पोलिएपछि रुकुम खाराका वस्ती,
सोचेका थिए होलान् उनीहरू
कि रुक्नेछन् अब सानी भेरीहरू बग्न
छोड्नेछन् रुकुमेली बतास बहन
कालै हुनेछन् खाराहरू
थरहरी हुनेछन् जेलबाङहरू
र आत्मसमर्पण गर्नेछन् थबाङहरू
छोपिदा आकाश बादलले
के घाम उदाउनै छोडथ्यो र ?
जतिसुकै अँध्यारो भए पनि औंसीको रात
पूर्व लाली डाकेरै छोड्छ प्रभात ।
दागिएपछि अनेकोटमा च्याङ्बा लामाहरू
विश्वस्त थिए होलान् उनीहरू
कि थामिनेछन् बज्न सारङ्गी, मादल र हार्मोनियम
रुक्नेछन् थर्कन कलाकारका खुट्टामा पैजन र चापहरू
अब सक्किने छन् मान्छेका सपनाहरू
फेरि पड्कने छैनन् मुडभरामा सङ्गीता, नमुनाहरू
र आत्मसमर्पण हुनेछन् गोरखाहरू
बेरेर थाङ्ग्राले डोकोलाई
के बिर्सन्थ्यो होला र भाले बास्न ?
उभ्याएर जतिसुकै अग्लो बाँध, रोके पनि नबग्न
विद्युत बनेर बल्छ झलमल झिम्रुक झन् सधैँ सधैँ ।
दौडाएपछि किलो सेरा टू
निर्धारण गरेपछि टाउकाको मोल
निर्धक्क थिए होलान् उनीहरू
कि सकिनेछन् युवाका काँध, आत्मविश्वास र सौर्य
बिक्नेछन् अनन्तसम्म आफ्ना फरमानहरू
घोकाइनेछन् केवल महाराजहरूका इतिहास
र आत्मसमर्पण हुनेछन् मङ्गलसेन र पाल्पाहरू
छोपिदा आकाश बादलले, के घाम उदाउनै छोडथ्यो र ?
पारित गरेपनि जतिसुकै डरलाग्दा विधेयकहरू
इस्पात भएर ठडिन्छ झन् आरनमा निल्दै कोइलाहरू ।
सापटी बोकेर थेम्स पारीको सेतो दरबारको बुद्धि
निश्चिन्त थिए होलान् हिटी र सिंहदरबारहरू
तर समयलाई कोल्टे फेर्ने बनाए बरमझिया, सुखानीहरूले
बगिरहे सेती, राप्ती,
सुसेलिइरहे अरूण, तमोरहरू
ठडीइरहे सगरमाथा, शैलुङ र रामारोसनहरू
बने अनन्त कीर्तिमान, पिली, दाङ, सन्धिखर्कहरू
उठेर मुठ्ठी, कलम, ज्याबल, गोला, बम, बारुदहरू
मिलेर हली, गोठाला र रोपाराहरू, शिक्षक, पत्रकारहरू
बलिदानको अञ्जुलीमा थापेका छन् अलिकति सामल
पर्खंदै नयाँ बिहानको सुन्दर घाम ।
र ठीक यो बेला,
कृष्ण सेन, उमेश थापा र सेतु विकको सालिक छेउमा उभिएर
महको लेपनभित्र सजाइएको कलात्मक ऐजेरु बाँडिरहेको
वीरेन्द्र सभागृहको छलछाम हेर्दै आफन्तसँग प्रश्न गर्न मन छ
कि लगानी र प्रतिफलको हिसाबकिताब त दुरुस्त छ ?
र यही बेला कोर्चाबाङ्गको सहिद स्तंभ छोएर, माडीखोला हेर्दै
शंकाको सुइँलाई फनफनी घुमाउन मन छ
कि गन्तव्य उहिँ हो वा उतैउतै हो
बाटो उही हो वा उस्तैउस्तै हो ?
कतै उनीहरूबाट बुनिने षड्यन्त्रका नागबेलीमा पो परियो कि ?






























