लेनिनको जन्म दिवस र पार्टी स्थापना दिवसमा क्रान्तिप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रतिबद्धता

लेनिनको जन्म दिवस र पार्टी स्थापना दिवसमा क्रान्तिप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रतिबद्धता

 

काठमाडौं । १५६ औं लेनिनको जन्म दिवस र नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले क्रान्तिप्रतिको प्रतिबद्धता जाहेर गरेको छ । पार्टीका प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘नेपाली समाजको विकास प्रक्रियामा आज नव–उपनिवेशवाद बाधक बनेर आएको छ । यो अवस्थाबाट मुक्तिका निमित्त नेपालमा नयाँ जनवादी क्रान्तिलाई अगाडि बढाउन सच्चा कम्युनिस्टहरुका बीचमा सिद्धान्तनिष्ठ एकता र देशभक्त, क्रान्तिकारी जनवादी, वामपन्थी तथा कम्युनिस्ट लगायत सबै साम्राज्यवाद विरोधी शक्तिलाई संयुक्त मोर्चा निर्माणका लागि आह्वान गर्दै हामी त्यसको व्यावहारिक पहललाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

यस्तो छ वक्तव्यको पूर्णपाठ

प्रेस वक्तव्य
आजभन्दा १५६ वर्ष पहिले २२ अप्रिलका दिन विश्व सर्वहारावर्ग तथा उत्पीडित जनताको मुक्तिका मार्गनिर्देशक लेनिनको जन्म भएको थियो । त्यही जन्मदिन पारेर आज भन्दा ७७ वर्ष पहिले पुष्पलाल र उहाँका सहयोद्धाहरुले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । त्यसकारण हामी यस दिनलाई विशेष रुपमा स्मरण गर्न चाहन्छौं ।

लेनिनलाई सम्झनुको अर्थ साम्राज्यवाद भनेको युद्ध हो भन्ने लेनिनवादी मान्यतालाई आत्मसात गर्नु र साम्राज्यवादी युद्धलाई क्रान्तिमा बदल्ने प्रतिबद्धता जाहेर गर्नु हो । तेस्रो विश्वयुद्ध तर्फ उन्मुख हुँदै गएको आजको मध्यूर्वको भयावह स्थितिले लेनिनवादको सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ । त्यसै गरी पार्टी स्थापना दिवस मनाउनुको अर्थ किन ७७ वर्षसम्म नेपालमा क्रान्ति सम्पन्न हुन सकेन ? भनेर आफैमाथि प्रश्न उठाउने र इतिहासको ठोस विश्लेषण सहित नयाँ जनवादी क्रान्तिको खुडकिलो पारगरी वैज्ञानिक समाजवादमा अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नु हो ।

नेपाली समाजको विकास प्रक्रियामा आज नव–उपनिवेशवाद बाधक बनेर आएको छ । यो अवस्थाबाट मुक्तिका निमित्त नेपालमा नयाँ जनवादी क्रान्तिलाई अगाडि बढाउन सच्चा कम्युनिस्टहरुका बीचमा सिद्धान्तनिष्ठ एकता र देशभक्त, क्रान्तिकारी जनवादी, वामपन्थी तथा कम्युनिस्ट लगायत सबै साम्राज्यवाद विरोधी शक्तिलाई संयुक्त मोर्चा निर्माणका लागि आह्वान गर्दै हामी त्यसको व्यावहारिक पहललाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछौं ।

वैशाख ९, २०८३

सुदर्शन
प्रवक्ता

Lenin Day Statement