हर्क सिंह ओली प्रति श्रद्धाञ्जली

हर्क सिंह ओली प्रति श्रद्धाञ्जली

रुकुम । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, ४ नम्बर ब्युरोको आयोजनामा त्रिवेणी गाउँपालिका–६, विता, रुकुम (पश्चिम भाग) मा दिवंगत हर्क सिंह ओलीप्रति श्रद्धाञ्जली सभा तथा शोक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका विभिन्न तहका नेता–कार्यकर्ता, अन्य राजनीतिक दलका प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकका पोलिटब्युरो सदस्य तथा ४ नम्बर ब्युरो सचिव समिरले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन हुकुमले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा पार्टीका स्थायी समिति सदस्य कृष्णराज पौडेलको उपस्थिति रहेको थियो। प्रमुख अतिथि पौडेलले पार्टीका स्थायी समिति सदस्य सुदर्शनले प्रगतिशील मृत्यु संस्कार अपनाएकोमा धन्यवाद दिदैं प्रगतिशील मृत्यु संस्कारलाई समाजमा प्रोत्साहन गर्नु पर्ने बताउनुभयो । उहाँले मृत्यु संस्कारका बेला मात्र होइन अघि पछि पनि सामाजिक रुपान्तरण बारे छलफल गरिरहनुपर्ने बताउनुभयो । पौडेलले आफुले पनि बुबाको मृत्यु संस्कार र छोराछोरीको बिबाह प्रगतिशीलढंगले सम्पन्न गरेको स्मरण गर्नु भयो ।

श्रद्धाञ्जली सभामा दिवंगत हर्क सिंह ओलीको विकास, योगदान र संघर्षलाई स्मरण गर्दै उहाँका छोरा तथा पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीले भावुक मन्तव्य राख्नुभयो। उहाँले बुवाले पार्टी, समाज र जनताको पक्षमा पुर्‍याउनुभएको त्याग, तपस्या र समर्पणलाई स्मरण गर्दै उहाँको योगदान सधैं प्रेरणादायी रहने बताउनुभयो।

सो अवसरमा बुहारी अम्बिका चन्द ओलीले पनि दिवंगत श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभयो।
कार्यक्रममा नेकपा (बहुमत) का केन्द्रीय सचिवालय सदस्य जित, प्रगतिशील लोकतान्त्रिक पार्टीका कर्णाली प्रदेश इन्चार्ज राजकुमार शर्मा, नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि गोपाल शर्मा ‘अनल’ लगायत विभिन्न दलका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले दिवंगत हर्क सिंह ओलीलाई एक इमानदार, निष्ठावान र संघर्षशील व्यक्तित्वका रूपमा स्मरण गर्दै उहाँले जनताको हक–अधिकार र सामाजिक परिवर्तनका लागि पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरेका थिए। श्रद्धाञ्जली सभामा विभिन्न नेता–कार्यकर्ताहरूले आ–आफ्नो मन्तव्य राख्दै दिवंगत ओलीका आदर्श र संघर्षलाई त्याग बलिदान को बारेमा चर्चा गरेका थिए । उहाँले देखेको सपनामा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।