cp-gajurelटुटफुट र विचलनको यात्राबाट गुज्रिएको माओवादी आन्दोलनभित्र फेरि अर्को फुट पैदा भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) को एउटा हिस्सा रामबहादुर थापा बादलको नेतृत्वमा बाहिरिएपछि क्रान्तिकारी माओवादी यतिबेला आफ्नो गन्तव्यमा पुग्ने नयाँ मार्गचित्र बनाउन लागेको छ । सोही अनुसार क्रान्तिकारी माओवादी राष्ट्रिय भेलामा जुटेको छ । यसै सन्दर्भमा हामीले क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’ सँग गरिएको कुराकानीको सारसंक्षेप : 

१. क्रान्तिकारी माओवादी पार्टी दोस्रो पटक विभाजित हुन पुग्यो । यसबेला बादलसहितको एउटा तप्का गएर एमाओवादीमा विलय हुन पुगेको छ, यसको समीक्षा कसरी गर्नुभएको छ ?

 हो हाम्रो पार्टी नेकपा(क्रान्तिकारी माओवादी) का विरुद्ध निकै ठूलो हावाहुरी चलाइएको थियो । यसको मुख्य उद्देश्य थियो–विचार, सिद्धान्त, कार्यदिशा सबै हिसावले विद्यमान् नेपालका सबै पश्चगामी शक्ति र सत्ताका विरुद्ध निरन्तर कार्यरत नेकपा(क्रान्तिकारी माओवादी) लाई ‘पार्टी एकता’ को नाममा नव संशोधनवादमा लगेर विलिन गराउने ।

देशी, विदेशी प्रतिकृयावादी र अवसरवादीहरुको यो प्रयास लामो समयदेखि चल्दै आएको थियो । उनीहरुले हाम्रो पार्टीमा भएका क्रान्तिबाट थाकेका, कठिनाई र समस्याबाट आजित भएका, व्यक्तिगत लाभको खोजी गर्दै हिँड्न थालेका, क्रान्तिकारी सिद्धान्त र राजनीति प्रति विश्वास गुमाउँदै गएका, निरासाबाट ग्रस्त व्यक्तिहरुलाई यसका निमित्त हतियारका रुपमा प्रयोग गरे । केन्द्रमा उल्लेखनीय संख्यालाई लपेटि सकेपछि उनीहरुले अचानक यो हावाहुरी सिर्जना गरे र धेरैलाई ढाल्न सफल भए । एकैसाथ साम, दान, दण्ड, भेद सबै प्रयोग गरेर सिर्जना गरिएको यो हावाहुरीमा पात पतिंगर प्रायः सबै उडे ।

जो विशेष धातु र ढलौटबाट बनेका थिए, तिनलाई यसले हल्लाउन सकेन । स्तालिनले महान लेनिनको श्रद्धाञ्जली सभामा भनेका थिए, ”हामी कम्युनिष्टहरु विशेष धातुबाट तयार भएका हौं” । यो कुरा यस पटकको यो हावाहुरीका विरुद्धको संघर्षमा चरितार्थ भएको थियो । विचार, सिद्धान्त, राजनीति, कार्यदिशा, संगठन–सबै हिसावले नेकपा(क्रान्तिकारी माओवादी)का क्रान्तिकारी नेता र कार्यकर्ताको पंक्ती दृढरुपमा उभियो । नेकपा(क्रान्तिकारी माओवादी)लाई नव संशोधनवादी आहालमा लगेर डुबाउने तिनीहरुको मिशन असफल भयो ।पार्टीको राम्रो सँग सुद्धिकरण भयो ।

२. एमाओवादीसँग अलग भएको छोटो समयमै एकताको कुरा त चलेकै थियो । तर किन हुन सकेन एकता ?

 सिद्धान्ततः सर्वहारावर्गको एउटै राजनीतिक पार्टी हुनु पर्दछ, सर्वहारावर्ग विभाजित हुनु हुँदैन । त्यसकारण, हामी सिद्धान्ततः विचार, राजनीति, आचरणमा समानता भएका कम्युनिष्ट पार्टीका वीचमा एकता कै पक्षमा हुन्छौं । हामीले यसै प्रकारको एकताको कुरा गरेका थियौं । केही अवसरवादीले नव संशोधनवादी एकीकृत माओवादीको नेतृत्व सँग साँठगाँठ गरेर त्यो पार्टी सँग एकता गर्नु पर्छ भनेर भित्र भित्रै वातावरण बनाउन र खुलारुपमा कार्यक्रमहरु पनि संचालन गर्न थाले ।

तर पार्टी ’सिद्धान्तनिष्ट एकता’को पक्षमा र नव संशोधनवादीहरु सँगको एकताका विरुद्धमा उभियो । तैपनि तिनीहरुले आफ्नो अभियान जारी राखे । पार्टीका तर्फबाट नव संशोधनवादी एकीकृत माओवादी यदि एकता गर्न चाहन्छ भने उसले पार्टी एकताकालागि निश्चित मापदण्ड पुरा गर्नु पर्दछ भन्दै पार्टी एकताकालागि विभिन्न समयमा ६बूँदे, ७ बूँदे, प्रस्ताव प्रस्तुत गर्दै आयौं ।

अन्तमा अध्यक्ष क. किरणले प्रस्तुत गर्नु भएको ११ बूँदे प्रस्तावका विरुद्ध नव संशोधनवादीका पुच्छरहरुले कथित १४ बुँदे र एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड सँग मिलेर पहिले १२ बुँदे अनि १३ बुँदे प्रस्तावमा सहमति जनाए । आज निर्लज्जतापूर्वका तिनीहरु भनिरहेका छन् कि प्रचण्डले ११ बूँदे प्रस्ताव नै मानिसकेका थिए, जुन कुरा झुठा हो ।

प्रचण्ड सँग उनीहरुले गुप्तरुपमा हस्ताक्षर गरेको १३ बुँदे प्रस्तावलाई हामीले अस्वीकार गरे पछि तिनीहरु त्यसै प्रस्तावको पुच्छर समातेर, पार्टीलाई फुटाएर नव संशोधनवाद सँग आत्म समर्पण गर्न पुगे । यस प्रकार, ”एकता”को नाममा तिनीहरुले पार्टीलाई फुटाउने काम गरे ।

३. जीवनभर अन्तरसंघर्ष र वर्गसंघर्षमा होमिनु भएको लामो अनुभव छ यहाँसँग । पछिल्लो अन्तरसंघर्र्ष तुलनात्मक रुपमा कस्तो रह्यो ?
 मैले पार्टी जीवनमा धेरै पटक अन्तर संघर्ष, एकता र फूटको अनुभूति गरेको छु । पहिलेका अन्तर्संघर्ष प्रायः पार्टी भित्रका आन्तरिक शक्तिहरु मात्र कृयाशिल हुने गर्दथे । तर यस पटकको अन्तर संघर्षको संचालन नै बाह्य शक्तिहरुको साँठगाँठबाट भयो र एउटा ठूलो डिजाइन अन्तर्गत भयो । त्यसैले यो अन्तरसंघर्ष मित्रतापूर्ण ढंगले अगि बढेन । यो प्रायोजित प्रकारको हुन पुग्यो र त्यसको परिणति पार्टी फूटमा गएर भयो ।

४. माओवादी केन्द्रमा मिसिन गएकाहरुले त तपाईहरुले जनयुद्ध नै छाड्नु भो भन्छन् नि ? उनीहरुले जनयुद्ध गर्छन् होला जस्तो लाग्छ तपाईलाई ? 

 क्रान्तिबाट थाकेका, नीजि फाइदा खोज्दै त्यहाँ मिसिन पुगेका हाम्रा पूर्व साथीहरु त्यहाँ क्रान्ति गर्न वा जन युद्ध गर्नकालागि गएका हुँदै होइनन् । नयाँ जनवादी क्रान्ति नै छाडिसकेका, संसदीय व्यवस्थामा आत्मसमर्पण गरिसकेका, पश्चगामी संविधानलाई लागु गर्न कसम खाएर हिँडिसकेकाहरुले यदि जनयुद्धको कुरा गर्छन् भने त्यो हजारीलालहरुले गरेको अर्को हँसी मजाक सिवाय अरु केही हुने छैन । जहाँ सम्म हामीले जनयुद्ध छाडेको भन्ने आरोप छ, त्यो गलत हो । मुख्यतः हामीले नयाँ जनवादी क्रान्ति छाडेका छैनौं र त्यसलाई प्राप्त गर्नकालागि त्यसै अनुसारको सामरिक कार्यदिशाको विकास गर्नु पर्दछ भनेका छौं ।

५. संविधानसभा–२ को बहिष्कार गरेका बादलहरुलाई किन त्यसरी हुर्रिएर एमाओवादीतिर हामफाल्नु पर्ने अवस्था कसरी आयो ?

 पहिलो कुरा त बादलजी नेकपा–माओवादीको पुनर्गठन भैसकेपछि पछिल्लो चरणमा आएको कुरा सबैलाई थाहा छ । अहिले उनकै नेतृत्वमा जसरी पार्टीलाई फुटाएर प्रचण्डजीकै पार्टीमा विलय गराउने काम भयो, त्यसबाट यस विषयमा धेरै अनुमान लगाउने काम भैरहेका छन् ।

बादलजी यसरी नव संशोधनवादी समूहमा हाम फाल्नुको मुख्य कारण चाहिँ उनमा आएको वैचारिक र राजनीतिक विचलन नै हो । उनले चैत्र ०७२ मा बसेको के स को बैठकमा प्रस्तुत गरेको भिन्न मतमा नयाँ जनवादीलाई परित्याग गरेर ख्रुश्चेवको ’राष्ट्रिय जनवाद वा राष्ट्रिय प्रजातन्त्र’ र ’वैज्ञानिक समाजवाद’को सट्टा प्रतिकृयावादी चरित्रको ”राष्ट्रिय समाजवाद” र नव संशोधनवादी एकीकृत माओवादी सँग बिना शर्त एकता वा आत्म समर्पणको नीतिले नै स्पष्ट पार्दछ ।

बादलजीले प्रचण्ड सँगको आत्म समर्पणमा ह्याट्रिक नै गरेको(अर्थात् तेस्रो बाजी मारेको) भन्ने जुन चर्चा छ, त्यो पनि ध्यान दिन योग्य नै विषय हो । नेकपा(माके) सरकारी पार्टी बनेको, सरकारको नेतृत्व हत्याउने कसरतमा लागेको हुनाले त्यसमा पाइने अवसरको खोजीकालागि यो हतार गरिएको हुन सक्ने धेरैले अड्कलवाजी गरेका छन् । के स, पोलिट ब्यूरो, स्थायी समिति र केन्द्रीय कार्यालयमा परीक्षा नै दिनु नपर्ने किसिमको भर्ती खुलेको र त्यो दलको प्रचलित नाम नै अहिले ’हजारीलाल’ राखिएको कुरा त सर्व विदितै छ । 

६. नवसंशोधनवादीको पहिचान जनताले बुझ्ने गरी भनिदिनोस् न त । नवसंशोधनवादको पुच्छरको पहिचान पनि ?

 नव संशोधनवादको पूर्ण व्याख्या त निकै लामो हुन्छ । तर जनताले बुझ्ने भाषामा छोटोमा भन्दा––नव संशाोधनवाद भनेको माक्र्सवाद–लेनिनवाद–माओवादलाई मानेको बहाना गर्ने र यसको भ्रष्टिकरण गर्ने, जन युद्धका उपलव्धिलाई व्यक्तिगत फाइदाका निमित्त सौदावाजी गर्ने र त्यसको ब्याज खाइरहने कुचेष्टा गर्ने, प्रतिकृयावाद सँग लड्ने गफ हाँक्दै तिनीहरुको सेवा गर्ने प्रवृत्ती हो ।

नव संशोधनवादको पुच्छर भनेको क्रान्तिकारी पार्टीमा बसेर नव संशोधनवादको निर्देशनमा क्रान्तिकारी पार्टीलाई समाप्त पारेर नव संशोधनवादी बनाउन कसरत गर्नु र अन्तमा टाउको र ढाडमा गाँसिएर नव संशोधनवादी बन्नु हो । पुच्छर प्रवृत्ती लामो समय सम्म टिक्न सक्दैन, त्यो क्षणिक हुन्छ । त्यो माउ प्रवृत्तीमा गएर समाहित हुन्छ ।

७. राष्ट्रिय भेलामा जुट्नु भएको छ । यो भेला पहिलेका भेलाहरु भन्दा कुन मानेमा फरक रहला ? 
 हाम्रो पार्टीको योजना राष्ट्रिय सम्मेलन सम्पन्न गरी पार्टीको विचार र कार्यदिशालाई माथि उठाई नयाँ जनवादी क्रान्तिको तयारीलाई तिब्ररुपमा अगि बढाउने थियो । तर, नव संशोधनवादीहरुले पार्टी फुटाए पछि यसको अनिवार्य आवश्यकता हुन गयो । यो भेला पार्टी भित्रको नव संशोधनवादी विजातीय प्रवृत्तीका विरुद्धको भीषण दुईलाइन संघर्षको विजयको द्योतक हुने छ । यो भेलाले पार्टीलाई नयाँ जनवादी क्रान्तिको तयारीको दिशामा अगि बढ्ने आधारशिला तयार गर्ने छ । यो भेला आगामी राष्ट्रिय सम्मेलनको तयारीको भेला पनि हुनेछ ।

८. क्रान्तिकारी माओवादी अब संघर्षको तयारीमा अघि बढिसक्यो भनेर सन्देश जनताका माझ जान्छ त अब ? 
 हो हामीले यही सन्देश दिनु पर्दछ ।

९. खाली सडकको संघर्षलाई कसरी उठाउँदै हुनुहुन्छ ?
 नयाँ जनवादी आन्दोलनका आधारभूत विषयहरु–राष्ट्रियता, जनतन्त्र र जन जीविकाका समस्या पहिले भन्दा पनि जटिल अवस्थामा पुगेका छन् । नेपाली समाजमा यी समस्याले उत्पन्न गरेका अन्तर्विरोधको समाधान नयाँ क्रान्तिले मात्र गर्न सक्दछ । निश्चित रुपमा ती विषयलाई लिएर लामो समय देखि सडक आन्दोलन भै राखेको छैन । खाली सडकलाई यिनै विषयलाई लिएर तताउनु पर्दछ । यसको ठोस योजना त केन्द्रीय समितिको बैठकले नै बनाउने छ ।

१०. नेता–कार्यकर्तालाई तपाईंहरुको पार्टी र आन्दोलनमा टिकाउने र परिचालन गर्ने आर्थिक तथा व्यवस्थापन नीति चाहिं कस्तो हुन्छ ? 
 आर्थिक व्यवस्थापनको विषय यतिखेर निकै गम्भीर छ । यो समस्या पैदा हुनुको मुख्य कारण, नेपाली क्रान्ति माथिे नव संशोधनवादी नेतृत्वबाट गरिएको विश्वासघात समेतबाट भएको क्रान्तिको पराजय नै हो । जे भए पनि व्यवस्थापनको समस्या हल नगरिकन अगि बढ्न सकिन्न । यसका निमित्त मुख्य नीति त जनताका वीचमा जाने र जनता सँगै बाँच्ने कुरा हो । यसका साथै पार्टीको एउटा हिस्सा आर्थिक उत्पादनमा पार्टीको योजनामा जोडिने कुरा पनि महत्वपूर्ण छ । पार्टी सदस्यबाट संकलन गरिने लेबी, चन्दा आदिलाई नियमित बनाउने कामलाई पनि प्राथमिकतामा राख्नु पर्दछ । हाम्रो पार्टीले यी सबै विषयहरुमा ध्यान दिने छ ।

११. त्यसो भए तपाईंहरुमा विश्वास छ, अविश्वास र निराशा अब विश्वास र उत्साहमा बदलिन्छ ?

 हामीमा आत्म विश्वास छ । आत्म विश्वास र आशा नहुनेहरुले त पलायनको बाटो समाति सके । हामी जो छौं क्रान्तिकारी आशावाद लिनेहरु नै छौं । हामीले आमरुपमा भएको अविश्वास र निराशालाई आशा र विश्वासमा बदल्नु पर्दछ ।

१२. व्यस्तताका बीच हाम्रो अनलाइनलाई समय दिनुभयो, हामी हार्दिक आभार व्यक्त गर्दछौं । अन्तमा छुटेका केही विषय …… ? 
 क्रान्तिकारी विचारको, क्रान्तिकारी नीतिको सम्वाहक विद्युतीय संचार माध्यमको हाम्रो समाजमा लामो समय देखि खड्किरहेको विषय हो । मूलबाटोले यो आवश्यकताको पूरा गर्न सकोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

धन्यवाद !

प्रतिक्रिया

सम्बन्धित खवर