एउटा अप्रिय साँझ

एउटा अप्रिय साँझ

कविता

कसले मुर्छा पर्नेगरी
काउकुती लगाउँदै छ यो देशको
संसदमा ?

बाहिर सडकसम्म
हाँसोको एकोहोरो फोहोरा
आइरहेको छ
संसदघरबाट

र, संसद परिसरका
रुखहरुबाट
एक्कासि तर्सिएका चराहरु
आफ्नो बासस्थान छाडेर
उडिरहेका छन्
नयाँ बानेश्वरको
आकाशमा

साँझमा
घरभित्र उठिरहेको लयहीन अट्टहास
र, चराहरुले बासस्थान छाडेर
हिँडेको समय
दुवै अप्रिय हुन्छन्

गाउँमा बुज्रुकहरु भन्छन् ।