के सर्वहारा वर्ग विश्वमा कतै क्रान्ति गर्न सक्दैन ?

के सर्वहारा वर्ग विश्वमा कतै क्रान्ति गर्न सक्दैन ?

समाज वर्गमा विभाजित छ । त्यसैले संघर्ष द्वन्द्व छ माक्र्सले यो कुरा प्रकाशमा ल्याए । अध्ययनको क्रममा उनले फ्रान्सलाई देखे । फ्रान्समा वर्ग संघर्ष नामक कृति लेखे, वर्ग संघर्षको विकास हुँदा सर्वहारा वर्गले सर्वप्रथम पुँजीपति वर्गको हातमा रहेको सत्ता त्यसले आफ्नो हातमा लिन सफल भएको हो, जुन माक्र्सवाद निर्माण गर्नमा एउटा अंग मानिन्छ । १८७१ को पेरिस कम्युन सर्वहारा वर्गको क्रान्ति थियो । समाजवादको पहिलो पाइलो थियो । माक्र्सले यसमा धेरै कमी कमजोरी देखेका थिए । यस्तो कदमको चेतावती समेत दिएका थिए, तर पेरिस सर्वहारा क्रान्तिमा हाम फालेर उनले स्वागतसम्म गरेर आफ्नो पछिको प्रतिक्रियामा भने मुख्य सवाल कार्यमा अग्रसर हुनु पनि त हो । पछि माक्र्सवादी सिद्धान्त श्रृजना गर्दा ठूलो अनुभव प्राप्त भएको धेरै पटक भनेका छन् । माक्र्स, एंगेल्सको मृत्यु पछि यस क्रान्तिको निम्ति कार्यभार लेनिनको काँधमा आयो । उनले पनि बाँकी सैद्धान्तिक व्यवहारिक कार्य अति कुशलतापूर्वक अगाडि बढाए । त्यसबेला रुसमा अति निरंकुश तानाशाही रुसी सम्राटको शासन थियो । अन्य युरोपेली मुलुकहरुमा भएका तानाशाह भन्दा रुसी सम्राट जसलाई जार भनिन्छ खपिसक्नु थियो । रुसी जनता माथिको शोषण, दमन, पीडाले गर्दा तिनले विकल्प खोजिरहेका थिए । अर्को तिर लेनिनले आफ्नो पार्टीको दोस्रो ममहाधिवेशन जुन १९०३ मा भएको थियो । सबै संशोधनवादी दक्षिणपन्थी किटाणुहरुलाई परास्त गरी सम्पन्न गरेका थिए । उनी पनि त्यो सत्ता फाल्न उत्सुक थिए । त्यसैले समस्त सत्ता विरोधीहरुलाई गोलबन्द गरी १९०५ मा सशस्त्र संघर्ष थालनी गरे । यसले १९०९ सम्म निरन्तरता पायो । तर देशी विदेशी प्रतिक्रियावादी गठबन्धन (यूरोप,अमेरिका)ले गर्दा रुसी क्रान्तिले हार खानु प¥यो । त्यसबेला विश्वमा जटिल परिस्थिति उत्पन्न भएको थियो । साम्राज्यवादीहरुको आपसी अन्तरविरोधका कारण भित्रभित्र विश्वयुद्धको वातावरण तयार हुँदै थियो, फलस्वरुप १९१४ मा युद्ध थालनी पनि भैहाल्यो । १९१८ सम्म टिक्यो । यसमा २ गुट युद्धमा संलग्न भए एकातिर जर्मन गुट, अर्कोतिर अमेरिका, बेलायत गुट, जापान, अमेरिका, बेलायत पक्षधर थियो । यसैलाई नै प्रथम विश्वयुद्ध भनिन्छ । यस्तो बेलामा पनि रुसी क्रान्ति कुनै न कुनै रुपमा जारी रह्यो । निरन्तरता र सुदृढतामा कमि रहेन किनकि नेतृत्वसम्म अडिएर बस्यो । त्यसैले १९१७ को फेब्रुअरी महिनामा संयुक्त संघर्षले रुसी सम्राट जारलाई गद्दीबाट उता¥यो ।
तर त्यो जार विरोधी संघर्ष विभिन्न तत्वले बनेको मिश्रित थियो । त्यसमा धेरै जसो जार विरोधी मात्र थिए । पुँजीवादी प्रविधिमा मेनसेविक, प्लेखानोभ, मार्तोप जस्तो थिए । तिनीहरु फेब्रअरी क्रान्तिलाई नै पूर्ण उपलब्धि मान्थे । त्यही अडिनु उनीहरुको उद्देश्य थियो । लेनिन उनको कम्युनिस्टको लक्ष्य अगाडि जानु समाजवादमा पुग्नु थियो । रुसी कम्युनिस्ट पार्टीले पनि भित्रभित्र पूर्ण तयारी ग¥यो र मेन्सेविक बाहुल्यता रहेको सत्ता पल्टयाईदियो । सर्वहारावर्गले पूर्णरुपले सत्ता आफ्नो हातमा लिन सक्यो । यसैलाई ऐतिहासिक अक्टोबर क्रान्ति १९१७ भनिन्छ, नयाँ युगको थालनी पनि यहीदेखि भएको हो । त्यसपछि मात्र लेनिन स्वदेश फर्केका हुन् उनले सम्पूर्ण क्रान्तिको निर्देशन बाहिरैबाट गरेका थिए ।
रुसी सर्वहारा वर्गको क्रान्ति नष्ट गर्न त्यसको अस्तित्व समाप्त पनि स्वदेशी विदेशीले ठूलो शक्ति, बल शस्त्र धन लगाएकै हुन किनभने यो क्रान्ति पुँजीवाद साम्राज्यवाद विरोधी थियो–तिनको प्रतिकूल थियो । क्रान्ति, परिवर्तन राजनीतिले मात्र पूरा गर्न सक्दैन । यो त एउटा आधारभूत आर्थिक क्रान्तिको जसले राजनीतिलाई घुमाईरहेको हुन्छ । रुसको क्रान्तिले आधारभूत वर्गको हित, रक्षा गर्न सक्यो । अन्य देशमा भएका घटेका सत्ता उथलपुथल परिवर्तनलाई पनि क्रान्ति भन्नै पर्छ । जस्तो २००७ साल नेपालमा पनि क्रान्ति भयो–तर त्यसले एउटा सामन्ती शोषण राजतन्त्र श्री ३ लाई मात्र कमजोर गराउन सक्यो । अर्को सामन्ती राजतन्त्र श्री ५ लाई त्यति ठूलो धक्का दिन सकेन । पुँजीवादको विउ मात्र रोप्यो । त्यसकारण जनताले केही प्रजातान्त्रिक हक पाए पनि आर्थिक, सांस्कृतिक अधिकार शून्य बराबर भयो । त्यसैको हितमा श्री ३ र श्री ५ ले बेलाबेलामा टाउको उठाउने गर्ने कारण यही मात्र हो । अरु होइन । पुँजीवादमा प्रवेश गरेमा पुँजीवादी पार्टी र समाजवादमा जान भनी हिंडेका तर पुँजीवाद छोडन नसकेका कम्युनिस्ट पार्टीले न पुँजीवाद विकास गर्न सकेका छन् छोड्न । तिनलाई निल्नु न ओकल्नु भएको छ । अर्कोतिर भारतमा पनि क्रान्ति भयो । औपनिवेशिक दासताबाट देश मुक्त भयो । त्यो समन्वयात्मक क्रान्ति थियो । वर्गीय क्रान्ति थिएन । बरु राष्ट्रिय क्रान्ति थियो । त्यसैले आधारभूत वर्गको समस्या त्यहाँ हल भएन पुँजीपति वर्गको हित रक्षा मात्र भयो, भएको छ ।
नयाँ जनवाद हुँदै समाजवादमा पुग्ने अथवा सिधै समाजवादमा जाने कल्पना गर्नु तत्काल अहिलेलाई सम्भव देखिंदैन । सर्वहारावर्गको भयंकर संघर्ष मात्र विकल्प छ । त्यहाँ कम्युनिस्ट पार्टी छन्, विभाजित छन्, संसदवादी माध्यमबाट समाजवादमा पुग्न सकिने भनेर बसेका छन् । क्रान्तिकारी पार्टी पनि छ, तर रक्षात्मक अवस्थामा मात्र संसदवादी धार जसले पुँजीवादतिर लैजान्छ ।
रुसी क्रान्तिपछि चीनमा कम्युनिस्ट पार्टीको जन्म भयो । त्यसले १९२४ देखि १९४९ सम्म जुनबेला देशी, विदेशी शक्तिबाट चीन चिनियाँ जनता पूर्ण रुपले मुक्त भए । शुरुदेखि अन्त्यसम्म चरणबद्ध ढंगले पार्टी सशस्त्र, निशस्त्र संघर्ष गर्दै गयो । त्यसको सम्पूर्ण इतिहास यति सानो लेखमा उल्लेख गर्नु कसरी सम्भव हुन्छ । त्यो त पाठकले आफै सामाग्री संग्रह गरी अध्ययन खोज गरे मात्र सम्भव हुन जाला । यो त एउटा संकेत मात्र हो । विदेशी साम्राज्यवादी शक्तिलाई देशबाट भगाउन स्वदेशी प्रतिक्रियावादीबाट देशमुक्त गरी सबै ती विदेशी तालुवा चटुवाहरुलाई भगाउन पनि सफल भएको इतिहास विश्वमा प्रेरणादायी छ, क्रान्तिकारी छ, नयाँ जनवाद हुँदै समाजवादमा पुग्न सफल बनाएको छ । यसरी चिनियाँ कम्युनिस्ट पार्टी र माओ–त्सेतुङको नेतृत्वलाई कसैले कसैले भूल्न सक्छ ।चिनियाँ नयाँ जनवादी क्रान्तिको सफलता र त्यतैबाट समाजवादमा पुग्न सकेको ऐतिहासिक कदमको कारण अरु केही होइन, मजदुर किसान निम्न, उद्योग र राष्ट्रिय पुँजीपति वर्गमाथि गरिएको देशी विदेशी शोषण, दमन, विरुद्ध चिनियाँ कम्युनिस्ट पार्टी र माओको निरन्तर सुदृढ संघर्षको परिणाम हो । रुसमा संघर्ष थियो सैद्धान्तिक, व्यवहारिक दुवै संघर्ष भए । तर चीनको संघर्षलाई कम मूल्यांकन गर्नु हुँदैन ।
विश्वमा कम्युनिस्ट पार्टीहरु हर देशमा जन्मेका छन् । तर त्यहाँको राजनीति, आर्थिक स्थिति, वर्ग विश्लेषण निरन्तरता र सुदृढताको अभावले गर्दा लक्ष्यमा पुग्न सकेका छैनन् । उपल्लो तहको सम्झौता, कुनै देशको प्रभाव, जमिनी संघर्षको पकड नहुनुको कारण कुनै बेला समाजवादी सत्तामा रहेका देश गल्र्याम गुर्लुम्म ढले । साम्राज्यवादी देशको मित्र बने । पूर्वी यूरोपिय देश पोलेण्ड, हंगेरी युगोस्लाभिया, लेटिन अमेरिकी केही देश, एसियामा भियतनाम, कम्बोडिया, यहाँ अमेरिकी हस्तक्षेप विरुद्ध राष्ट्रिय संघर्ष, स्वतन्त्रताको निम्ति संघर्ष मात्र सावित भए, वर्गसंघर्षले जरा गाड्न सकेन । अर्को ठूलो एसियाको देश चीनमा राष्ट्रियता, जनजीविका, शोषण, दमन विरुद्ध ठूलाठूला संघर्ष भए चिनियाँ कम्युनिस्ट पार्टी त्यसको नेता अथक संघर्षकर्ता माओ–त्सेतुङले त्यसबेलाका आन्तरिक बाह्य शक्तिबाट पीडित जनतालाई मुक्त गराए– साँच्चिकै वैज्ञानिक समाजवाद, स्थापित गरे, बलियो बनाए । साम्राज्यवाद दक्षिणपन्थी संशोधनवादसँग टक्कर लिन सक्ने भए । आफ्नै जीवनकालमा सर्वहारा साँस्कृतिमा क्रान्तिको कार्यक्रम अघि बढाए । आजको चीन शक्तिशाली हुनु त्यही प्रभाव हो । आखिरी १९७६ मा उनको मृत्यु भयो– त्यसपछि तेङसियाओपिङको संशोधनवादी गुट अगाडि स¥यो । अहिलेसम्म सिजिङपिङसम्म त्यसैको चरितार्थ छ । यस संशोधनवादी गुटले सर्वहारावर्गको क्रान्तिलाई ठूलो धक्का पुराएको छ, निजी पुँजीलाई प्राथमिकता दिएको छ । विश्व समाजवादी क्रान्तिलाई अग्रगतिमा लैजानुको सही विश्व पुँजीवादमा श्रेष्ठ हुने राजनीति बनाएको छ। तर पनि जे जस्तो शक्ति लगाए पनि यो माक्र्सवादी वैज्ञानिक सिद्धान्त बोकेका लेनिन र माओ–त्सेतुङको प्रभाव छापलाई युगयुगसम्म कसैले मेटाउन सक्ने सम्भावना भएन ।
अर्को एउटा सानो देश उत्तर कोरिया वैज्ञानिक समाजवादको यात्रामा थियो । केही हदसम्म हाँकेर लगेको नै थियो, सम्पूर्ण अमेरिकी साम्राज्यवाद अन्तर्गतका देशहरु त्यस विरुद्ध आक्रमण गरिरहेका छन् । त्यो देशलाई उत्तर दक्षिणमा विभाजन, मनोमालिन्यता सिर्जना गरेर आफ्नो आधार इलाका त्यहाँ बनाएका छन् । फौजी अड्डा राखेका छन्, उत्तर कोरिया माथि समय समयमा आक्रमण गर्छन् । नाकाबन्दी लगाएका छन् । उत्तरलाई आत्म समर्पण गर्न बाध्य गराइरहेका छन् । उसलाई अहिले राष्ट्र कसरी बचाउने भन्ने प्रश्न नै महत्वपूर्ण हुन गएको छ, समाजवादी कार्यक्रम कसरी पेश गर्न सक्छ ।
दुई ठूला देश, चीन र भारतको बीचमा रहेको सानो भूपरिवेष्ठित देश नेपाल यहाँ ००७ देखि चेतनाको लहर फैलिंदै गएको छ । ००६ सालमा यहाँ पनि नेपाल कम्युनिस्ट पार्टी जन्म्यो । यसले छिटै नै संगठन प्रभाव बढाउँदै लग्यो । देशका कुनाकाप्चामा कम्युनिस्ट पार्टीको नाम चिनायो, अव देशमा ३ राजनीतिक शक्ति देखा परे (१) सामन्तवादमा आधारित राजाको नेतृत्व अन्तर्गत संचालित हुने प्रतिगामी शक्ति (२) पुँजीवादलाई मुुल सिद्धान्त स्वीकार्ने ००७ सालको क्रान्तिको अगुवा पार्टी नेपाली कांग्रेस र (३) समाजलाई आमूल परिवर्तन गर्ने पुँजीवादीको हातमा रहेको सत्ता सर्वहारावर्गलाई सौपने पार्टी नेपाल कम्युनिस्ट पार्टी अहिले सामन्तवादी राजसंस्था राजनैतिक रुपले समाप्त भएको छ, देश पुँजीवादमा प्रवेश गरेको छ, तर यो पुँजीवाद राष्ट्रिय पुँजीमा आधारित छैन । यसको मौलिक चरित्र छैन । दलाल नोकरशाही पुँजीपतिवर्गको भरमा छ, राष्ट्रिय पुँजीपति वर्गलाई यहाँ ठाउँ छैन । यो दलाल नोकरशाही शक्तिले ने.का.लाई मित्र ठान्छ । बचेखुचेका सामन्त जुन छन् राजाका मित्र हुन् । अर्को समाज परिवर्तन गर्न जन्मेको पार्टी नेकपाले अहिलेसम्म कुनै ठोस कार्यक्रम पेश गर्न सकेन । प्रचार क्रान्तिकारी काम विपरीत भएको छ । राजा महेन्द्रले ००७ सालको संसदीय व्यवस्थाको उपब्धिलाई ०१७ सालमा खाई दिएर निरंकुश पंचायती प्रजातन्त्र नामको शासन पद्धति लागु गरेपछि कांग्रेस, कम्युनिस्ट दुवैले ०४६ साल आन्दोलन थियो । कांग्रेसको मुख्य नारा रह्यो । “भंग गरिएको संसदीय व्यवस्थाको पुनस्र्थापना” यसभन्दा पृथक कार्यक्रम पेश हुन सकेन । यद्यपि विभिन्न विभाजित कम्युनिस्टहरुले रायमाझीको नीतिबाट पार्टीलाई बचाएकै हुन् । तर आन्दोलनलाई मत्थर पार्न ०४६ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापना भयो तर पनि राज्यको सम्पूर्ण अधिकार राजसंस्थामा नै निहित रह्यो । त्यस कार्यलाई नेकाले ठूलो उपलब्धी झा¥योे । किनकि बहुदलीय व्यवस्था प्राप्त भयो । अर्कोतिर कम्युनिस्ट मध्येका धेरै जसो पार्टी, व्यक्तिले पनि यस परिवर्तनलाई अत्यन्त प्रशंसा गरे, समाजवाद प्राप्त गर्न यही संसदीय माध्यम नै अत्यन्त उपयोगी हुन सक्ने सम्झे । नयाँ जनवाद समाजवाद प्राप्त गर्न पुरानो भएको व्याख्या गर्न थाले ।त्यसैले जनताको बहुदलीय जनवादी कार्यक्रम पेश गरे । जसलाई जवज भनिन्छ । त्यसै समयदेखि नेकपा पतनको दिशामा गएको विश्लेषण व्यापक रुपमा हुन थाल्यो ।
सुस्तसुस्त एउटा यस्तो समूह निस्क्यो जुन ०४६ सालमा राजाले वक्सिस दिएको पाउरबाट पटकपटक सन्तुष्ट थिएन , ऊ सर्वहारावादी दृष्टिकोण राख्दथ्यो । नयाँ जनवाद हुँदै समाजवाद प्राप्त गरिने विचार उसको विश्वास थियो । त्यसैले ०५२ साल फागुन १ गते जनयुद्ध घोषणा ग¥यो । यो युद्ध १० वर्षसम्म निरन्तर चल्यो । देशी विदेशी प्रतिक्रियावादी प्रतिक्रान्तिकारी शक्ति आश्चर्य चकित भयभित भए । चारैतिरबाट दबाब प्रलोभन धम्की वर्षिन थाले, उता नेतृत्व अडिन सकेन । जनयुद्धको सही मूल्यांकन गर्न सकेन, सम्झौतावादी दृष्टिकोण लियो । विस्तृत शान्ति सम्झौता गरियो । नयाँ जनवादी कार्यक्रम त्यागियो । समाजवादी बाटो त्यागियो । बरु संसदको माध्यमबाट सुस्तसुस्त नआत्तिकन सबै वर्गलाई समन्वय गर्दै झैझगडा हुन नदी शान्तिपूर्ण ढंगले त्यतातिर जाने दृढ निश्चय गरियो । जो अहिले चालु छ । अव त समाजवाद संविधानले तोके बमोजिम ५ वर्षमा हुने निर्वाचनमा एक पटक घरघरमा जान्छ । निर्वाचन समाप्त हुन्छ, यो पनि अर्को समयसम्म आराम गर्छ । भोट जान भनेको त कुटी तिर गइएछ जस्तो भाछ । सम्झौता गर्नु तोड्नु आफैमा गलत हुँदैन । मुख्य कुरा मूल विषय त्याग्नु हुँदैनथ्यो । त्यो यहाँ भएको छ ।
नयाँ जनवादी क्रान्ति दुई समाजवादमा पुग्न अगाडि सारेको ठूलै सफलता हात पारेको पार्टी माओवादीले एउटा ठूलो गुट र त्यसको नेतृत्वले बाटो छोडे पनि त्यो प्रवृत्ति विरुद्ध अंगुला ठड्याउँदै एउटा समूह नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्न अग्रसर, सचेत छ, पुनरुत्थानवादी, यथास्थितिवादी विरोधमा लड्दै सर्वहारा वर्गको क्रान्ति सफल पार्न बहुसंख्यक निम्न वर्गका जनतालाई उनका शोषण, दमन, पीडाका व्यथाहरु क्रान्तिबाहेक शक्तिले निरर्थक ढंगले व्याख्या गर्दै हिंडेको छ । तिनलाई संघर्षमा उतारेपछि मात्र जताकतै सम्भावना हुन्छ । नेपाल अछुत रहन सक्दैन । ठोस स्थितिको ठोस विश्लेषण गरेर मात्र प्राप्त गर्न सकिन्छ । नयाँ जनवादी क्रान्ति सर्वहारा वर्गको क्रान्ति प्रशस्त पैसा खर्च गरेर निर्वाचनमा भोट प्राप्त गरे जस्तै सजिलै पाइने वस्तु होइन । चेतना संघर्ष मात्र यसमा कारक तत्व हुन् । लेनिन, माओले यसैलाई महत्व दिए । अहिले नेपालको कम्युनिस्ट आन्दोलन कुनै यस्तो शक्ति छ ? छ , अवश्य पनि छ, त्यो हो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ।