काठमाडौं/११ माघ,
इच्छुक सांस्कृतिक प्रतिष्ठानबाट प्रदान गरिने ‘तारा स्मृति पुरस्कार–२०८२’ जनकपुर उपमहानगर – १०, धनुषा निवासी प्रगतिवादी साहित्यकार, समालोचक तथा संस्कृतिकर्मी रोशन जनकपुरीलाई दिइने भएको छ ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्यसचिव मोदनाथ मरहट्टाद्वारा हिजो जारी गरिएको वक्तव्यमा साहित्यकार जनकपुरीलाई यस वर्षको तारास्मृति पुरस्कारद्वारा सम्मानित गर्न लागिएको जनाइएको छ । उक्त पुरस्कारको राशी रू. एकलाख नगद र सम्मानपत्र रहेका वक्तव्यमा जनाइएकोे छ ।
साहित्यिक नाम रोशन जनकपुरीबाट परिचित उनको वास्तविक नाम अरविन्द कुमार लाल हो । तीसको दशकमा कम्युनिस्ट आन्दोलनमा जोडिएका जनकपुरीले विगत साढेचार दशकदेखि समाजवादी यथार्थवादी धाराको साहित्य लेखनमा कलम चलाउँदै आएका छन् । उनले मैथिली तथा नेपाली भाषाका माध्यमबाट कविता, कथा, निबन्ध, समालोचना एवम् राजनीतिक तथा दार्शनिक विषयमा कलम चलाउने गरेको पाइन्छ । नेकपा माओवादीको नेतृत्वमा सञ्चालित महान् जनयुद्धमा सङ्गठित भएर राजनीतिक तथा सांस्कृतिक आन्दोलनको नेतृत्व गरेका जनकपुरीले सर्वहारा वर्गीय मुक्तिका पक्षमा पत्रकारिता पनि गरेका थिए ।

































