द्वन्द्वग्रस्त चार मुलुकमा नेपालीलाई प्रतिबन्ध

kabulकाठमाडौं । सरकारले चार द्वन्द्वग्रस्त चार मुलुकमा नेपाली कामदार पठाउन प्रतिबन्ध लगाएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अफगानिस्तान, लिबिया, सिरिया र इराक जान प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

गत सोमबार अफगानिस्तानको राजधानी काबुलमा १३ नेपालीको ज्यान जाने गरी तालिवान विद्रोहीको आक्रमणपछि नेपाल सरकारले द्वन्द्वग्रस्त मुलुकमा नेपाली कामदार पठाउन प्रतिबन्ध लगाउने निर्णय गरेको हो । ती मुलुकहरुमा राम्रो तलब पाइने भन्दै जोखिम मोलेर नेपालीहरु कामदारका रुपमा जाने गरेका थिए । श्रम स्वीकृति समेत दिँइदै आएका द्वन्द्वग्रस्त मुलुकमा अब श्रम स्वीकृति पनि रोक लगाइने भएको छ ।

मन्त्रिपरिषद्ले उक्त घटनामा परि ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख रुपैया सहयोग गर्ने पनि निर्णय गरेको छ । घाइतेको उपचार पनि सरकारले गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।

काबुल आक्रमणमा ज्यान गुमाएकाको शव सरकारले नेपाल वायुसेवा निगमको विशेष विमानबाट विहीबार स्वदेश ल्याइएको थियो । सरकारले अफगाननिस्तानमा रहेका नेपालीहरु स्वदेश फर्किन चाहे त्यसका लागि सहयोग गर्ने निर्णय पनि गरेको छ ।