संसदीय निर्वाचन सशक्त रुपले बहिष्कार गर्छौ : जनजाति महासंघ

संसदीय निर्वाचन सशक्त रुपले बहिष्कार गर्छौ : जनजाति महासंघ

वर्गीय मुक्तिविना जातीय मुक्ति सम्भव हुदैन: श्रेष्ठ

नवलपरासी १९ माघ : अखिल नेपाल आदिवासी जनजाति महासंघले आगामी प्रतिनिधिसभा निर्वाचनको सशक्त बहिष्कार गर्ने भएको छ । महासंघका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठले आगामी संसदीय निर्वाचनले आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित नगर्ने बताउदै निर्वाचन साम्राज्यवादको प्रायोजनमा भएको उल्लेख गरे । सोमबार बर्दघाटको दिब्यनगरमा भएको जिल्ला महासंघको प्रशिक्षणमा श्रेष्ठले वर्गीय मुक्तिविना जातीय मुक्ति सम्भव नहुने बताए । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका युवा नेता समेत रहेका बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेयले संसदीय ब्यवस्थाको रक्षक पुराना दल दलाल भ्रष्ट मात्र नभई राज्यको सम्पति दोहन गर्ने लुटेरामा परिणत भएको औल्याए । उनले नयाँको नाममा साम्राज्यवादले ल्याएको नयाँ भनिएका दल चोर रहेको बताउदै स्वाधीन संयुक्त सरकारबाट मात्र देशले निकास पाउने बताए । सो अवसरमा महासंघ अन्तरगतका मगर मोर्चा केन्द्रीय सदस्य एवं जिल्ला संयोजक गोबिन्द साठीघरे, नेवा: मोर्चाबाट संयोजक चन्द्रमान मानन्धर, थारु मोर्चाबाट संयोजक मेखनारायण चौधरी, मुक्तमाया महतो,क्रान्तिकारी युवा संघ नेपालका जिल्ला संयोजक रामप्रसाद अर्गेजालगायतले धारणा राखेका थिए । महासंघको यही माघ २५,२६ र २७ गते रास्ट्रिय भेला बुटवलमा हुने बताइएको छ । प्रशिक्षण भेला थारु मोर्चाको महासचिव समेत रहेका महासंघ जिल्ला संयोजक दुर्गा नारायण चौधरीको अध्यक्षतामा भएको थियो ।