नेपालमाथि भारतीय हस्तक्षेप अंग्रेजी औपनिवेशिक शासन त्यहाँ स्थापित भएपछि प्रत्यक्ष रुप्मा हुन लागेको हो । नेपाल सधै स्वतन्त्र थियो तर स्वतन्त्रताको पूर्ण उपयोग कहिल्यै गर्न सकेन । पहिले शाहवंशद्वारा निरंकुशसत्ता धेरै समयसम्म अगाडि बढाइयो, पछि त्यस्तै वंशले देशको शासनमा हक जमायो, त्यो वंश थियो राणा । यसले १०४ वर्ष सम्म अति निरंकुश तानाशाही विधि प्रयोग ग¥यो । जनता देशमा चारैतिर जंगली अवस्थामा थिए, त्यो अन्धकारमा प्रकाश कतै थिएन । जे थियो शाह, राणा वंशका अति निकटका नातेदार र राज्यका आवश्यक पर्ने अंगहरुमा सीमित थियो । बाहिर जान पाउँदैनथ्यो । बाँकी जनताले तिनैको सेवा मात्र गर्दथे । छिमेकी देश भारतको अवस्था पनि नाजुक थियो । स्वदेशी भुरे टाकुरे राज्यको शोषण, दमन मात्र थिएन, औपनिवेशिक शासनले जरा गाडिसकेको थियो । डेढसय वर्षभन्दा बढी निरन्तर संघर्ष गरेर भारतीय जनताले मुक्ति स्तन्त्रता पाए, रुसले सर्वहारा वर्गको क्रान्ति सफल ग¥यो, चीनले पनि मुक्ति संग्राम हात पा¥यो । यी सबै अन्तर्राष्ट्रिय माहोलको छाप नेपालमा पनि गहिरो गरी प¥यो । फलस्वरुप १०४ वर्षसम्म मनपरी शासन गरेको एउटा जहानिया सत्ता फालियो । २००७ सालमा जनताले केही हदसम्म स्वतन्त्रता हासिल गरे । पुँजीवादी लोकतन्त्रको विउ रोपियो । नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद प्राप्त गर्ने ध्येयले कम्युनिस्ट पार्टी नेपालको पनि एक वर्ष पहिले जन्म भैसकेको थियो । सुस्तसुस्त हुकिंदै थियो ।
स्वतन्त्र पुँजीवादी लोकतान्त्रिक गणतन्त्र भारतले नेपालप्रतिको नीतिमा परिवर्तन ल्याउने आशा राखिएको थियो । तर त्यस्तो उसलाई मन परेन । पुरानै औपनिवेशिक नीति नै प्यारो लाग्यो । त्याग्न सकेन । रुप रंगमा केही फरक पारेर, उसका भू.पू. मालिकहरुले उपभोग गरेको नीति जारी राखेको छ । सहयोग, मैत्रीपूर्ण व्यवहार गरेको देखाउँछ । बोलीबचनमा सारै नरम भएर पेश हुन्छ । तर राजनीतिक, आर्थिक, सांस्कृतिक रुपको अनुहार बदलिएको स्वतन्त्र अस्तित्व भएकोमा अति कुशल ढंगले रोक लगाउँछ । नेपालको परराष्ट्र नीति अलिकति आफू अनुकूल घुम्न नसके आवश्यक अस्त्र प्रयोग गर्न हिचकिचाउँदैन । आफ्नो देशको वस्तु निर्यात गर्न, नेपाललाई एकलौटी बजार बनाउन दलाल पुँजीपति वर्गको फौज निर्धारण गर्न सधै सक्रिय छ । यहाँको नोकरशाही पुँजीपतिवर्गसँग गहिरो साइनो छँदैछ । राष्ट्रिय पुँजीपतिवर्ग स्वतन्त्र रुपले उठ्न पाउँदैन । नेपाल निर्मित वस्तुले खुला बजार पाउँदैनन् । खाद्य पदार्थ मध्ये धेरैमा देश आत्मनिर्भर छ । तर सत्ताको निस्क्रियताले बजारको अभाव हुँदा कृषक उत्पादनमा निस्क्रिय छन् । जग्गा बाँझै छन् । खानेवस्तु बाहिरबाट भित्र्याउनुपर्छ । रोजगार विहीनहरु भारतसमेत विदेशका कुनाकाप्चामा तँछाडमछाड गर्दै कुदिरहेका छन् । यसमा पनि भारतीय दबाब पहिलो दर्जामा पर्दछ । नेपालको संस्कृतिमा भारतको प्रभाव जस्तै शिक्षा संस्थाहरु साहित्यिक फाँटहरु , संगीत, कलामा नमेटिनसक्नु छाप छ । राजनीति हिसावमा दृष्टि दिंदा दार्जलिङ पहिले नै भारतको अंग भैसकेको थियो । सिक्किम स्वतन्त्र थियो । त्यो पनि भारतले नै कब्जा ग¥यो । भुटानको पृथक अस्तित्व नक्सामा मात्र छ, अरु भारतले नै हेर्छ । नेपाललाई त्यसै दर्जामा राख्ने चेष्टा पूर्णरुपले सफल हुन सकेको छैन । किनकि नेपालको जनचेतना धेरै माथि छ । आठदशकको इतिहास हेर्दा, पुँजीवादी गणतन्त्र र जनगणतन्त्रको निम्ति ठूला ठूला संघर्ष भए अन्यथा यसको दशा के हुन्थ्यो भन्न सकिंदैन । शाही सत्ताले लुटेको यो देश पुँजीवादी गणतन्त्रवादीले पनि कंगालै बनाए ।
अमेरिकी हस्तक्षेप आक्रमण धेरै लामो समयदेखि व्याप्त छ । इतिहासमा समय समयमा भएका घटनाहरु साक्षी छन्, कल्पना हैन, अहिले हिन्द प्रशान्त क्षेत्रमा केन्द्रित छन् । चीनको कम्युनिस्ट पार्टी र त्यसमा महान नेता माओ–त्सेतुङले तीनदशकसम्म कठोर संघर्ष गरेर साम्राज्यवाद र घरेलु प्रतिक्रियावादयुक्त गरेको देश छिटै नै आर्थिक विकासको चरमचुलीमा पुग्यो । जनताको राज्यको यस ठूलो अभियानले अमेरिकी साम्राज्यवाद र त्यसको गठबन्धनलाई असह्य पीडा भएको छ । त्यसैले यो कदम उसलाई चाल्न परेको हो । दुई ठूला विशाल शक्तिशाली देश भारत र चीन बीच अवस्थित यो सानो देश नेपाल हो । भारतको शक्तिमा दिन प्रतिदिन वृद्धि हुँदा चीन र भारतमा सजिलरी हस्तक्षेप गर्न नसक्ने देखेर नेपालमा घुस्न रुचि बढाएको हो ।
नेपालमा बलियो स्टेशन बनाउन आतुर भएको हो ।यहीबाट दुवै देशलाई नियन्त्रण गर्ने उसको इरादा हो । भारतले पनि आफू सुरक्षित भएको नठाने हुन्छ । उसको लागि शिक्षा यही हो । यद्यपि चीनको नेतृत्वमा अमेरिकी साम्राज्यवाद विरोधी शक्ति दिनप्रतिदिन अगाडि आउँदैछ । उसको एकाधिकारवादी शक्ति दिगो हुँदैछ । डलर साम्राज्यलाई विस्थापित गर्न विकस अन्तर्गतका देशहरु (ब्राजिल, रुस, भारत, चाइना र दक्षिण अमेरिका, अफ्रिका) कम्मर कसेका छन्। तर पनि विनाशकारी साम्राज्यवादी अमेरिका बलियो छ । नेपालमा पनि यो हस्तक्षेप चानचुने उद्देश्यले गरिएको छैन, यो पूरै योजनाका साथ देशहरुलाई नियन्त्रणमा राख्ने राजनीति अन्तर्गत पर्छ । हरेक देशभक्त, राष्ट्रवादी वामपन्थी, साम्राज्यवादी विरोधी नेपाली जनता सदा सतर्क हुनै पर्छ । अन्यथा देशको अस्तित्व संकटमा पर्ने भय रहिरहने छ । अमेरिकी हस्तक्षेप स्वरुप नेपालमा एमसिसि कार्यक्रम संसदद्वारा पारित गराएको, एसपिपिलाई वैधानिकता दिन आतुर रहेको । भाद्र २३–२४ गतेको घटना र तत्कालिन संविधान अन्तर्गत रहेर सुशीला कार्कीको सरकार नियुक्ति गराएको र त्यसैले गठबन्धनको सरकार बर्खात गरी ०८४ को निर्वाचन ०८२ मा गराउँछौं । संसद विगठन पश्चात्् घोषणा गराएको अमेरिकी योजनालाई नेपालको मात्र मामिला सम्झिनु भयंकर भूल हुनेछ । अमेरिकी साम्राज्यवाद सबैको लागि मित्रवत व्यवहार गर्दैन । दुईचार दिनका घटना हेर्दा इरान र मध्यपूर्वमा जे भैराखेको छ त्यसले देखाउँछ । विश्व जनमतले कतै तेस्रो महायुद्ध भोग्नु पर्ने त हैन । यसलाई रोक्न सक्ने शक्ति अमेरिकी साम्राज्यवाद विरोधी राष्ट्र र जनतामा मात्र छ ।
२००७ सालमा तत्कालिन निरंकुश सामन्ती वंशीय राजतन्त्र (श्री३) विरुद्ध राजनीतिक क्रान्ति भयो । नीजि सत्ता फालियो । पुँजीवादी लोकतन्त्रको विउ रोपियो तर लोकतन्त्र अगाडि बढ्न सकेन । एक दशक भित्र अर्को त्यही चरित्रको वंश (श्री ५) ले निमोठिदियो । ०६५ सालसम्म दवेको दवै भयो । त्यसपछि बढ्ने मौका पाएको थियो , गणतन्त्र मात्र हात पा¥यो । व्यवस्था जस्ताको तस्तै । संसदीय व्यवस्था स्थापित भयो, त्यस व्यवस्थाले अरु केही गरेन वरु मरिसकेको राजतन्त्रलाई व्यूँताइदियो । यसमा नायक कांग्रेस, कम्युनिस्टले त्यसैसँग हात मिलाए। त्यसैले साम्राज्यवादी विस्तारवादीको विरोध गर्ने अहिले कोही छैन ।
२००७ सालको राजनैतिक क्रान्तिपछि एकहत्तर, बहत्तर वर्षपछि नयाँ पार्टी जन्मेका छन् । अमेरिकी तथा अन्य सुसम्पन्न देशमा नागरिकता पाइसकेका, सोझा नेपाली समाजमा घुसी फाइदा लिन जानेकाहरु प्रशस्त छन् । कमाएकाहरु अझ बढी धन कमाउने स्वर्णीम थलो नेपाल नै हुन सक्छ भन्ने ठानेर नेपालमा छिरि प्रशस्त धन दौलत आर्जन गरिसकेकाले राजनीति गर्ने पनि राम्रो थलो यसैलाई माने पहिलो पटकमा नै अमरिकी नागरिक नेपाली गृहमन्त्री पड्काए । ती हुन रविलामिछाने । रास्वपा पार्टी खोलेर बसेका छन् । अर्का व्यक्ति हुन वीवीसी जस्तो सामाजिक संजालमा नाम कमाएका नेपालमा आएर आफ्नो पेशा छोडी राजनीतितिर लागेर र भूपू राजाको पार्टी राप्रपामा ठूलै पद पाएर गदगद थिए । जो फागुन २१ गतेको निर्वाचनमा पराजित भएपछि राजीनामा दिएका छन् । धनको मुहानमा बसेको समझेका छन् । यी सबै रवि रविन्द्रले नेपालमाथिको हस्तक्षेप, नेपालका राष्ट्रिय मुद्दाहरुमा एक शब्द चुं गरेर बोल्दैनन् ।
अर्काथरी मधेशवादी दलहरु पनि छन् । यिनलाई नेपालको राष्ट्रियता सम्बन्धमा कुनै मतलव हुँदैन । यिनी मध्ये पनि कोही पार्टी र जनता फरक चरित्रबाट छन् । राष्ट्र, राष्ट्रियताप्रति यिनीहरुको झुकाव हुन्छ। शक्ति र भक्तिमा यिनी फरक छन्। बाह्य हस्तक्षेको विरोधमा सक्रिय हुन्छन् ।































