अध्ययन र अनुभव थपिँदै जाँदा जीवनबोध र जगत्बोधको चित्र र चरित्र पनि बदलिँदै जाँदो रहेछ । समयक्रममा चेतनास्तर उकालिँदै जाँदा आफ्नै पूर्व रचनाका कमजोरीहरू आफैले देख्न थालिँदो रहेछ । आज म आजभन्दा चालिस वर्ष अघि आफैले लेखेको र २०४५ सालमा प्रकाशित ‘उम्रन्छन् आँसुका वृक्ष’ कविता सङ्ग्रहमा सङकलित आफ्नै कविताको समीक्षा गर्न बसेको छु । कविता यस्तो छ :
अभावको असार
पैसा छैन धेरै खर्च नमाग न सानी
मर्म बुझ् आँखाबाट नखसाल पानी
पानी मीठो झ्रनाको बोली मीठो तोते
बैँस आफै राम्रो हुन्छ किन चाहियो पोते !
लडीबुडी खेलौँजस्तो असारको हिलो
खेत रोप्न जान पर्यो नगर न ढिलो
सकेँभने पुर्याउँला हृदयको धोको
भकारीमा धान भए को बस्छ र भोको !
हाँसीमुख खान पाए मीठो हुन्छ पाती
रुखो शब्द कैल्यै पनि नबोलेको जाती
दुःख गरि उब्जाएको मकै आँटो पिठो
अर्कासित माग्नभन्दा यै छ खान मीठो !
डाली राम्रो चरी बसे बाली राम्रो फले
साँझ् राम्रो बत्ती बले गरो राम्रो खले
मान्छे राम्रो नमातेको भान्छे राम्रो दानी
मन मिले त्यसै राम्रो हाम्रो जिन्दगानी !
यो एकथर मान्छेद्वारा निकै रुचाइएको र अर्काथर मान्छेद्वारा निकै आलोचित कविता हो । यो कवितामा एउटा नाम नखुलेको पुरुष पात्र बोलेको सुनिन्छ । नाम खुलेकी तर कवितामा देखा नपरेकी महिला पात्र सानीलाई उक्त पुरुषले प्रेमपूर्वक सम्झइबुझइ गरिरहेको छ । महिला के बोलिन् भन्ने कुरा कविताले सोझ्ै बताउँदैन । पुरुषले दिएको प्रतिक्रियाबाट सजिलै अनुमान लगाउन सकिन्छ : उनले गहना किनिदिन अनुरोध गरेकी छिन् । कवितामा पोते गहनाहरूका प्रतीकका रूपमा आएको छ ।
एकातिर धेरै खर्च गर्न पैसा नभएको कुरा र अर्कातिर असारमा खेत रोप्न गई भकारीमा धान हुने कुराले यो निम्नमध्यमवर्गीय किसान परिवार हो भन्ने बुझ्न्छि । कविताको सिङ्गो परिवेशले यो कुनै गाउँको कुरा हो भन्ने थाहा पाइन्छ । नातासंवोधन कतै नखुलेको भए पनि कविताको भावभङ्गिमाले यिनीहरू पतिपत्नी भएको कुरा सजिलै बुझन सकिन्छ ।
‘मर्म बुझ् आँखाबाट नखसाल पानी’ भन्दै यो कविताले महिलालाई पुरुषको कृपामा बाँचेकी अबुझ् रुन्चे पात्रका रूपमा चित्रण गरेको छ । पुरुषसित पैसा नमागी उनले पोते लगाउन पनि पाउँदिनन् । उनको आफ्नै कमाई हुन्थ्यो भने यसरी माग्दिनथिन् । पुरुषलाई महिलासित पनि राम्रो व्यवहार गर्ने, मीठो बोल्ने र अभावमा पनि दुःखी नहुने सन्तोषी पात्रका रूपमा चित्रण गरेको छ । झ्ट्ट हेर्दा कविताले सङ्केत गरेको दाम्पत्य प्रेमले भरिपूर्ण छ । तर वास्तवमा यसले महिलालाई न्याय दिन सकेको छैन । लैङ्गिक हिसाबले उनलार्ई झ्न् कमजोर बनाउने कविताका रूपमा पनि चित्रण गर्न सकिन्छ । निरन्तर एकपक्षीय रूपमा प्राप्त सहानुभूतिले मान्छेलाई मनोवैज्ञानिक रूपले दुर्वल बनाउँछ । यहाँ पुरुष नै जान्नेसुन्ने र हर्ताकर्ता छ । अर्ती दिने काम फेरि पनि पुरुषकै भागमा परेको छ । कवितामा महिलाउपर दुर्वचन र दुर्व्यवहार कतै देखिँदैन र पनि स्वनिर्भर स्वाभिमानी मनोरचना निर्माण गर्ने दिशामा व्यवहारिक फड्को मार्न नसकेका कारण कविताले यथास्थितिको चक्करलाई छिचोलेर अगाडि बढ्न नसकेको तथ्य स्वीकार गर्नु पर्ने हुन्छ ।
महिला पुरुष दुवैले सँगै गएर खेत रोप्ने सन्दर्भले पति पत्नीका बीचमा शिरको स्वामी र पाउकी दासी ठान्ने सामन्ती समाजको व्यवहारलाई अस्वीकार गरेको छ । श्रममा समान आस्था हुनु प्रगतिशील पक्ष हो । असारको हिलोमा लडीबुडी खेल्न रमाइलो मान्नु कर्मशील किसान जीवनको निसान पनि हो । यो कविताको पुरुषको नजरमा पत्नी मर्यादित स्थानमा छिन् । यहाँ उनले पुरुषको सम्पूर्ण प्रेम र विश्वास प्राप्त गरेकी छिन् । पैसा नभएर मागेका चीज किन्न नसक्ने भएपछि सकिएन भन्नै पर्थ्यो । बढी बढी मागी भनेर अपशब्द बोलेर हृदयमा बेसरी चोट पर्ने गरि गाली गर्न पनि सकिन्थ्यो । उसले चित्त पटक्कै नदुखाउने र मर्म छ्याङ्ग बुझउने गरि बोलेको छ । सर्वज्ञताको अहंकारले भरिएर खुब जान्ने भएर कुनै अर्ती दिएको छैन । बरू प्रेमी हृदय खुलस्त भएर पोखिएको छ । आफ्नो अवस्थालाई प्रस्टै देखिनेगरि सम्मुखमा लगेर थपक्क राखिदिएको छ । यो नै यस कविताको प्रगतिशील पक्ष हो ।
यो कविताले वर्तमान समयको नयाँ यथार्थलाई बोक्न सक्तैन । समय बदलिएको छ । हरक्षेत्रमा नवजागरण आएको छ । थरथर काँप्दै दुई हात जोडेर जदौ भन्दै हिड्ने दलितहरू बन्दूक बोकेर हजारौँ वर्षसम्म दलिएको बदला लिन व्यग्र भई गृह त्यागेर युद्ध मैदानमा झ्रे । जीवनमा पहिलोचोटि मानव हुनुको महत्तम अनुभव गरे । दासी बनाइएर लुटिएका महिलाहरू पनि लुटेरा मालिकहरूलाई हाँक दिँदै त्यसै गरि रणमैदानमा उत्रे । अहिलेको समयले आर्थिक रूपले स्वनिर्भर स्वाभिमानी महिला पात्र माग गरेको छ । तसर्थ यो नयाँ युगको प्रतिनिधि कविता हुन सक्तैन । यो कविताले मुक्तिको मार्गचित्र कोर्दैन । फेरि पनि, खास विशेषताको समाजमा यो प्रगतिशील कविता नै हो, त्यस्तो समाज, जहाँ महिलासित मीठो बोल्नै हुँदैन, पति ‘हजूर’ भनिन्छ, पत्नी ‘तँ’ भनिन्छे, जहाँ पुरुषले रक्सीतासमा समय बिताउँछ र महिला दिनरात काममा जोतिन्छे, जहाँ कहिल्यै पनि मनको मेल हुँदैन ।
यसको भाषा सरल छ । शैली रोचक छ । मान्छेहरूले असाध्यै मन पराएर ध्यान दिएर पढ्दछन् र सुन्दछन् । त्यसरी पढिनु र सुनिनुको मूल कारण जीवनसित यसमा उठाइएको विषयसम्बन्धको व्यापकता र प्रस्तुतिको कलात्मकता नै हो । ‘सत्य यसो हो, नरोऊ’ भन्ने अर्थ दिनका निमित्त कविताले ‘मर्म बुझ् आँखाबाट नखसाल पानी’ भनेको छ । कवितामा रमरम श्रृङ्गारिकता र रागजन्य कटाक्षको पनि गन्ध पाइन्छ । ‘वैँस आफै राम्रो हुन्छ’ भन्नु त्यसैको परिणाम हो । यहाँ त्यही रागात्मक चेतनाले गर्दा केही विभ्रम पनि पैदा भएको छ । केही अनर्थ पनि लाग्न गएको छ । वैँस गहना नलाए पनि राम्रो हुन्छ भन्नुले बाल्यकाल र बुढेसकाल राम्रो हुन गहना चाहिन्छ त भन्ने प्रश्न उठाउन सक्ने ठाउँ छोडिदिएको छ । बैँस मात्र होइन बाल्य पनि आफै राम्रो हुन्छ । बुढेसलाई नराम्रै भनेर परिभाषित गर्न पनि मिल्दैन । त्यसका पनि केही विशिष्ट उपयोगी गुणहरू हुन्छन् । बाल्य, बैँस र बुढेस जीवनका अनिवार्य चरण हुन् । यी आ–आफ्ना स्थानमा सुन्दर छन् । यी कुनै पनि उपेक्षणीय छैनन् । आ–आफ्ना चरणका विशिष्ट गुणलाई विशिष्ट योग्यताका साथ उपयोग गरिनु पर्दछ ।
मन मिलेको दाम्पत्य नै सबभन्दा सुन्दर हुन्छ भन्ने सन्देशलाई पुष्टि गर्न लोकजीवनका अनुभूति र विम्बहरूलाई टिपेर लोकलयमै कविता रचिएको छ । चरी बसेको डाली, फलेको बाली, बत्ती बलेको साँझ्, खले गरो, नमातेको मान्छे र दानी भान्छेको सन्दर्भ तालमेलपूर्ण लयप्रवाहमा ढालिएको छ । यसैबाट एउटा मनमोहक सौन्दर्यको सृष्टि भएको छ । यो नै यसको सबभन्दा सबल पक्ष हो ।
प्रगतिवादी दृष्टिकोणबाट हेर्दा यी दुवै चरित्र यथास्थितिवादी हुन् । यी दुवै पात्र परिवर्तनका पक्षमा उभिन सकेका छैनन् । भए खाने, नभए भोकै बस्ने तर अर्कासित माग्न नजाने आशयको अभिव्यक्तिले पुरुष पात्रको आदर्शवादी स्वाभिमानलाई प्रकट गरेको छ । परिश्रम गरेर मानवोचित जीवन बाँच्न पाउने आफ्नो अधिकारप्रति सचेत देखिदैन ।
कठोर परिश्रम गर्दागर्दै पनि गुजाराका निमित्त धौ धौ हुने कमजोर आर्थिक अवस्थाको मूल कारण समाजको संरचनागत प्रणालीमा खोजिनुपर्नेमा विनाजिज्ञासा र विनाखोज जे मिल्छ त्यसैमा सन्तोष मान्ने पाठमै सीमित रहनु यसको दुर्बल पक्ष हो । युगीन फड्को मार्ने युगान्तकारी चेतको अभावमा समाधानप्रधान बन्न नसकेर समस्याप्रधानतामै रुमल्लिइरहेको यो कविता सारतः यथास्थितिवादी परम्पराकै मियोमा घुमिरहेको देखिन्छ ।





























