हिम्मतवाली आमा

हिम्मतवाली आमा

हामी १० सन्तानकी प्यारी आमा मनमायाँ गौतम बानियाँ हामीलाई मात्र होइन यो धर्तीबाट विदा भएको एक वर्ष पुगेको छ । ताप्लेजुङ्ग जिल्ला पेदाङ (हाल श्रीजङ्गा गाउँपालिका वडा नम्बर ५) मा वि.स २००३ साल मंसिर ३ गते बुवा मनकुमार गौतम र आमा रुपादेवी थापाको कोखबाट साइली छोरीको रुपमा जन्मनु भएकी हाम्री प्यारी आमा हामी माझ नरहेपनि हाम्रो सम्झनाको तरेलीमा सधैभरी रहिरहनु हुनेछ । १२ वर्षको कलिलो उमेरमा वि.स २०१४ फागुन ६ गते हाम्रो बुवा मानबहादुर बानियाँसँग विवाह गरेर आउनु भएकी आमाले जिन्दगीमा थुप्रै आरोह र अवरोहरु पार गर्नु भयो । पितृसत्ताले गाँजेको हाम्रो समाजमा आज भन्दा ६० वर्ष अगाडि नै संघर्षका ठूला ठूला पहाडहरु छिचोल्नु पर्यो ।पहिलो सन्तानको रुपमा जन्मिएको छोरालाई ८ दिनमै गुमाएपछि लगातार ८ वटी छोरीलाई जन्म दिनु भयो । छोरा नै हुनुपर्छ भन्ने चर्को सामाजिक दबाब खेप्दै अन्ततः२ छोरालाई जन्म दिनु भयो । निरन्तर छोरी जन्मदा समाज र परिवारबाटै अन्यायपूर्ण व्यवहार खेप्नु परेपनि सूजबुझ पूर्ण चेतनाका धनी हाम्रा आमा बुवा बिचल्लीत हुनु भएन बरु सबैलाई सकुसल हुर्काउदै नैतिकवान् ,परिश्रमी र सामाजिक हुन पे्ररित गर्नु भयो ।

हरेक सन्तानका लागि आफ्‌नी आमा प्रेरणाका स्रोत र हिम्मतवाली हुन्छिन् ।त्यस्तै हाम्री आमा पनि प्रेरणाकी खानी हुनुहुन्थ्यो । उहाँले छोराछोरीले चाहेको काम गर्न कहिले रोक्नु हुन्थेन । मेरो दाई आमाको जेठो छोराले २०५७ साल वैशाखमा निरंकुश सामन्तवादी राजतन्त्र अन्त्य गर्दै जनताको गणतन्त्र स्थापनाका निमित्त बन्दुक बोकेर तत्कालिन माओवादी जनयुद्धमा होमिने निर्णय लिनु भयो । बुवासहित परिवारका सदस्यहरुले दाजुको निर्णय मान्न तयारी नभए पनि अन्यायका विरुद्ध लड्छु भन्ने मेरा छोराको सहासलाई म रोक्न सकिन्दन भन्दै आफ्‌नो कलिलो १६ वर्षे छोरालाई आमाले विदा दिनु भयो । मेरो कलिलो मस्तिष्कमा त्यहिबेला देखिनै मेरी आमा हिम्मतवाली लाग्थ्यो । यस्तै धेरै घटनाहरु छन् मेरी आमाको आट मैले सानैमा हेर्न पाएको । गाउँघरमा पञ्चे र पुलिसको निकै दबदबा हुन्थ्यो त्यो बेला , नाताले मामा पर्ने एकजना पुलिसका हवल्दार थिए । उनी आफैलाई राजा समान ठान्थे, हाम्रो घर मान्छे आउजाउ गर्ने मुलबाटैमा पर्थ्यो ती हवल्दार मामा वर्षमा एकदुई पटक हाम्रो घर आउथे ।

हाम्रो घरमा त्यो बेला एउटा ठूलो भोटे कुकुर थियो नयाँ मान्छे देख्यो कि ठूलो आवाजले भुक्थ्यो तर मान्छे टोक्दैनथ्यो । कुकुरको आवाज ति मामालाई सह्यै भएन उनले आफ्‌नो बन्दुक निकालेर कुकुरलाई ताके । आमाले बन्दुक खोसेर भुईमा राख्दै भन्नु भयो भाई तिम्रो बर्दीको तागत त्यतिनै हो अर्काको घरको कुकुरलाई मार्ने ? सक्छौ भने मारेर देखाउ त । ति हवल्दार मामा निकै मुरमुराउदै यसको मुल्य चुकाउनु पर्ने जबाफ दिए तर आमालाई रक्तिभर पनि डर लागेन त्यो बेला देशमा संकटकाल थियो । यति मात्र होइन अन्यायको विरुद्ध एक्लै भएपनि आवाज उठाउन मेरी आमा अगाडि बढ्नु हुन्थ्यो । त्यो बेला कांग्रेस पार्टीका सदस्य एकजना लिम्बु थरका मानिस थिए उनी धेरैलाई अनादार गर्थे । हाम्रा बुबाआमाले त्यो बेला बारीमा कोदो फलाएर बेच्नु हुन्थ्यो । कोदो लिम्बुजातिलाई जाँड बनाउन आवश्यक पर्ने अन्न हो । दशै नजिकै आएको थियो आम्रो बुवाले कोदो बेचिसक्नु भएको थियो । ती मिचाहा स्वभावका लिम्बु आएर कोदो मागे बुवाले अन्तै बेचीसकेको बताउनु भयो । उनले किन मलाई नसोधेको मेरो पैसा चल्दैन भन्दै गाजीगलोज गर्न थाले । त्यो बेला आमाले कडा स्वरमा भन्नु‘भयो तिमी यहाँबाट जान्छौकी लखेट्नु पर्छ , छैन भन्न पनि नपाउने तिमी को हौँ’ । मैले आमाको आँट त्यो बेला पनि देखे त्यो मिचाह थपक्कै उठेर हिड्यो । आध्यत्मवादी दर्शनले लैस हाम्री आमा धर्ममा ठूलो विश्वाससाथ भक्ति गर्नु हुन्थ्यो तर उहाँका बानी व्यावहारहरु असल कम्युनिष्टका जस्तै थिए । उहाँ माले भुमिगत हुदा देखिनै कम्युनिष्ट समर्थक बन्नु भएको थियो । उहाँ जातिय विभेद,वर्गिय विभेद र लैङ्गिक विभेदको कट्टर विरोधी हुनुहुन्थ्यो । दलित माथिको अन्याय , गरिब माथिको अन्यय र महिला माथिको अन्याय उहाँले घोर विरोध गर्नुहुन्थ्यो । बुवा आमाले दलितलाई घरभित्र सहजै छिराउनु हुन्थ्यो । गाउँका दलितहरु आफै भित्र पस्न अस्विकार गर्दा पनि आमाले मान्छे एउटै हुन् तिमीले बनाएको कुडेमा उमालेको दुध हामीले खान हुन्छ तिमी किन बाहिर बस्नु पर्यो भन्दै भित्रै राख्नु हुन्थ्यो ।

भोकाएको मान्छेलाई भोजन ,तिर्खाको मान्छेलाई पानी र सुतेको मान्छेलाई निद्रा दिनु पर्छ भन्ने उहाँको मान्यता थियो । बाटोको घर छ खान नपाउने मान्छे आउँछन् परिवारका मान्छे भन्दा अन्य एकजना बढीलाई पुग्नेगरी खाना पकाउने उहाँको बानी थियो । गाउँघरमा मान्छेलाई बोलाएर दिने चलन हुन्छ । आमाले बाटो हिड्ने अधिकांशलाई बोलाएर पानी पिउन दिनुहून्थ्यो । सुतेको मान्छेको निद्रा पुगिन्जेल सुत्न दिउँसो पनि दिनुहुन्थ्यो र हामीलाई भन्नु हून्थ्यो ‘भोकाएकालाई भोजन दिनु,तिर्खाएको लाई पानी प्रदेशीलाई बास दिनु मन ज्ञान जानी ’ आमाले जनवादीगीतहरु गुन्गुनाउनु हुन्थ्यो । नारी अधिकारका ,दलित अधिकारका ,गरिब अधिकारका र दाइजो विरुद्धका छोटा मिठा गीत, उखान हामीलाई सानुछदा सिकाउनु हुन्थ्यो । आमा उमेरले पुरानै जवानाको मान्छे भएपनि दाइजोको प्रखर विरोधी हुनुहुन्थ्यो । उहाँ छोरीलाई दाइजो होइन अंश,वंश र काजक्रियाको अधिकार दिनु पर्छ भन्नु हुन्थ्यो । दाइजो दिने र छोरी नपढाउने हो भने हामीले जस्तै जुगौँ जुग सम्म छोरीले दुःख पाउछन् भन्ने मान्यता राख्नु हुन्थो । छोरीलाई पनि दाइजो नदिने र बुहारीबाट पनि दाइजोको आशा नराख्ने उहाँको प्रतिबद्धता थियो । असल कम्युनिष्टको जस्तो भावना भएकी हाम्री आमा मानवतावादी हुनुहुन्थो । गाउँका मात्र होइन बाटोमा हिड्ने समेत बोली नआउने , आखाँ नदेख्ने र शारिरीक तथा मानसिक रुपमा अपाङ्गता भएकाहरुलाई सकेको सहयोग जस्तोसुकै परिस्थतीमा पनि गर्नुहुन्थ्यो ।

आमाको अर्को असलपाटो बुहारीलाई पुरा अधिकार दिनु पर्छ भन्ने थियो । अहिले पनि बुहारीलाई घरभित्रको आर्थिक र व्यवहारिक अधिकार नदिने र आफु बाँचुन्जेल घरमा काम गर्न राखेको सहयोगी जस्तो मात्र व्यवहार गर्ने सासु ससुरालाई उहाँले खुलेर गलत भन्नु हुन्थ्यो । आमाले दाजुको विबाह भएपछि सहर्ष भाउजुलाई व्यवहार जिम्मा दिनु भएको थियो । आमाले आफ्ना आठै बहिनी छोरीलाई भन्नु हुन्थो म पछिका आमा भनेका भाउजु बुहारी हुन् मलाई जस्तै उनीहरुलाई पनि मायाँ गर्नु । आमाको छोरीलाई दिने अर्को अर्ति थियो बुवा आमालाई जस्तै सासु ससुरालाई मायाँ गर्नु , दिदि बहिनी जस्तै जेठानी ,देउरानी र नन्द आमाजुसँग मिल्नु गल्ती भए अगाडि भन्नु पछाडि कुरा काट्ने बानी कतै नगर्नु, जानेको काम गर्नु नजानेको काम सिक्न पछाडि नहट्नु ।

एकले अर्काको कुरा काट्ने मानिसको पनि आमा घोर विरोधी हुनुहूथ्यो । यताको कुरा उता र उताको कुरा यता गर्ने मान्छेलाई खुलेरै भन्नु हुन्थ्यो आफ्नो मानु खाएर अर्काको कुरा काट्ने मान्छेको काम छैन । गलत गरेको छ भने अगाडि भन होइन भने पछाडि कुरा नगर भनेर धेरैलाइ हपारेको मैले सुनेकी छु ।
जिन्दगीको लामो यात्रामा धेरै दुःख र थोरै मात्र सुख भोगेकी हाम्री आमाले धेरैवटा दिर्घरोगको सामना गर्नु प¥र्यो । गर्भवती तथा सुत्केरी अवस्थाका दुःख ,धेरैवटा सन्तानलाई हुर्काउदाका कष्ट लगायत कारणले आमाले तीस वर्ष भन्दा बढी औषधीको भरमा बाँचनुप¥यो ।उहाँलाई ,दम ,सुगर र ब्लडप्रेसर हाइ लगायत स्वास्थ्य समस्या थियो । पटक पटक अस्पताल भर्ना र आइसियुमा उपचार गर्दा पनि ७७ वर्ष सम्म मात्र बचाउन सकियो ।
तपाईले दिनु भएको प्रेरणा सदैब शिरोपर गर्ने प्रतिवद्धता, धेरैधरै सम्झना र मुटुभरी मायाँ सहित हार्दिक श्रद्धासुमन प्यारी आमा ।