चटके

चटके

कविता

चटकेहरू गाउँ पसिरहेछन्
विविध कलायुक्त चटकेहरू
क्षणभरमा चटकेहरू
मान्छेलाई पशु बनाउँछन्
र, हर्षविभोर हुन्छन्
मान्छेलाई पशु बनाउँदा
र, त घाँस खुवाइरहन्छन् मान्छेलाई ।

चटकेहरू आउँछन्
किस्तिमा बोकेर
जागिर
सरुवा/बढुवा
ठेक्कापट्टा
बाटो/कुलो
स्कुल/पँधेरो
मठमन्दिर या चर्चहरू
फ्रि भिजा र फ्रि टिकेटहरू
किस्तिमै बोकेर ल्याउँछन्
घरघरमा चटकेहरू ।

यो हो चटकेहरूले खुवाउने
हरियो घाँस
जसरी घाँसमा लोभिन्छन् पशु
कतै बनिरहेछौं हामी पशु
क्षणभरमा चटकेहरू
मान्छेलाई पशु बनाउँछन्
अनि जान्छन् पाँच वर्ष गुप्तबास ।

यसपटक फेरि आइरहेछन्
घरघरमा किस्ति बोकेर
नयाँ पुराना चटकेहरू ।

भनिदेऊ
ए मान्छेहरू !
बन्दैनौं अब हामी पशु
अस्वीकार्य छ हामीलाई
तिम्रो चटकको मञ्चन
र, अस्वीकार्य छ हामीलाई
तिम्रो किस्तिमा पस्किएको घाँस ।

१४ माघ, २०८२
शङ्खमुल, काठमाडौं