दर्शनको क्षेत्रमा प्रगतिबाद भन्ने बित्तिकै परम्परागत आध्यात्मबादी चिन्तन, बिचार, सिद्धान्त र नीतिहरु जसले संसार अर्थात प्रकृति र मानब समाजलाई अज्ञेय, अलौकिक, अदृष्य शक्ति बिशेषद्वरा सञ्चलित र अपरिबर्तनीय हुन्छ भन्ने रुढ र अन्ध मान्यता राख्दछ त्यसको सकारण खण्डन गर्दै द्वन्द्वात्मक ऐतिहासिक भौतिकबादका आधारमा संसार अर्थात जीव र जगतलाई हेर्ने, ब्याख्या गर्ने र बदल्ने कुरा पर्न आउँदछ । त्यसमा पनि मूलतः आजको बिश्वलाई यस नबीनतम दर्शनको आधारमा बुझ्ने र ब्याख्या गर्ने मात्र होइन, यसलाई बदल्ने आजको बिश्वमा प्रगतिबादी दर्शन र चिन्तनधाराको सबैभन्दा मूल मर्म हो ।
यस सन्दर्भमा कार्ल माक्र्सले प्रष्टैसँग भनेका पनि छन् कि आजसम्मका दार्शनिकहरुले संसार यस्तो छ उस्तो छ भनेर ब्याख्या त गरे तर दर्शनको मूख्य कुरा यो संसारलाई बदल्नु हो । प्रष्ट छ प्रगतिबादी दर्शनले आध्यात्मबादी दर्शनको जस्तो यो संसार मयामोहको जालो हो, यो रहस्यमय र बुझिनसक्नु छ, त्यसैले यो अपरिबर्तनीय र सदा सर्बदा कायम रहिरहने शाश्वत छ भन्ने कुरा भनेर उम्कने प्रयत्न गर्दछ । यो संसार चलाउने, गतिशील तुल्याउने र रोक्ने या सृष्टि, पालन र संहार गर्ने अदृष्य शक्ति छ । जे हुन्छ त्यसै शक्ति या इश्वरीय शक्तिको भरमा प्रकृति र मानब समाज चल्छ । मानिसको केही लाग्दैन भन्ने अलौकिक निष्कर्श दिन्छ ।
कार्ल माक्र्सले थप ब्याख्या गर्दै भनेका छन् – हरेक दर्शन आफ्नो समयको बौद्धिक सारतत्व हो । यद्यपि अहिलेसम्मका(माक्र्सको जमानासम्मका) दार्शनिक हरुले बिश्वलाई बिभिन्न तरीकाले ब्याख्या मात्र गरे तर यसको मूल कुरा बिश्वलाई बदल्नु हो ।यस सन्दर्भमा थप ब्याख्या गर्दै उनले आदर्श भनेको मानव मस्तिष्कद्वारा परावर्तित र चिन्तनका रुपमा अनुदित भौतिक विश्व सिवाय अरु केही पनि होइन भनेका छन् ।हरेक उपयोगी वस्तु अनेक गुण–धर्महरुको जमघट हो र त्यसैले यो विभिन्न रुपमा काम लाग्ने हुन सक्दछ। वस्तुहरुका विविध उपयोगहरुलाई पत्ता लगाउनु इतिहासको काम हो । कुनै पनि बस्तु या घटनाको कुनै खास केन्द्रीय विन्दुहरुमा विशुद्ध मात्रात्मक योग वा वियोगले गुणात्मक फड्कोलाई जन्म दिन्छ।
यदि आकस्मिक घटनाहरुको भूमिका नहुने भए विश्व इतिहास बडो गुढ प्रकृतिको हुने थियो। स्वाभाविक रुपमा आकस्मिक घटनाहरुले विकासको सामान्य मार्गका एक अंशको निर्माण गर्दछन् र अन्य आकस्मिक घटनाहरुद्वारा तिनको क्षतिपूर्ति हुने गर्दछ। तर, जसले सर्वप्रथम गतिको अगुवाई गरे, ती मानिसहरुको चरित्रको आकस्मिकताका साथै वेग, वुद्धि र विलम्ब धेरै मात्रामा यिनै आकस्मिक घटनाहरुमाथि भर पर्दछन्।
त्यसरी नै फेडरिख एंगेल्सले प्रष्टसँग भनेका छन् कि आधुनिक दर्शनको महान र आधारभूत प्रश्न चिन्तन र अस्तित्वसँग सम्बन्धित छ । दार्शनिकहरुले यस प्रश्नको जुन उत्तर दिए त्यस उत्तरले उनीहरुलाई दुइ बिशाल शिबिरमा बिभक्त गरिदियो । जसले प्रकृतिभन्दा चेतनालाई प्राथमिकता दिए र अन्तिमरुपमा त्यसैबाट कुनै न कुनै रुपमा बिश्व रचना भएको कल्पना गरे उनीहरु आदर्शबादी शिबिरमा परे । अरु प्रकृतिलाई प्राथमिक ठान्ने र मान्नेहरु भौतिकबादका बिभिन्न धारामा पर्दछन् । उनले थप भनेका छन् बिशव सम्वन्धि आदिम सिधा तर यथार्थमा सही अबधारणा प्राचीन ग्रीक दार्शनिकहरुको थियो र सर्बप्रथम प्रष्टरुपमा यसको प्रतिपादन हेराक्लिटसद्वारा भएको थियो । हरेक चीज छ, छैन। किनभने हरेक बस्तु तरल छ, नित्य परबर्तनशील छ, नित्य जन्मदो र मर्दो छ ।
एंगेल्सले थप प्रष्ट पार्दै भनेका छन् –कुनै पनि कुरा शाश्वत छैन। तर, नित्य परिवर्तनशील छ। अनन्त रुपमा गतिशील पदार्थ र ती नियमहरु, जसअनुसार पदार्थ गतिशील बन्दछन्। आफ्ना सबै रुपान्तरणहरुमा पदार्थ अनन्त कालसम्म उही नै रहन्छ, यसका कुनै पनि गुण–उपाधिहरु कहिल्यै नासिन सक्दैनन्। विश्वको वास्तविक एकत्व त्यसको पादार्थिकतामा निहित छ। यो कुरा दर्शन र प्रकृति विज्ञानको दीर्घ र कष्टप्रद विकासद्वारा सावित भएको हो।
सटिक रुपमा भन्दा एक्लो प्रकृति मात्र होइन, मानिसद्वारा प्रकृतिको परिवर्तन नै मानव चिन्तनको सर्वाधिक आवश्यकता र निकटतम् आधार हो। यही नै मानिसले प्रकृतिलाई बदल्न सिकेको छ र जसको बुद्धि बढेको छ भन्ने कुराको नापो पनि हो।प्रकृति र मानव समाजको इतिहासबाट नै द्वन्द्ववादका नियमहरु आकर्षित गरिएका हुन्। किनकि तिनीहरु ऐतिहासिक विकासको यी दुई पक्षहरु तथा स्वयं चिन्तनका सर्वाधिक सामान्य नियमबाहेक अरु केही होइनन्।
जसरी आमाको गर्भभित्र मानव भ्रूणका विकासको इतिहास लाखौंलाख वर्षदेखि हुँदै आएको प्राणीहरुको पूर्खाको शारीरिक विकासकै संक्षिप्त पूनरावृत्ति हो, त्यसैगरी मानिसका बच्चाको मानसिक विकासमा पनि उनैका काम पछिल्ला चाहिँ पूर्खाहरुको वौद्धिक विकासको संक्षिप्त पूनरावृत्ति मात्र हो।
यस सम्बन्धमा लेनिनले दार्शनिक फिख्टेले भनेको ‘बिश्व अहंद्वारा रचित’, हेगेलले ‘बिश्व निरपेक्ष प्रत्यय’, शोपनहाइवरले भनेको ‘बिश्व संकल्प’ यी बिभिन्न शाब्दिक भंगालाभित्र लुकेका समान प्रत्ययबादी सारलाई अबलोकन नगर्न मानिसले अन्धै हुनु पर्दछ भनेका छन् । उनले माक्र्सबादी दर्शनलाई एउटा पूर्ण दार्शनिक भौतकबाद हो जसले मानब जातिलाई खाशगरी श्रमिक बर्गलाई ज्ञानका शक्तिशाली उपकरणहरु प्रदान गरेको छ भनेका छन् । यस सम्बन्धमा उनले थप भनेका छन् कि हामी माक्र्सका सिद्धान्तलाई कुनै अन्तिम र अनुलंघनीय बस्तु ठान्दैनौ । यसको बिपरीत हामी के कुरामा बिश्वास गर्दछौ भने यसले केवल त्यस बिज्ञानका जगका ढुंगा मात्र हालेको छ जसलाई समाजबादीहरुले दशै दिशामा बिकसित तुल्याउनै पर्दछ र मात्र उनीहरुले जीवनसँग कदम मिलाउँन सक्दछन् भनेर प्रष्ट पारेका छन् । यसले केवल निर्देशक सिद्धान्त(गाइडलाईन) मात्र प्रदान गर्दछ जसलाई बिशिष्टरुपमा बेलायतमा फ्रान्सकोभन्दा फरक, जर्मनीकोभन्दा बेग्लै र जर्मनीमा रुसकोभन्दा भिन्नै ढंगले प्रयोग गरिएको छ । उनले अझ थप भनेका छन् –. विश्वमा गतिमान् पदार्थबाहेक अरुथोक केही छैन र ती गतिमान् पदार्थ दिक् र कालबाहेक अन्त कहीँ गतिशील हुनै सक्दैनन्।
माओले पनि ब्यवहारका बारेमा लेख्दै ज्ञान र ब्यवहारको दार्शनिक ब्याख्या गरेका छन् । बस्तु र घटनाको सार्बभौमिकता र बिशिष्टता के हो भन्ने कुरा प्रष्ट पारेका छन् र त्यसै आधारमा समाजको बिकास, चरित्र र अन्तर बिरोधहरु बुझ्ने र तिनलाई एक एक गरेर फस्र्यौट गर्ने कुरा सुस्पष्टसँग अघि सारेका छन् । यसरी भौतिकबादी दार्शनिकहरुले बस्तुगत यथार्थका आधारमा दर्शनको अध्ययन अनुसन्धान गरेर बिश्वलाई हेर्न मात्रै होइन, बिश्वलाई सही किसिमले फेर्न सकिन्छ भन्ने महत्वपूर्ण निष्कर्श निकालेका छन् ।
माक्र्सबादी दर्शनको यो आत्मा अर्थात द्वन्द्वात्मक भौतिकबादी दर्शनका यिनै सारभूत कुरालाई गम्भीररुपमा ग्रहण, चिन्तन मनन तथा अनुशीलन गरेर कमरेड पुष्पलालले पनि प्रगतिबादी चिन्तनधारालाई पक्रेका छन् र त्यसको आधारमा नेपाली समाज बिकासका अधिशासित नियमहरु(गभर्निङ्ग ल अफ नेपाली सोसाइटी) अर्थात बर्गीय नियमहरुको खोजी गर्दै नेपाली समाजका अन्तरबिरोधहरु पत्तो लगाएका छन् र तिनको समाधान गर्ने उपायहरु निकालेका छन् । त्यसैले कमरेड पुष्पलालाई नेपालमा माक्र्सबादी दर्शन बिकास अर्थात प्रगतिबादी चिन्तनधाराका प्रथम र अगुवा, अनुयायी र उन्नायक तथा त्यसको जग बसाल्ने र बिकास गर्ने नेपाली दार्शनिककारुपमा लिन सकिन्छ जसले केवल २४ बर्षकै उमेरमा बिश्व प्रसिद्ध कम्युनिष्ट घोषणापत्रको नेपालीमा अनुबाद गरे । त्यसकै आधारमा नेपाली समाजको बर्गीय चरित्र चित्रण गरेर नेपाली समाज बिकास क्रममा कहाँ आईपुगेको छ र अब कता जानु पर्दछ भन्ने प्रष्ट मार्गदर्शन गरे । कम्युनिष्ट पार्टी स्थापना गर्ने टुंगोमा पुगेर कमरेड पुष्पलालले प्रगतिबादी चिन्तनधारालाई पक्रेको मात्र होइन, त्यसलाई ब्यवहारमा परिणत गर्ने कामलाई अघि बढाउँदै श्रमजीबी जनताको मुक्ति र प्रगतिको यो सशक्त हतियार उठाउने र अघि बढाउने काम गरे । त्यसै क्रममा कम्युनिष्ट पार्टीको गठन भयो । नेपालको इतिहासलाई सर्बथा एउट नयाँ सुसंगठित र सशक्त चिन्तनधाराको आधारमा अघि बढाउने बाटो खुल्यो । नेपाली समाजमा बर्गीयरुपमा सामन्त र पूँजीपति बर्ग मात्र राजनीतिमा हाली मुहाली चलाउँदै आएकोमा अब सर्बहारा बर्गले पनि राजनीतिक क्षेत्रमा हस्तक्षेप गर्न आरम्भ गर्यो र यसले नेपाली समाजमा उथलपुथलकारी तरंग पैदा गर्न शुरु गर्यो ।
यस प्रकार प्रगतिबादी चिन्तनधारालाई नेपाली समाजमा प्रयुक्त गर्दै कमरेड पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोलनको घोषणापत्र, नयाँ जनबादी क्रान्तिको कार्यक्रम, नेपाली जन आन्दोलन एक समीक्षा, नेपाल कम्युनिष्ट पार्टी र यसको कार्यपद्धति मातृसत्तात्मक समाज, अखिल नेपाल किसान संघको घोषणपत्र र कार्यनीति, नयाँ जनबादी सँस्कृति, नेपाल कम्युनिष्ट पार्टीको अठार बर्षको क्रान्तिकारी सिंहावलोकन, राजतन्त्रको उत्पत्ति, बिकास र त्यसको भबिष्य, नेपालको सर्बेक्षण, नोट्स अन हिस्ट्री आदि जस्ता अनेक महत्वपूर्ण कृतिहरु नेपाली समाजका अगाडि सार्दै नेपाली समाजको परिबर्तनका लागि महत्वपूर्ण र ऐतिहासिक सामाग्रीहरु प्रदान गरेका छन् । जसले यही लोक सत्य हो परलोक मिथ्या हो भन्ने मान्यतालाई अघि सारेका छन् । स्वभावतः यो लोक, परलोक, पूर्ब जन्म पुनर्जन्म स्वर्ग नर्कको कल्पना गरेर सत्ता र शोषणलाई दीर्घजीवी तुल्याउने शासक बर्गको बैचारिकी बिरुद्ध उनले एकदमै सुस्पष्टरुपमा आफुलाई खडा गरेका छन् र जनता सही ढंगले सचेत भए पछि यो धरतीका पाप – शोषण, उत्पीडन, अन्याय, अत्याचार, अभाव, गरीबी, अन्धबिश्वास कुरीतिबाट मुक्त गरेर अनि यही धरतीलाई सामाजिक समानता, न्याय, समृद्धिको धरातल खडा गरेर स्वर्ग बनाउन सकिन्छ भन्ने सस्पष्ट धारणा बिकसित गरेका छन् । यसरी सबै किसिमका अन्याय अत्याचारबाट मुक्त, परस्पर सौहाद्र्रता, सद्भावयुक्त समाज नै स्वर्ग हो त्यस्तो समाज खडा गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्दै नेपाली समाजका लागि अपूर्ब र नबीन जनमुखी चिन्तनधारालाई यसरी अगाडि बढाएका छन् । माक्र्सबादी चिन्तक नेपाली सर्बहारा बर्गका मार्गदर्शक कमरेड पुष्पलाललाई उनको जन्म शतबार्षिकीको अबसरमा उच्च शताब्दी लाल सलाम !
































