१) तपाईको जीवनमा कुन चाहि ंत्यस्तो घटना थियो जसले तपाइँलाई कम्युनिस्ट आन्दोलन तर्फ आकर्षित ग¥यो ?
सामान्य देखिने तर महत्वपूर्ण प्रश्न गर्नु भयो । म २०२६ सालमा माध्यमिक तहको अध्ययनका लागि किहुँबाट गाउँ फर्कोदय मा.वि. ढोर फिर्दी गएँ । त्यतिबेला विद्यालयको पारिबाट चीन सरकारको सहयोगमा पृथ्वी राजमार्ग निर्माण हुँदै थियो । चीनमा कम्युनिस्ट व्यवस्था छ, त्यहाँ मानिस मानिसका बीचमा त्यस्तो कुनै विभेद र असमानता हुँदैन भन्ने मैले सुनेको थिएँ । हामी विद्यार्थीहरु विदाको बेला चिनीया क्याम्प र सडक निर्माण स्थलतिर जान्थ्यौं । मैले सुने जस्तै त्यहाँ देखिने चिनीयाँहरुका बीचमा त्यस्तो कुनै विभेद र असमानता देखिन्थेन । कुन इन्जिनियर हो, कुन ठेकेदार हो र कुन श्रमिक छुट्याउनै नसकिने । सबैले आ–आफ्नो काम गरेका छन्, एकले अर्कोलाई सम्मान गरेका छन् । सबैको लवाई खवाई पनि उस्तै छ । सबैले मिलेर आ–आफ्नो काम गरेका छन् । ठुलो र सानो भन्ने भेदभाव छैन । मलाई राजनीतिक व्यवस्था यस्तो भए पो देश बन्छ भन्ने प¥यो । अरु पनि कारणहरु होलान्, तर लाग्छ त्यो विशिष्ट परिवेशले मलाई कम्युनिस्ट आन्दोलन तर्फ मोड्यो ।
२) यहाँको शिक्षण अनुभव पनि छ । तपाई कहिलेदेखि कहिलेसम्म शिक्षक बन्नु भयो ? शिक्षक आन्दोलनमा पनि सहभागी हुनु भयो कि ?
म तीन पटक शिक्षण पेशामा जोडिएँ । पहिलो, एस. एल. सी उत्तीर्ण भएपछि २०२९ साल भदौदेखि करिब दश महिना, दोस्रो २०३२ सालमा प्रमाणपत्र तह उत्तीर्ण भए पछि करिब एक वर्ष र तेस्रो, स्नातक तह उत्तीर्ण भए पछि करिब ६ वर्ष । यसरी सबै मिलाएर करिब आठ वर्ष मैले शिक्षक पेशामा बिताएँ । मैले तीनै पटक अध्यापन गरेको मेरै गाउँ किहुँको एउटै विद्यालय हो, पहिलो पटक सिद्धार्थ नि.मा.वि. र दोस्रो र तेस्रो पटक सिद्धार्थ मा.वि. मा ।
शिक्षक आन्दोलनमा सहभागी भएँ, पटक पटक गिरफ्तारीमा पनि परियो । तर शिक्षक सङ्गठनको कुनै पनि तहको नेतृत्वमा रहिन ।
३) कम्युनिस्ट पार्टीको सदस्यता कहिले प्राप्त गर्नु भयो ?
मेरो पार्टी सदस्यको उमेदवारी कहिले स्वीकृत भयो त्यो मलाई थाहा भएन । तर मैले पार्टी सदस्यका लागि निवेदन दिएको २०२९ साल भदौ २० गते हो भन्ने लाग्छ । म र त्यही विद्यालयमा पढाउने अर्का शिक्षक अशोक लंसालले एकै दिन पार्टी सदस्यताका लागि निवेदन दिएका थियौं । हामीलाई सदस्यता फारम भराउने त्यही विद्यालयका शिक्षक चन्द्र कुमार वाग्ले हुनुहुन्थ्यो । उहाँले हामीलाई कमरेड पुष्पलालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको सदस्यता फारम भराउनु भएको थियो । यसरी मेरो कम्युनिस्ट आन्दोलनमा प्रवेश तत्कालीन पुष्पलाल समूहबाट भएको हो ।
गाउँमा रहँदाको एक वर्ष मैले पार्टी सम्पर्कमा रहेर काम गरेँ । तर २०३० जेठमा काठमाण्डौ अध्ययन गर्न गएपछि मेरो पार्टी सम्पर्क टुट्यो । २०३२ सालमा गाउँमा फर्केर अर्को एक वर्ष शिक्षण पेशामा रहँदा पनि मसँग पार्टी सम्पर्क भएन । २०३३ सालमा म अध्ययनको लागि कलकत्ता गएँ । २०३८ साल साउनमा त्यहाँबाट स्नातक तह सकेर नेपाल आएपछिको केही खुला राजनीतिक परिस्थितिमा मलाई पार्टीका कार्यक्रमहरुमा जोडिन केही सहज भयो । मेरो राजनीतिक निकटता तात्कालीन चौथो महाधिवेशन तिर हुन गयो । पुनः गाउँमा गएर शिक्षण पेशामा जोडिए पछि २०३८ सालको अन्त्य तिर अंशकालीन कार्यकर्ताको हिसाबले तनहुँको जिल्ला समिति सदस्यको हैसियतले ने.क.पा. (चौथो महाधिवेशनमा) जोडिएँ । यसरी कम्युनिस्ट पार्टीको सदस्य भएको करिब नौ वर्षपछि मात्र मैलै पार्टीमा मूर्त जिम्मेवारी पाएको हुँ ।
४) २०४० को गोरखपुरमा सम्पन्न पार्टीको तेस्रो राष्ट्रिय सम्मेलनलाई कसरी स्मरण गर्नु हुन्छ ?
२०४० को गोरखपुरमा सम्पन्न पार्टीको तेस्रो राष्ट्रिय सम्मेलन म सहभागी भएको राष्ट्रिय तहको पहिलो कार्यक्रम थियो । म त्यो कार्यक्रममा पर्यवेक्षकको हैसियतमा सहभागी भएको थिएँ । केन्द्रीय तहका नेताहरुको बहस सुन्ने, त्यसबाट प्रशिक्षित हुने र नेताहरुलाई प्रत्यक्ष देख्ने उत्सुकता सहित म सम्मेलनमा गएको थिएँ । त्यो स्तरको कार्यक्रममा सहभागी हुन पाउनु नै मेरा लागि ठुलो अवसर थियो । त्यो सम्मेलनबाट मैले राजनीतिक रुपमा निकै लाभान्वित भएको महसुस गरें ।
तर, उक्त सम्मेलनका मुख्यतः तीनओटा कुराले मलाई केही झकझक्यायो । एक, पार्टी अनुुशासनको कार्वाहीमा परेका मोहनविक्रम सिंहलाई सम्मेलनमा उपस्थित गराउनु मलाई राम्रो लागेन । दुई, आन्तरिक र वाह्य दुवै अन्तर्विरोधलाई नेपाली समाजको प्रधान अन्तर्विरोध मान्ने त्यतिबेला पार्टीको विश्लेषण थियो । त्यो विश्लेषण मलाई सही लागेको थिएन । वाह्य दुश्मनले प्रत्यक्ष आक्रमण नगरेको अवस्थामा आन्तरिक अन्तर्विरोध नै प्रधान हुन्छ भन्ने त्यति बेला अल्पमतमा परेका कमरेडहरुको विश्लेषण नै सही हो भन्नेमा म थिएँ । तीन, जुन मुद्दाहरुका कारण पार्टीमा दुईलाइन सङ्घर्ष चर्किएको थियो ती एउटै पार्टीमा रहेर बहस छलफल गर्दै अगाडि जान सकिने खालका थिए । तर, विडम्बना त्यसो भएन । पार्टीमा फुट भयो । मलाई त्यो फुट आवश्यक थिएन, गलत भयो भन्ने लागेको थियो ।
भक्तपुरबाट सम्मेलनमा प्रतिनिधित्व गर्नु भएका एकजना कमरेडले नेताहरु यसरी झगडा गर्दारहेछन् र पो नेपालमा क्रान्ति हुँदो रहेन छ भनेर धुरुधुरु रुँदै आफ्नो अभिव्यक्ति राखेको त्यो दृश्य मेरो स्मरणमा अहिले पनि ताजै छ । जे होस्, गोरखपुर सम्मेलनबाट पार्टीको दुईलाइन सङ्घर्ष कति निर्मम र पेचिलो हुन्छ भन्ने प्रत्यक्ष अनुभव लिएर क्रान्तिकारी उर्जा सहित म आफ्नो कर्मथलोमा फर्र्किएँ ।
५) नेकपा (मशाल) को पाँचौ महाधिवेशनलाई स्मरण गर्नु पर्दा के भन्नु हुन्छ ?
गोरखपुर सम्मेलन भएको करिब डेढवर्ष पछि २०४१ साल मंसिरमा नेकपा (मशाल)को पाचौं महाधिवेशन आयोजना गरिएको थियो । यसमा पनि म सहभागी थिएँ । मलाई लाग्छ त्यतिबेला पनि मेरो हैसियत पर्यवेक्षककै रुपमा थियो । प्रतिनिधि हुनु वा पर्यवेक्षक त्यो मेरा लागि ठुलो कुरा थिएन । महाधिवेशनमा सहभागी हुन पाउनुलाई नै मैले एउटा ठुलो अवसरका रुपमा लिएको थिएँ ।
यो महाधिवेशनको केन्द्रीय प्रश्न पार्टीको काम अगाडि बढ्न नसक्नुको प्रमुख कारण के हो भन्ने थियो । यस विषयमा केन्द्रित भई मुख्यतः दुई दस्तावेजहरु आएका थिए । मोहन विक्रम सहितको अल्पमत पक्षले प्रस्तुत गरेको दस्तावेजले पार्टीका बहुमत नेताहरुमा विद्यमान मध्यपन्थी कमजोरीलाई यसको प्रमुख कारण बताइएको थियो भने क. किरण सहितको बहुमत पक्षले प्रस्तुत गरेको दस्तावेजमा पार्टीको मूल नेतृत्वले आफ्नो गल्तीको ढाकछोप गर्न हामी माथि मध्यपन्थी कमजोरीको आरोप लगाएको हो भन्ने थियो । यी दुई दस्तावेजका पृष्ठभूमिमा विचारधारात्मक तथा राजनीतिक प्रश्न अवश्य जोडिएका थिए, तर ती खुलेर सतहमा आइसकेका थिएनन् । बहस विचारधारात्मक तथा राजनीतिक कार्यदिशामाथि भन्दा पनि बढी विगतको समीक्षा अर्थात् मध्यपन्थी कमजोरी कि गल्तीको ढाकछोप भन्नेमा केन्द्रित भयो । यस अर्थमा महाधिवेशन सारतः समीक्षा बैठक जस्तो भयो ।
महाधिवेशनमा नेपाली क्रान्तिको सामरिक कार्यदिशामाथि पनि बहस भयो । तर यसले त्यसको मूर्त खाका कोर्न सकेन । चौथो महाधिवेशनले निर्धारण गरेको देशभक्त तथा जनतान्त्रिक शक्तिहरुको सरकारलाई विधिवत रुपमा खारेज गरी सत्ता जनतामा हस्तान्तरणको कार्यनीति अगाडि सा¥यो । तर त्यो कार्यनीति पनि अमूर्त नै रह्यो । सत्ता जनतामा हस्तान्तरण गर्ने ठोस विधि र योजना महाधिवेशनले पहिल्याउन सकेन । विचारधारात्मक तथा राजनीतिक विषयलाई केन्द्रमा राखेर दुई–लाइन–सङ्घर्र्ष विकसित गर्न नसक्नु पाचौ महाधिवेशनको सीमा थियो । राजनीतिक कार्यदिशामा कुनै विमति नदेखिएको पार्टीमा अन्य समस्याका कारण फुट हुन जानु स्वाभाविक र आवश्यक दुवै थिएन ।
अल्पमतको नेतृत्व मोहन विक्रम सिंहमा रहेका विचारधारात्मक तथा राजनीतिक कमजोरीको चिरफार तत्कालीन नेकपा (मशाल)को २०४२ सालमा आयोजित विस्तारित वैठकद्वारा पारित अराजकतावादी व्यक्तिवाद दक्षिणपन्थी अवसरवादको नेपाली आयाम नामक दस्तावेजले गरेको छ । उक्त दस्तावेजमा उठाइएका विषयलाई लिएर पाँचौँ महाधिवेशनकै बेला बहस हुन पाएको भए शायद पार्टीमा फुट हुँदैनथ्यो र भए पनि त्यो फुट विचारधात्मक तथा राजनीतिक आधारमा हुन्थ्यो । फुटको आधार मुख्यतः भावनात्मक हुन गयो, तसर्थ त्यो फुट गलत थियो ।
६) २०४७ मा गठन भएको नेकपा (एकताकेन्द्र) मा तपाइँको साङ्गठनिक जिम्मेवारी के थियो ?
तत्कालीन नेकपा (मशाल), नेकपा (चौम), सर्वहारावादी श्रमिक सङ्गठन र विद्रोही (मसाल) का बीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र) निर्माण हुँदा मेरो जिम्मेवारी तनहुँको जिल्ला समितिमा सचिवालय सदस्यको हैसियतमा थियो । पछि २०४८ साल कार्तिकमा सम्पन्न जिल्ला सम्मेलनमा म जिल्ला समिति तनहुँको सेक्रेटरीमा निर्वाचित भएँ ।
७) ऐतिहासिक जनयुद्धको समयमा यहाँको कार्यक्षेत्र कहाँ कहाँ थिए ? जनयुद्धको बेलाको भुल्न नसकिने महत्वपूर्ण घटना ?
जनयुद्धको थालनीका बेला मेरो जिम्मेवारी तनहुँ जिल्लामै थियो । तनहुँ जिल्लामा जनयुद्धको थालनीका योजनाहरु मेरै नेतृत्वमा तयार पारिएका थिए । जनयुद्धको निरन्तरताको करिब डेढ वर्ष म तनहुँ जिल्लामै रहेँ । २०५४ साल भदौ पछि मलाई पार्टीले क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) अन्तरगत अन्तर्राष्ट्रिय काममा खटायो । यस पछिका मेरा करिब ९ वर्ष अन्तर्राष्ट्रिय काममै बिते । म २०६३ सालमा मात्र देशमा फर्किएँ । म नेपालको जनयुद्धबारे विभिन्न देशहरुमा गएर प्रचार प्रसार गर्ने, विचारधारात्मक तथा राजनीतिक बहस तथा छलफल गर्ने जस्ता काममा सहभागी हुन्थेँ । यसले मलाई अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनबारे ज्ञान हासिल गर्न निकै मदत ग¥यो । तर अर्कोतिर, देशभित्र हुने केही राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सहभागी हुन आउँदा र फर्किदा हुने बाहेक जनयुद्धका आँधिमय आठ वर्षको प्रत्यक्ष जमिनी अनुभव गर्न भने मैले पाइन ।
जनयुद्ध उत्कर्ष तिर गइरहेको बेला हाम्रो ५ जनाको पुरै परिवार पूर्णकालीन रुपमा क्रियाशील थियो । २०५५ देखि नै मेरो र श्रीमतिको जिम्मेवारी देश बाहिर थियो । छोरी जनमुक्ति सेनामा र छोराहरु विद्यार्थी मोर्चामा क्रियाशील थिए । ०६१ सालमा पार्टीसँग समन्वय गरेर हामी चुनवाङ बैठकको समयमा नेपाल आउने र छोराछोरीहरु पनि चुनवाङ नै आएर पारिवारिक भेटघाट गर्ने भन्ने योजना बनाइयो । सो अनुसार हामी पाँचै जना चुनवाङमा भेट भयौं । बैठक अवधिभर हामी सँगै बस्यौं । बैठक सकिए पछि हामी ५ जना, नेतृत्व तहका अन्य ४ जना र सुरक्षामा खटिएका जनमुक्ति सेनाका कमरेडहरु गरी करिब १५ जनाको समुह आ–आफ्नो कार्यक्षेत्र तर्फ फर्कनका लागि बाहिर निस्कियौं । दुई दिनको हिँडाइ पछि हामीले रोल्पाको एउटा गाउँमा सेल्टर लिएका थियौं । विहान सबेरै खाना खाएर हिंडने योजना थियो । केहीले खाना खाँदै थिए, केहीले खाइसकेका थिए । त्यत्तिनै बेला ५ मिनेटको दुरीमा करिब ५० जना सेनाको जत्था हामी भएको गाउँतिर आइरहेको सुचना आयो । सुरक्षामा खटिएका कमाण्डरको आदेश अनुसार हामी त्यहाँबाट तल खोल्सा तर्फ झरेर जंगल तिर उकालो लाग्यौं र डांडाको थाप्लोमा गएर बस्यौं । त्यहाँबाट पारी हेर्दा त्यो गाउँमा सेनाले घेरा हालेको छर्लङ्ग देखिन्थ्यो ।
त्यति नै बेला तीनओटा हेलिकप्टर आएर हामी बसेको डाँडाको तीनतिर बसे । तीन ओटा हेलिकप्टरमा आएको फोर्स र पारी आएको ५० जना सेनाको जत्थासँग भिडन्त गरेर तिनलाई परास्त गर्ने सैन्य सामथ्र्य हामीसँग थिएन । हामी त्यहाँबाट भाग्न पनि सक्दैनथ्यौ । एक आपसमा मुखामुख गरेर समय विताउनु बाहेक हामीसँग अर्को विकल्प थिएन । त्यहाँ उपस्थित सबै नेपाली नयाँ जनवादी क्रान्तिका सहिद हुने भयौं भन्नेमा ढुक्क देखिन्थे ।
हामी करिब दिनभरि त्यही डाँडोमा वितायौं । तीन ओटै हेलिकप्टर र पारी आएको सेना पनि फर्केको सुचना आयो । ती हेलिकप्टर किन त्यहाँ ओर्लिए र के गरेर फर्के त्यसको जानकारी भएन । झिसमिसे भए पछि कमान्डरले हामीलाई अगाडि नबढ्ने र पछाडि फर्केर अर्को गाउँमा सेल्टर लिने योजना सुनाए । हामी सोही अनुसार अर्को गाउँमा गई दुई दिनसम्म आराम गरी बस्यौं र तेस्रो दिन अगाडि बढ्यौं । जनयुद्धका क्रममा भएको यो घटना मेरो मानसपटलमा आज पनि ताजै छ ।
८) एनेकपा माओवादीबाट विद्रोह गर्नुको खास कारण के थियो ?
नेपालमा जनयुद्ध तीव्र गतिमा विकसित हुँदै थियो । साम्राज्यवादीहरुले समेत नेपालका माओवादीले ८० प्रतिशत ग्रामीण भूभाग कब्जा गरेको कुरा स्वीकार गरेका थिए । नेपालको जनयुद्ध साम्राज्यवादीहरुका लागि एउटा गंभीर विचारधारात्मक तथा राजनीतिक चुनौती र विश्व सर्वहारा वर्ग तथा उत्पीडित जनताका लागि आशा र भरोसाको केन्द्र बन्दै गएको थियो । यो स्थितिमा क्रान्तिका संभावना र चुनौती दुवै बढेर गएका थिए । रिमद्वारा प्रकाशित अ वोल्र्ड टु विन नामक अन्तर्राष्ट्रिय म्यागाजिनमा “हिमालयतिर हेर नयाँ संसारको जन्म हुँदैछ” भन्ने लेख प्रकाशित भएको थियो । नेपाली जनयुद्ध एउटा अन्तर्राष्ट्रिय विषय बनेको थियो ।
यसरी क्रान्तिका संभावना र चुनौती दुवै बढेर गएको विशिष्ट सन्दर्भमा पार्टी नेतृत्वले कार्यदिशालाई थप विकसित गरी क्रान्तिलाई अगाडि बढाउन पहल गर्नु पर्दथ्यो । तर, नेतृत्वले त्यो हिम्मत गर्न सकेन, राष्ट्रिय आत्मसमर्पण र गद्दारीको बाटो पक्रियो । सशस्त्र जनविदोहको कार्यदिशा लिएर शहर पसेको पार्टीलाई मूल नेतृत्वले क्रान्तिलाई अन्ततः लोकतान्त्रिक गणतन्त्रको संविधान लेखेर संसदवादमा विसर्जन गराउने निर्णय गरेपछि क्रान्ति, क्रान्तिकारी विचार र क्रान्तिकारी राजनीतिको रक्षाको लागि विद्रोह नै एकमात्र विकल्प रह्यो । यसरी एनेकपा (माओवादी) बाट विद्रोह गरी नेकपा–माओवादीको निर्माण क्रान्ति र क्रान्तिकारी सिद्धान्तको रक्षाका लागि गरिएको सही, अनिवार्य र आवश्यक निर्णय थियो ।
९) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनले पारित गरेको कार्यदिशाबारे सङ्क्षिप्तमा बताउनु पर्दा के भन्नु हुन्छ ?
क्रान्तिको कार्यदिशा भनेको समाजमा विद्यमान अन्तर्विरोधहरुलाई समाधान गर्नेगरी निर्धारण गरिएका कार्यक्रम, रणनीति, कार्यनीति र योजनाहरुको योग हो । यो देशको अर्थ–सामाजिक अवस्थामा निर्भर गर्दछ । हाम्रो देश अर्ध–सामन्ती, अर्ध–औपनिवेशिक विशेषता सहित नव–औपनिवेशिक अवस्थामा छ । नेपाली समाजको प्रधान अन्तर्विरोध दलाल, नोकरशाही पुँजीपति तथा सामन्त वर्गीय राज्यसत्ता र उत्पीडित वर्ग, लिङ्ग, जाति तथा क्षेत्रका जनताका बीचको अन्तर्विरोध हो र यसको समाधान नयाँ जनवादी क्रान्तिले गर्दछ । तर, नयाँ जनवाद कुनै स्थायी चरण होइन । त्यसकारण पार्टीको हालै सम्पन्न राष्ट्रिय एकता महाधिवेशनले नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गरी वैज्ञानिक समाजवाद नेपाली क्रान्तिको राजनीतिक कार्यदिशा हो भनेको छ ।
साम्राज्यवाद र सर्वहारा क्रान्तिको आजको युगमा क्रान्ति सम्पन्न गर्नका लागि बलप्रयोग अनिवार्य छ । पार्टीले जनसङ्घर्ष, प्रतिरोध सङ्घर्ष र सशस्त्र जनविद्रोहलाई क्रान्तिको सामरिक कार्यदिशा बताएको छ । बल प्रयोगको यो श्रृङ्खला मार्फत् नयाँ जनवादी क्रान्तिको खुड्किलो पारगरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्ने हाम्रो पार्टीको समग्र कार्यदिशा हो ।
१०) विज्ञान र प्रविधि सम्बन्धमा माक्र्सवादी दृष्टिकोण के हो ? पछिल्लो अवधिमा विकास भइरहेको विज्ञान र प्रविधिलाई कम्युनिस्ट आन्दोलनको पक्षमा कसरी प्रयोग गर्ने ?
भैतिक जगतको व्यवस्थित अध्ययन, अवलोकन, प्रयोग र मापनमा आधारित रहेर तथ्यहरुको वर्णन गर्ने नियमहरुको संगालो नै विज्ञान हो । मानव श्रमलाई सहज बनाउन विज्ञानका तिनै नियमलाई व्यवहारमा गरिने प्रयोगलाई प्रविधि भनिन्छ । यसरी प्रविधिमा विज्ञान हुन्छ, तर प्रविधि आफैमा विज्ञान होइन, विज्ञानको प्रयोग मात्र हो । यही नै विज्ञान तथा प्रविधिलाई हेर्ने माक्र्सवादी दृष्टिकोण हो ।
प्रकृति विज्ञान, त्यसमा पनि मुख्यतः भौतिक विज्ञानले माक्र्सवादी द्वन्द्ववादको सच्चाइलाई पुष्टि गर्दै आएको छ । त्यसकारण प्रतिक्रियावादीहरुले भौतिक विज्ञानका नियमलाई अपव्याख्या गरेर त्यसलाई आफ्नो अनुकूल प्रयोग गर्ने कोशिस गर्दै आएका छन् । उनीहरुले इलेक्ट्रोन पत्ता लागेपछि पदार्थ नै लोपभयो भनेर भौतिकवादी दर्शनमाथि नै आक्रमण गरे । लेनिनले यसको खण्डन मात्र गर्नुभएन, इलेक्ट्रोनको खोजले द्वन्द्वात्मक भौतिकवादको सच्चाइलाई थप पुष्टि गरेको कुरा प्रमाणित गर्नुभयो । पछिल्लो चरणमा क्वान्टम यान्त्रिकीको विकासले द्वन्द्ववादका नियमहरुलाई सही प्रमाणित गरेको छ । तर प्रतिक्रियावादीहरुले यसको पनि अपव्याखा गरिरहेका छन् । हामी कम्युनिस्टहरुले मुख्यतः भौतिक विज्ञानको विकासले माक्र्सवादलाई कसरी समृद्ध गर्दैआएको छ भन्ने अध्ययनतर्फ जोड लगाउनु पर्दछ र प्रतिक्रियावादीहरुले विज्ञानको विकासलाई अपव्याख्या गरेर आफ्नो स्वार्थ पुरागर्ने हर्कतलाई पराजित गर्नु पर्दछ ।
पछिल्लो चरणमा प्रविधिको क्षेत्रमा अभूतपूर्व विकास भएको छ । मानिसको प्रत्यक्ष श्रम बिना नै बजारमा माल उत्पादन हुन थालेका छन् । यसलाई विभिन्न रंगका अवसरवादीहरुले प्रमुख उत्पादक शक्ति प्रविधि भएको, सर्वहारा वर्ग लोपहुँदै गएको र माक्र्सको अतिरिक्त मूल्यको सिद्धान्त फेल भएको बताएर माक्र्सवाद माथि नै धावा बोलिरहेका छन् । हामी कम्युनिस्टहरुले यस प्रकारको गैर माक्र्सवादी तर्कको जोडदार खण्डन गरेर माक्र्सवादलाई समृद्ध गर्दै जानु पर्दछ ।
क्रान्तिमा प्रविधिको प्रयोग अनिवार्य छ । प्रविधिलाई कसरी, कहिले र कहाँ प्रयोग गर्ने भन्नेकुरा देशको तत्कालीन परिस्थितिमा भर पर्ने कुरा हो । यो पहिल्यै निर्धारण गर्न सकिने र अहिल्यै भन्ने कुरा होइन । हतियारको गुणस्तर बृद्धि गरेर मात्र होइन दुश्मनलाई आश्चर्यमा पार्न, उसको लडने क्षमता कम गराउन र सुचना तथा संचार संयन्त्र र आर्थिक तथा सामरिक क्षेत्रलाई समेत निस्प्रभावी बनाउन प्रविधिको प्रयोग गर्नु पर्दछ । क्रान्तिमा हतियारको भूमिका महत्वपूर्ण हुन्छ, तर अन्ततः निर्णायक मानिस नै हुन्छ, हतियार होइन । प्रविधि बारे माक्र्सवादी दृष्टिकोण यही हो ।
११) नेपालको कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धार कमजोर भएको छ यसलाई सुदृढ गर्न के गर्नुपर्ने ठान्नु हुन्छ ?
यतिबेला विश्वभरि नै दक्षिणपन्थी संशोधनवादको दवदवा रहेको कारण कम्युनिस्ट आन्दोलन सबैतिर कमजोर छ । यो स्थितिमा नेपाल सहित विश्व कम्युनिस्ट आन्दोलनलाई सुदृढ गर्नका लागि मुख्यतः तीनओटा विषयमा विशेष जोड दिनु पर्दछ । पहिलो, संशोधनवादका विरुद्ध निर्मम सङ्घर्ष; दोस्रो, ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा क्रान्तिकारी कार्यदिशाको विकास र तेस्रो, उक्त कार्यदिशाको इमान्दारीपूर्वक कार्यान्वयन । गत एकता राष्ट्रिय महाधिवेशनबाट हामीले क्रान्तिकारी कार्यदिशा विकास गरेका छौं । सबै खाले संशोधनवादको प्रभावबाट मुक्तभई पारित कार्यदिशालाई दृढतापूर्वक कार्यान्वयन गरेर मात्र नेपालको कम्युनिस्ट आन्दोलनलाई सुदृढ गर्न सकिन्छ । सिद्धान्तलाई व्यवहारमा जोडेर र व्यवहारको कसीमा सिद्धान्तको परीक्षण गरेर अर्थात् सिद्धान्त र व्यवहारको द्वन्द्वात्मक एकताको प्रक्रियाबाट क्रान्तिकारी आन्दोलन सुदृढ हुँदै अगाडि बढ्छ ।
१२) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियान सुरु गरेको छ । अभियानको स्वरुप र उद्देश्य के हो ?
पार्टीको राष्ट्रिय एकता महाधिवेशनले जनसम्बन्ध तथा सङ्गठन विस्तारका लागि देशव्यापी अभियान चलाउने निर्णय गरेको थियो । त्यसैलाई पार्टीको दोस्रो पूर्ण बैठकले जनसम्बन्ध विस्तार अभियानको नाममा देशभरी अभियान संचालन गर्ने मूर्त योजना बनाएको छ ।
यो अभियानमा तीन तहका टिम परिचालित हुनेछन् । पहिलो केन्द्रीय टिम, दोस्रो ब्यूरो स्तरीय टिम र तेस्रो जिल्ला स्तरीय टिम । यो अभियानको उद्देश्य पुरै पार्टी पङ्क्तिलाई परिचालन गर्ने, पार्टीको कार्यदिशाको प्रचार प्रसार गर्ने, संशोधनवादको भण्डाफोर गर्ने, जनताका बीचमा सम्बन्ध विस्तार गर्ने र देशैभरि सङ्गठन निर्माण गर्ने हो ।
१३ ) अन्त्यमा थप केही छ कि ?
विचार राख्ने अवसर दिनुभएकोमा हाँक परिवारलाई धन्यवाद ।
साभार हाँक टुडे चैत्र ६, २०८१






























