काठमाडौँ । नयाँ शक्ति नेपालले केन्द्रीय कार्यकारी समितिको राजनीतिक समिति संयोजकमा पार्टीका संयोजक डा बाबुराम भट्टराई तथा सह–संयोजकमा रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोवलाई चयन गरेको छ ।
सो पार्टीको असार १० देखि १४ गतेसम्म बसेको केन्द्रीय सचिवालयको बैठकले ३० विभाग र सात प्रदेशको संयोजकसमेत चयन गरेको छ । बैठकले राष्ट्रिय भेलाबाट गठित कार्यदलले परिमार्जनसहित पेस गरेको विधान प्रतिवेदन पारित गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता खिमलाल देवकोटाले जनाएका छन् ।
वैठकले गरेको कार्यविभाजन अनुसार राजनीतिक समितिको संयोजकको जिम्मा पार्टी अध्यक्ष भट्टराईलाई नै दिइएको छ । राजनीतिक समितिको सह–संयोजकमा रामचन्द्र झा र महेश कोर्मोचालाई चयन गरिएको छ ।
यस्तै, राष्ट्रिय मामिला संयन्त्रको संयोजकको जिम्मेवारी परशुराम तामाङले पाएका छन् भने अनुशासन आयोगमा परशुराम खापुङ, राजनीतिक संवाद समितिमा मुमाराम खनाल, संगठन विभागमा देवेन्द्र पौडेल रहेका छन् भने संसदीय मामिला विभागको जिम्मेवारी केशव दाहाललाई दिइएको छ ।
यस्तै, नयाँ शक्तिमा निकै चर्चामा आएकी चलचित्र अभिनेत्री करिष्मा मानन्धरलाई भने साँस्कृतिक विभागको संयोजक तोकिएको छ । वैठकले बामदेव क्षेत्रीलाई सचिवालय व्यवस्थापन तथा अनुगमन विभागको संयोजक तथा सबिना अर्याललाई सह–संयोजकको जिम्मेवारी तोकेको छ ।
यसैगरी प्रशिक्षण विभागमा डम्बर खतिवडा, नीति अध्ययन तथा अनुसन्धान विभागमा डा. केशवमान शाक्य, आर्थिक व्यवस्थापन तथा सुशासन विभागमा रामेश्वर खनाल, अन्तर्राष्ट्रिय विभागमा हिसिला यमी तथा सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभागको संयोजक खिमलाल देवकोटालाई बनाइएको छ । देवकोटालाई पार्टीको प्रवक्ताको समेत जिम्मेवारी तोकिएको छ ।
पूर्व स्वास्थ्य सचिव डा. प्रवीण मिश्रलाई स्वास्थ्य तथा योग साधना विभागको संयोजक बनाइएको छ भने पूर्व सचिव हरिराम कोइरालालाई जलस्रोत, उर्जा तथा भौतिक पूर्वाधार विभागको संयोजक तोकिएको छ ।
यस्तै, पूर्व मन्त्री कल्पना धमलालाई महिला विभागको जिम्मेवारी दिइएको छ भने देवेन्द्र पराजुलीलाई युवा विभागको संयोजक बनाइएको छ ।
बैठकले प्रत्यक्ष निर्वाचन प्रणालीको अवलम्बन गर्दै अध्यक्षसहित सम्पूर्ण पदाधिकारी एवम् कार्यसमिति सदस्य सम्पूर्ण सदस्यबाट प्रत्यक्ष निर्वाचित हुने, एक व्यक्ति एक कार्यकारी पद र दुई कार्यकाल, चुनिएका प्रतिनिधिले जिम्मेवारी पूरा नगरेमा निर्वाचित प्रतिनिधिलाई प्रत्याह्वानको अधिकार प्रयोग गरी फिर्ता बोलाउने व्यवस्था गरेको छ ।
सो पार्टीले पारित अन्तरिम विधानअनुरुप अन्तरिम केन्द्रीय परिषद्को सचिवालयलाई केन्द्रीय कार्यकारी समितिमा रुपान्तरण गरिएको जनाउँदै समितिको सङ्ख्या ९९ नबढ्ने गरी महिला र दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक सदस्य थपिएको जनाएको छ ।
बैठकले तत्कालीन कार्ययोजनाका रुपमा असार १५ देखि असोज १५ गतेसम्मका लागि तीनमहिने कार्ययोजना पारित गरेको छ ।