इजरायलतिरको यात्रामा रहेका मिसाइलहरूलाई
बाजागाजासहित उदात्तभावले बिदाइको हात हल्लाउने
हाम्रो जमानाका ती जब्बर मुटु र मस्तिष्कहरू
इतिहासको यस घडीमा वास्तवमै महान् छन् ।
इजरायलतिर सोझिएका ती मिसाइलहरूलाई
कसैले क्रूर इतिहास सम्झे, कसैले आफ्नो सपना ठाने
कतिले आफ्नै प्रतिवाद र प्रतिरोधी चेतको अनुभूति गरे
कोहीले दग्ध आफ्नो जीजिविषालाई शीतल पारे ।
हुन त लेफ्ट राइटको मान्छेको यो जिन्दगीमा
मुटु र मस्तिष्क पनि सँगसँगै लेफ्ट राइटमा छन्
भावुक मुटु र विवेकशील मस्तिष्क आ–आफ्नै दौडमा छन्
आशामा छन्– मुटुको शीतल छहरा, मस्तिष्कको विशाल सागर।
साम्राज्यवादी उद्दण्डताबाट आक्रान्त समकालीनतामा
वर्गबोध र वर्गसपनालाई सब्जीमन्डीमा निर्लज्ज बिक्री गर्ने
असली साम्राज्यवादी दलाल बन्ने होडबाजी पनि चलिरहेछ
केही थान मान्छे गोहीको आँसुको पोखरीमा निष्फिक्री पौडिरहेछन् ।






























