधानसभा नै बहिष्कार गरी संविधान अस्वीकार गरेका बादलले अहिले भने संविधानको कार्यान्वयन, पुनःनिर्माण र शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउन थालेका छन् । राष्ट्रिय सहमति नबन्ने अवस्थामा आफ्नो पार्टी सरकारमा रहिरहनुको औचित्य नहुने पनि उनले बताए ।
नेकपा (एमाले)सँग भएको नौबुँदे सहमतिको कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उनले जसको नेतृत्वमा सहमति बन्छ, उसैको नेतृत्वमा सरकार बन्नुपर्ने बताए । काँग्रेस सहितको सहभागितामा बन्ने सहमतिको संयुक्त सरकारले आन्दोलनरत दलका माग संबोधन, संविधान संशोधन, संविधानको कार्यान्वयन, पुनःनिर्माण जस्ता कार्यलाई अघि बढाउने विश्वास उनले विश्वास ब्यक्त गरे ।