छिमेकी र कुटनीतिक सम्बन्ध रहेका भारत र पाकिस्तानबीचको तनावले नेपालमा गंभिर असर गर्दैगएको देखिएको छ । गत अप्रिल २२ मा जम्मु–कश्मिरको पहलगाममा भएको हमलाबाट नेपालका सुदीप न्यौपानेसहित २६ जनाको मृत्युभएको घटनापछि भारत–पाकिस्तानबीच प्रतिबन्धको श्रृंखला चलेको छभने बीचबीचमा छिटफुटरुपमा गोली हानाहानसमेत हुनेगरेका समाचार बाहिर आएका छन् । दुबैतर्फ भिषण युद्धको तयारी भैरहेको भनिएपनि त्यस्तो घटना भएको पनि छैन र हुने संभावना पनि कम छ । यदि भारत र पाकिस्तानकाबीचमा युद्ध भएको खण्डमा त्यसको प्रत्यक्ष असर मुख्यत नेपाल र बंगलादेशमा पर्ने संकेतहरु देखिएका छन् । बंगलादेशले त्यसबाट बच्ने आवश्यक तयारी गरेको देखिएको छभने नेपालले खासै तयारी गरेको र सतर्कता अपनाएको देखिएको छैन । बरु भारतीय हस्तक्षेपभने बढेर गएको देखिएको छ । कश्मिरको पहलगाममा भएको हमला आफैमा सन्देहास्पद रहेको छ । किनकी सो घटनाको सामान्य छानविन र वार्ताको पहलसमेत नगरी भोलिपल्टै भारतले सिन्धुल जलसम्झौता निलम्बनगर्ने निर्णय गरेको थियोभने जबाफमा पाकिस्तानले पनि सिमला सम्झौता निलम्बनगर्ने निर्णय गरेको थियो । दुवै देशले एक अर्काका कुटनीतिक अधिकारीहरुलाई तत्काल फिर्ता बोलाएका थिएभने एकअर्काको आकाशमा उडानसमेत प्रतिबन्ध लगाएका थिए । हाल आएर भारतले पाकिस्तानबाट हुने आयातमा पूर्णरुपमा प्रतिबन्ध लगाएको देखिएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारीगरी पाकिस्तानबाट हुने प्रत्यक्ष÷अप्रत्यक्ष आयातमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको जानकारी दिइसकेको छ । पाकिस्तानमा उत्पादन भएर र भारततर्फ ल्याइँदै गरिएका सामानहरु बीच बाटोमै रोकिएका छन् । कतिसम्मभने भारतले पाकिस्तानसँग हुलाकबाट हुने चिठीको आदान–प्रदानमासमेत रोकलगाएको पाइएको छ । अन्तराष्ट्रिय खोजकर्ताहरुका अनुसार कश्मिरको पहलगाममा झण्डै आधाघण्टा हमला भइरहेको अवस्थामा त्यहाँ कुनै पुलिस वा सैनिकको उपस्थिति थिएन । जबकी भारतको केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ)को शिविर उक्त हमला भएको भनिएको स्थानबाट सात किलोमिटर मात्र पर थियो । त्यसैगरी सेनाको राष्ट्रिय राइफल्स (आरआर)को शिविर पाँच किलोमिटर पर थियो । जम्मु–कश्मीरमा भारतले कडा सुरक्षा प्रबन्ध गरेको भनिएको अवस्थामा त्यसदिन पहलगामको उक्त पर्यटनस्थल बैसरनमा सुरक्षा तैनाथी किन थिएन ? भन्ने प्रश्न पनि उठेको छ ।
अर्को आश्चर्यको बिषय के छभने हमलाको केही घण्टाभित्रै भारतीय सुरक्षाकर्मीहरुले आक्रमणकारीहरुको नाम तथा चित्र सार्वजनिक गरेका थिए । तर उनीहरुको गिरफ्तारीभने हालसम्म हुन सकिरहेको छैन । घटनाक्रमहरुलाई नियालेर हेर्दा सन् १९७१ मा पूर्वी पाकिस्तानको नामले चिनिने हालको बंगलादेशले इस्लामावादबाट स्वतन्त्रका लागि संघर्ष शुरुगरेको थियो । त्यतिबेला नौ महिनासम्म चलेको युद्धमा भारतले बंगाली विद्रोहीहरुलाई समर्थन गरेको थियो । जसको परिणामस्वरुप स्वतन्त्र बंगलादेशको जन्म भएको थियो । त्यसपछि ढाका र इस्लामावादबीच सन् २००१ देखि २००६ बीचको अवधिमा पुनः सुमधुर सम्बन्ध स्थापित भएको देखिन्छ । जतिबेला बेला बंगलादेशमा नेशनल पार्टीको गठबन्धन र पाकिस्तानमा जमात–ए–इस्लामीको गठबन्धन सत्तामा रहेका थिए । सन् २००९ बाट निरन्तर १५ वर्ष टिकेको शेख हसिनाको शासनकालमा फेरी सो अवस्था बदलिएको थियो । दिल्लीबाट बलियो साथ पाएकै कारण हसिनाले पाकिस्तानसँग दूरी बढाएको चर्चाहरु हुनेगरेका थिए । गतबर्ष बंगलादेशमा भएको सत्ता पलटपछि हसिनाले दिल्लीमा शरण पाएको अवस्था छभने फेरी ढाका र इस्लामावादका बीचमा निकटता बढेको देखिएको छ । यसैक्रममा गत जनवरीमा बंगलादेशको एक उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले पाकिस्तानको रहस्यमय भ्रमण समेत गरेको थियो । सो टोलीले पाकिस्तानी सेनाका प्रभावशाली प्रमुख जेनरल आसिम मुनीरसँग भेट गरेको थियो । त्यसपछि बंगलादेश र पाकिस्तानकाबीचमा सुरक्षा सहकार्य हुनलागेका विवरणहरु आइरहेका छन् । हसिनाले देश छोडेपछि दिल्ली र ढाकाबीचको सम्बन्धमा चिसोपना आएको छ । बंगलादेशले मानवता विरुद्धको अपराध, सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको आरोपमा मुद्धा चलाउन हसिनालाई सुपुर्दगीगर्न माग गरेपनि दिल्ली तयार देखिएको छैन । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले आफ्नोतर्फबाट तत्काल हमलागर्न सक्ने बताएपछि यसले दुई देशबीच सम्भावित युद्धको संकेत गरेको छ । तर भारत र पाकिस्तान दुबै युद्धमा अग्रसर हुन पनि सकिरहेका छैनन् ।
जम्मु कश्मीरको पहलगाममा भएको घटनाको दोषी भारतले पाकिस्तानलाई लगाएको छभने पाकिस्तानले अस्वीकर गर्दैआएको छ । भारत र पाकिस्तान दुबैतिर प्रभाव राख्दैआएको अमेरिका मौन छ । यदि युद्ध भयोभने अन्तराष्ट्रियरुपमा रुस भारतको र चीन पाकिस्तानको साथमा हुने संकेतहरु देखिएका छन् । तर रुस र चीन भारत–पाकिस्तान मामिलामा मुछिएर आपसमा भिड्ने मनस्थितिमा नरहेको देखिन्छ । दुवै देशको चाहना भारत र पाकिस्तानबीच युद्ध नहोस्भन्ने रहेको देखिएको छ । त्यसैगरी भारत र पाकिस्तानबीच बढ्दो तनावलाई लिएर अन्तर्राष्ट्रिय समुदायबाट चिन्ता र चासो ब्यक्त हुनथालेको छ । सबैले दुवै देशलाई कूटनीतिक माध्यमबाट समस्या समाधानगर्न आह्वान गरेका छन् । यसैक्रममा साउदी अरबले भारत र पाकिस्तानबीचको बढ्दो तनावप्रति चिन्ता व्यक्तगर्दै दुवै पक्षलाई संयमता अपनाउन र कूटनीतिक उपायमार्फत समस्याको समाधानगर्न आग्रह गरिसकेको छ । त्यसैगरी चीन, अमेरिका, टर्की र कतारलगायत पनि भारत र पाकिस्तानबीचको तनाव शान्तिपूर्ण रुपमा समाधान हुनुपर्ने पक्षमा रहेको देखिएको छ । सन् १९४७ को विभाजनपछि दुवै देशले चारवटा ठूला युद्ध लडिसकेका छन् । कश्मीरकै कारण सन् १९४७–४८ मा पहिलो भारत–पाकिस्तान युद्ध भएको थियो । त्यसपछि सन् १९४७–४८, १९६५, १९७१ र १९९९मा पनि युद्धहरु भएका थिए । पछिल्ला समाचार बिवरणहरुअनुसार भारत विश्वकै चौथो ठूलो सैन्य शक्ति मानिन्छ । जसको सैन्य बजेट ७४ अर्ब डलर रहेको छ । भारतसँग १४ लाख सक्रिय सैनिक रहेका छन् । भारतसँग दुई हजार २०० भन्दा धेरै लडाकु विमान (राफेल, सु–३०, तेजस), १५० भन्दा धेरै नौसैनिक जहाज (दुई विमान वाहकसहित) र चार हजार ५०० भन्दा धेरै ट्यांक रहेका छन् । पाकिस्तानको सैन्य बजेट १० अर्ब डलर र सातलाख सक्रिय सैनिक रहेको पाइन्छ । इस्लामवादसँग एक हजार ३०० भन्दा धेरै लडाकू विमान जे–१७, एफ–१६०, १०० भन्दा धेरै नौसैनिक जहाज र तीन हजार २०० भन्दा धेरै ट्यांक रहेका छन् । भारतको स्वदेशी रक्षा प्रणाली (तेजस, ब्रह्मोस मिसाइल) र अन्तर्राष्ट्रिय साझेदारी (राफेल, एस–४००० ले सैन्य शक्ति बलियो बनाएको अवस्था छ । पाकिस्तानको ड्रोन प्रविधि र मिसाइल प्रणाली शाहीन–३० उल्लेखनीय मानिन्छ । यस्तो अवस्थामा उक्त दुई देशकाबीचमा युद्ध हुनुभनेको दुबै देशको बिनाश हुनु हो । त्यसैले उनीहरुले तत्काल संयमता अपनाएर तत्काल वार्ताका माद्यमबाट समस्याको समाधानगर्नु र दुई देशबीचको जनजीवनलाई तत्काल त्रासको अवस्थाबाट मुक्तगर्नु जरुरी छ । कश्मिरको पहलगाममा भएको हमलालगत्तै काठमाडौंमा रहेको भारतीय दूतावासमा शोकसभाको आयोजना गरिएको थियोभने पाकिस्तानी दूतावासमा बिरोध प्रदर्शन भएका थिए । त्यसपछि दिल्ली र काठमाडौंकाबीचमा बिभिन्न पार्टीका नेता र सुरक्षा अधिकारीहरुको आवत–जावत बढेको देखिएको छ । यहाँ भैरहेका बिभिन्न राजनीतिक समूह र पेशागत संघसंगठनहरुका आन्दोलन धमाधम किनारा लागेका छन् । नेपालको भारतीय सीमामा दुबैतर्फबाट सुरक्षा तैनाथीहरु बढाइएको छ । नेपालमा नेकां र एमालेजस्ता दुई ठूला पार्टीसहितको सरकार छ । जसलाई बेदखल गराउन बिभिन्न कोणबाट प्रयासहरु भैरहेका छन् । गत शुक्रबार नेपालको संसदमा पेश गरिएको सरकारको नीति तथा कार्यक्रम कामचलाउ खालको देखिएको छ ।
जसलेगर्दा आगामी आब ०८२÷०८३ को बजेट पनि प्रभावित हुने देखिन्छ । जम्मु कश्मीर राज्यको पहलगाममा भएको हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा निगरानी पनि बढाइएको छ । जहाँ सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त गस्तीगर्नुकासाथै सीमा क्षेत्र भएर आवत–जावतगर्ने मानिसलाई जाँच गरेरमात्र आवत–जावतगर्न दिएको छ । अर्कातिर भारतले नेपाली भूमीको अतिक्रमणलाई पनि बढाएर लगेको देखिएको छ । दार्चुलाको महाकाली नगरपालिकाको महाकाली नदी किनारमा भारतले तटबन्धको निर्माण गरिरहेको समाचार बाहिर आएको छ । जसकाबारेमा स्थानीयले परराष्ट्र मन्त्रालयमा जानकारी गराए पनि नेपालले कुनै प्रतिवाद गरेको देखिएको छैन । यसअघि भारतको विदेश मन्त्रालयले नेपालको लिपुलेकबाटै भारतीय कैलाश मानसरोवर यात्राको घोषणा गरेको थियो । भारतले कैलाश मानसरोवर यात्राको लागि नेपालको लिपुलेकहुँदै जाने बाटो प्रयोगगर्ने बताइएको छ । लिपुलेक नेपालको हो तर भारतले यो बाटो प्रयोगगर्न नेपालसँग अनुमति लिएको छैन । नेपालका शासकहरुसमेत त्यसबारे बेखबर रहेका छन् । यसरी पछिल्लो समयमा भारतले पाकिस्तानसँग जुन प्रशंग उठाएर यस क्षेत्रमा त्रासको अवस्था सिर्जना गरेको छ, त्यो आफैमा प्रायोजित रहेको देखिएको छ । त्यसैले नेपालजस्तो मुलुकले पहिलो त दुबै देशलाई तत्काल वार्ताबाट समस्याको समाधानगर्न दबाव दिनु पर्छ भने दोश्रो आफ्नो मुलुकमा आउनसक्ने खतराप्रति सावधानी अपनाउनु पर्छ । अन्यथा ‘छट्टु स्यालको कथा’ भनेजस्तो पाकिस्तानतर्फ सबैको ध्यान आकर्षित गरेर भारतबाट नेपालमा घटना हुनसक्ने संकेतहरु देखिएका छन् । यो नेपालका लागि ज्यादै खतर्नाक र विचारणीय पक्ष हो ।