न त रोकेर रोकिन्छ यो
कसैले छेकेर छेकिँदैन
न त मारेर नै मर्छ यो
कसैले ढालेर ढल्दैन
मेरो कलम
यो त एउटा यथार्थ हो
यो त एउटा अनुभव हो
अभावको दुनियाँ ब्युँझाउन सक्ने
पीडाको वर्तमान हँसाउन सक्ने
यो त एउटा मुक्ति अभियान हो
यो त एउटा स्वतन्त्रता हो
षड्यन्त्रका पर्खालहरू भत्काउँदै
निरंकुशताका जंजिरहरू तोड्न सक्ने
मेरो कलम ।
असत्यको विद्रोह भरिएको छ
समानताको विज्ञानले खारिएको छ
सचेतनले धारिलो छ
यो त एउटा प्रेम हो, सौन्दर्य हो
संकल्प हो यो प्रतिबद्धता
अठोट हो यो दृढता
मृत्युभित्र जीवन खोज्ने
पराजयभित्र विजय देख्ने
मेरो कलम
सङ्गीतले बनेका यसका लीपहरू
रगतले लतपतिएका यसका मसीहरू
सुकाएर कहिल्यै सुक्दैन यो
कसैले भाँचेर भाँचिँदैन
यथार्थको आधारशिलामा
वास्तविकता लेखिरहनेछ ।
मेरो कलम
यो एउटा स्वाधीनता हो
यो त एउटा राष्ट्रियता हो
आफ्नै संस्कृतिले सजिएको छ
आफ्नै सगरमाथा प्यारो लाग्छ
शोक, भोक र रोगसँग साइनो गाँसिरहने
बगर छेउका झुप्राहरूको कथा
अनि
स्वदेशमै लुटिएका, विवशतामा बेचिएका
आधा धर्ति आधा आकाशको पीडा
बोलिरहनेछ मेरो कलम ।
वर्षैभरि पाखुरी घोटेर
एक छाक टार्नसम्म धौ–धौ
सालैभरि पसिना काडेर
एक आङ्ग, लाज ढाक्नसम्म हम्मे
टेकान र नाम्लाका सहारामा
अक्करको अप्ठ्यारोमा खुइया मार्दै
कला, सीप, श्रमका खानी
अछुत, उपेक्षित फुटेका पैतालाहरूको
दुखाइ लेखिरहनेछ
सञ्जीव जिन्दगीको ढोका खोलिरहनेछ ।
मेरो कलम
न त गालेर नै गल्छ यो
कसैले पगालेर नै नुहिन्छ
स्पातले बनेका यसका अस्थिपञ्जर
बरू भाँचिएर टुक्रा–टुक्रा हुनमा गर्व गर्छ
सडेर कहिल्यै जाँदैन
यो त एउटा आस्था हो, विश्वास हो
आगाको झिल्को हो
कसैले निभाएर निभ्दैन
बरू हरिफहरूको महलमा
झोसिरहनेछ संकल्पको लाभा
मेरो कलम, मेरो कलम, मेरो कलम ।
धरान– ११, कल्याणचोक, सुनसरी