हाम्रो कार्यमा नेतृत्व गर्ने केन्द्रीय शक्ति चिनियाँँ कम्युनिस्ट पार्टी हो ।
हाम्रो विचारधारालाई निर्देशन गर्ने सैद्धान्तिक आधार मार्क्सवाद–लेनिनवाद हो ।
‘जन–गणतन्त्र चीनको प्रथम राष्ट्र जन–कङ्ग्रेसको प्रथम अधिवेशनमा दिइएको उद्घाटन–भाषण’ (१५, १९५४)
क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी हुनैपर्छ । क्रान्तिकारी पार्टी बिना, मार्क्सवादी–लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्धति अनुसार बनेको पार्टी बिना साम्राज्यवाद तथा यसका दलालहरूलाई पराजित गर्न मजदूर–वर्ग र विशाल जनसमुदायलाई नेतृत्व गर्नु असम्भव छ ।
‘संसारका क्रान्तिकारि शक्तिहरू एकगठ होऊ, साम्राज्यवादी आक्रमणका विरूद्ध जुध’ (नभेम्बर १९४८)
चिनियाँँ कम्युनिस्ट पार्टीका प्रयत्नहरू बिना, चिनियाँँ जनताका प्रधान अवलम्बन चिनियाँँ कम्युनिस्ट बिना, चीन कहिले पनि स्वाधनी र मुक्त हुन सक्दैन । न त चीनको औद्योगीकरण र यसको कृषिको आधुनिकीकरण नै हुनसक्छ ।
‘संयुक्त सरकारका विषयमा’ (अप्रिल २४, १९४५)
चिनियाँँ कम्युनिस्ट पार्टी समस्त चिनियाँँ जनताको नेतृत्वको केन्द्रीय शक्ति हो । यो शक्ति बिना समाजवादको उद्देश्य विजयी हुन सक्दैन ।
‘चीनको नयाँ जनवादी युवक सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूसितको सामान्य भेटघाट समारोहमा प्रवचन’ (मे २५, १९५७)
मार्क्सवाद–लेनिनवादको सिद्धान्तबाट सुसज्जित स्व–आलोचना पद्धतिलाई अँगालेको र जन–समूहसँग गाँसिएको अनुशासनवद्ध पार्टी, यस्तो पर्टीको नेतृत्वका मातहतमा सेना, यस्तो पार्टीको नेतृत्वका अन्तर्गत सबै क्रन्तिकारी वर्ग र सबै क्रान्तिकारी डफ्फाहरूको संयुक्त मोर्चा – यिनै तीन मुख्य हतियार हुन् जसबाट हामीले शत्रुलाई हरायौँ ।
‘जनताको जनवादी अधिनायकत्वका विषयमा’ (जुन ३०, १९४६)
हामीले जनतामा विश्वास गर्नैपर्छ र हामीले पार्टीमा विश्वास गर्नैपर्छ । यो दुइ मूलभूत सिद्धान्त हुन् । हामीले यी सिद्धान्तमा शङ्का गयौँ भने हामी केहीपनि गर्न सक्नेछैनौँ ।
‘कृषि–सहयोगको प्रश्नका विषयमा’ (जुलाई ३१, १९५५)
मार्क्सवादी–लेनिनवादी सिद्धान्त र विचारधारा सुसज्जित भएर चिनियाँँ कम्युनिस्ट पार्टीले चिनियाँँ जनतामा नयाँ कार्य–शैली ल्याइदिएको छ जसमा मुख्यतया सिद्धान्तलाई व्यवहारसित मिलाउने, जन–समुदायसँग घनिष्ठ सम्बन्ध स्थापित गर्ने र स्व–आलोचनाको व्यवहार गर्ने पद्धतिहरू छन् ।
‘संयुक्त सरकार विषयमा’ (अप्रिल २४, १९४५)
क्रन्तिकारी सिद्धान्त तथा इतिहासको ज्ञान र व्यावहारिक आन्दोलनको गहिरो ज्ञान नहोउन्जेल कुनै राजनीतिक दलले पनि महान् क्रान्तिकारी आन्दोलनलाई विजयतर्फ लैजानु सम्भव छैन ।
‘राष्ट्रिय युद्धमा चिनियाँँ कम्युनिस्ट पार्टीको भूमिका’ (अक्टोबर १९३८)
जस्तो कि हामी भन्ने गर्थ्यौं, शुद्धिकरण आन्दोलन ‘मार्क्सवादी शिक्षाको ब्यापक आन्दोलन’ हो । शुद्धिकरण भनेको पूरा पार्टीले आलोचना र स्व–आलोचनाद्वारा मार्क्सवादको अध्ययन गर्नु हो । शुद्धिकरण आन्दोलनको क्रममा हामी निश्चित नै मार्क्सवादबारे बर्ता कुरा सिक्न पाउँछौँ ।
‘चिनियाँँ कम्युनिस्ट पार्टीको प्रचार कार्य सम्बन्धी राष्ट्रिय सम्मेलनमा भाषण’ (मार्च १२, १९५७)
चीनका करोडौं जनताको निम्ति सुन्दरतर जीवनको व्यवस्था मिलाउनु, र आर्थिक तथा सांस्कृतिक रूपले पछि परेको हाम्रो देशलाई उच्च सांस्कृतिक स्तर भएको समृद्ध र शक्तिशाली राष्ट्र बनाउनु सारै गाह्रो काम हो । र वास्तवमा यसै अभिभारालाई बर्ता कुशलताका साथ बहन गर्न र उच्च आकाङ्क्षाबाट प्रेरित भएर सुधार ल्याउन कम्मर कसेका पार्टी बाहिरूका व्यक्तिहरूसँग पनि संयुक्त भएर समान रूपले काम गर्न हामीले अहिले र भविश्यमा पनि यस्तो शुद्धिकरण–आन्दोलन चलाउनुपर्छ, र कुनै किसिमको अनुचित वा गलत कुराबाट आफूलाई बराबर मुक्त पारिरहनुपर्छ ।
‘उपर्यक्त’
नीति नै क्रान्तिकारी पार्टीका समस्त व्यवहारिक कारवाहीहरूको आरम्भ बिन्दु हो । र त्यस पार्टीका कामहरूको क्रममा र तिनका अन्तिम परिणाममा नै यो नीति प्रकट हुन्छ । कुनै काम गर्दा पनि क्रान्तिकारी पार्टीले कुनै न कुनै नीतिलाई लागू गरिरहेकै हुन्छ । यसले ठीक नीति लिएर चलेको छैन भने, यसले गलत नीति लिइरहेको हुन्छ, कुनै नीतिलाई यसले सचेत भएर लागू गरिरहेको छैन भने, यसले त्यस नीतिलाई आँखा चिम्लिएर लागू गरिरहेको हुन्छ । कुनै नीतिलाई लागू गर्ने क्रम र त्यसबाट निस्कने परिणामलाई नै हामी अनुभवको संज्ञा दिन्छौँ । जनताले गर्ने व्यवहारबाट नै, अर्थात अनुभवद्वारा नै हामी कुनै नीति ठीक छ वा छैन भनेर पत्ता लगाउँछौँ र यो कतिसम्म ठीक वा बेठीक छ भन्ने कुरा पनि ठम्याउन सक्छौँ । तर मानिसहरूको व्यवहार, खासगरि क्रान्तिकारी पार्टी र क्रान्तिकारी जनसमूहको व्यवहार, कुनै न कुनै नीतिसँग अवश्य सम्बन्धित हुन्छ । त्यसैले कुनै कारवाही गर्नुभन्दा अघि हामीले पार्टीका सदस्यहरू र जनसमूहहरूलाई कुनै खास परिस्थितिमा हामीले यस्तो नीति किन बनायौं भन्ने कुरा स्पष्ट गरिदिनु आवश्यक छ । नत्र भने पार्टीका सदस्य र जनसमूह हाम्रो नीति–निर्देशनबाट अलग्गिन पुग्नेछन्, आँखा चिम्लेर काम गर्नेछन् र गलत नीति लिएर चल्ने छन् ।
‘उद्योग बाणिज्य सम्बन्धी नीतिका विषयमा’ (फरबरी २७, १९४८)
हाम्रो पार्टीले चिनियाँ क्रान्तिका सामान्य दिसा र सामान्य नीतिका साथै कामका लागि अनेकौं विशेष दिसा र विशेष नीतिहरूको निर्धारण गरेको छ । तैपनि हाम्रा धेरै कामरेडहरू हाम्रो पार्टी कार्यका निम्ति विशेष दिसाहरू र विशेष नीतिहरूलाई सम्झिराख्छन् भने पार्टीका सामान्य दिसा र सामान्य नीतिलाई उनीहरू बेलाबेलामा बिर्सिदिन्छन् । हामीले पार्टीका सामान्य दिसा र सामान्य नीतिलाई साँच्ची नै बिर्सिदियौं भने हामी मूढ, अधकल्चा र अल्मलिएका क्रान्तिकारी हुनेछौँ, र कामको विशेष दिसा र विशेष नीति कार्यान्वित गर्दा बिराउनेछौँ र कहिले वामपन्थी तथा कहिले दक्षिणपन्थी धरमरमा पर्नेछौँ, र काममा हानी हुनेछ ।
‘शान्सी–सुइयुआन मुक्त क्षेत्रका कार्यकर्ताहरूको सम्मेलनमा भाषण’ (अप्रिल १, १९४८)
नीति र कार्य–नीति पार्टीका ज्यान हुन् सबै स्तरका नेता कामरेडहरूले यसबारे पूरा ध्यान दिनैपर्छ र कुनै हालतमा पनि यसबारे लापरवाही गर्नुहुन्न ।
‘परिस्थितिका विषयमा परिपत्र’ (मार्च २०, १९४८)
































