प्यालेष्टाइनलाई बिस्थापित गराउने योजनाभित्रका रहस्यहरु

प्यालेष्टाइनलाई बिस्थापित गराउने योजनाभित्रका रहस्यहरु

डा. केशव देवकोटा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्र आफ्नो नियन्त्रणमा लिएर प्यालेष्टिनीलाई उनीहरुको मातृभूमीबाट बिस्थापित गराउने आफ्नो भित्री योजना सार्बजनिक गरेपछि विश्वब्यापि बिरोध शुरु भएको छ । नेपालमा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल लगायतका बाम पार्टीहरुले प्यालेष्टाइन बिरुद्ध भैरहेका गतिबिधिको बिरोध गरेका छन् । घटनाक्रमहरुलाई हेर्दा सन् १९७३ मा यहुदीहरुको चाड योम किपुरका दिन इजिप्ट, सिरियालगायतका अरब राष्ट्रले इजरायलमाथि आक्रमण गरेको ५० वर्ष र एक दिनपछि सन् २०२३ को अक्टोबर सातमा, प्यालेष्टिनी लडाकु समूहहरु, मुख्यतया हमास र प्यालेष्टाइन इस्लामिक जिहाद, प्यालेष्टाइनको मुक्तिको लागि पपुलर फ्रन्ट फर लिब्ररेसनजस्ता अन्य समूहहरुसँग गाजा पट्टीबाट इजरायलमा रकेट ब्यारेज र सवारी साधनहरुद्वारा ठूलो आक्रमण गरिएको थियो । करिव डेड बर्षको अवधीमा त्यस क्षेत्रका ४६ हजारभन्दा बढी ब्यक्तिहरु मारिइसकेका छन् । गत माघ तीन (जनवरी १६) गते इजरायल र हमासबीच युद्धविराम र बन्धक मुक्तगर्ने सम्झौता भएको थियो । कतार र अमेरिकाले गाजा युद्धविरामबारे माघ दुईगते घोषणागर्दै यसले गाजामा जारी युद्धको स्थायी अन्त्यका लागि मार्ग प्रशस्तगर्ने विश्वास व्यक्त गरेका थिए । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले त्यसदिन एक पत्रकार सम्मेलनको आयोजनागरी गाजापट्टीका दुई लडाकूबीच सम्झौता भएको र उनीहरुबीचको युद्धविराम माघ छगते (जनवरी १९) देखि लागूहुने बताउनु भएको थियो । उहाँले पत्रकार सम्मेलनमा यसलाई युद्धको अन्तिम चरण हुने र सबै पक्षहरु सम्झौताका सबै शर्तहरु कार्यान्वयनगर्न प्रतिबद्ध हुनेमा आफूहरु पूर्णतया विश्वस्त रहेको बताउनु भएको थियो । मध्यस्थताकर्ताहरुले सम्झौता भएको बताएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले सम्झौताको अन्तिम बिषयमा काम भइरहेको जनाएको थियो । नेतन्याहूले माघ दुईगते अमेरिकाका तत्कालीन राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानीगरी सम्झौतामा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । उक्त युद्धबिराम संझौता कार्यान्वयनकाक्रममा रहेकै हालको अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पले प्यालेष्टाइनहरुलाई उनीहरुको भूमीबाट बिस्थापित गर्ने÷गराउने योजना सार्बजनिक गरेर फेरी युद्ध भड्काउने प्रयास गरेको देखिएको छ । इजरायल र प्यालेष्टाइनबीचको द्वन्द नयाँ होइन । बिभिन्न ऐतिहासिक बिवरणहरुमा उल्लेख भएअनुसार २० औं शताब्दीको प्रारम्भमा प्यालेष्टिनमा यहुदी मातृभूमिको लागि सियोनिष्ट आन्दोलनको प्रयास भएको थियो । त्यही नै खासमा युद्धको विजारोपण मानिन्छ । जुन युद्ध एक शताब्दीभन्दा बढी समयदेखि जारी रहेको छ । दुई पक्षकाबीचमा दर्जनौं पटक युद्ध बिराम भएपनि पूर्णरुपमा समस्याको समाधान र युद्धको अन्त्य हुनसकेको छैन । मध्यपूर्वको सो क्षेत्रमा ओटोमन साम्राज्य रहेको थियो । पहिलो विश्वयुद्धमा ओटोमन साम्राज्यको हार भएपछि बेलायतले प्यालेष्टिनलाई नियन्त्रणमा लिएको थियो । जतिबेला इजरायल भन्नेनै थिएन । दोश्रो विश्वयुद्धपछि यहुदीहरुका लागि छुट्टै देशको माग भएको थियो । सन् १९४८ को जुन १४ मा प्यालेष्टिनबाट बेलायती सत्ता समाप्त भएपछि इजरायल देश बनेको हो । त्यस अवधिमा, संयुक्त राष्ट्रसंघले यहुदीहरुलाई मध्यपूर्वमा इस्लाम, इसाई र यहुदीहरुको पवित्र स्थान जेरुसेलमलाई स्थानदिएको थियो । अरबीहरुले उक्त भूमिलाई आफ्नो दाबीगर्दै आएका थिएभने उक्त थातथलो यहुदीहरुको पुख्र्यौली थियो । त्यहाँ बस्ने प्यालेष्टिनीहरु अरबी थिएभने यहुदीहरु बाहिरबाट आएका थिए । अन्तर्राष्ट्रिय समुदायले बेलायतलाई प्यालेष्टिनलाई यहुदीहरुको पुख्र्यौली थलोकारुपमा स्थापितगर्न आग्रह गरेपछि दुई पक्षकाबीचमा बिवाद शुरुभएको थियो । यहुदीहरुले सो भूमिलाई आफ्नो पुर्खाको मानेका थिए । जबकि प्यालेष्टिनी अरबीहरु त्यहाँ प्यालेष्टिन नामको देश चाहान्थे । यहीँबाट इजरायल र प्यालेष्टिनबीच बिवाद शुरुभएको थियो ।
सो अवस्था सन् १९४८ मा इजरायलको स्वतन्त्रता घोषणासँगै चरम सीमामा पुगेको थियो । जसले अरब–इजरायल युद्धको नेतृत्व गरेको थियो । युद्धपछि धेरै प्यालेष्टिनीहरु विस्थापित भएका थिए । त्यसपछि दुई देशबीच बेलाबेलामा द्वन्द जारीरहँदै आएको छ । सन् २०१४ यता निरन्तररुपमा पटक, पटक युद्ध हुँदैआएको छ । हाल इजरायल र प्यालेष्टाइनीहरुको नियन्त्रणमा रहेको वेष्ट ब्याङ्क र गाजा शताब्दियौंदेखि मुस्लिम बहुल प्यालेष्टाइन थियोभन्ने जगजायर छ । भूमध्यसागर र जोर्डन नदीबीच रहेको सो ठाउँको केही भागमा आइरन एज (फलामे युग) मा फिलिस्तिनीहरु बसेकाले यो पूरै भूभागलाई प्यालेष्टाइन भनिएको हो । भूमध्यसागर र जोर्डन नदीबीच रहेको प्यालेष्टाइन सन् १५१६ मा अटोमन साम्राज्यले कब्जा गरेपछि विशाल अटोमन साम्राज्यको सिरियाअन्तर्गत रहेको थियो । तर यहुदीहरु सो भूमिलाई आफ्नो उद्गमस्थल मान्छन् र यहाँ इस्लाम धर्म शुरु नहुँदै आफ्ना पुर्खाहरु बसोबास गरेको दाबी गर्छन् । उनीहरुले तीनहजार बर्षभन्दा पहिलादेखि सो भूमिमा आफूहरु बसेको दाबिगर्दै आएका छन् । भनिन्छ त्यही भूमिको बेत्लेहेममा करिब दुईहजार वर्षअघि जिसस क्राइष्टको जन्मसमेत भएको थियो । जेरुसलेममा सुलीमा चढाएर क्राइष्टको हत्या भएपछि सो भूमि क्रिश्चियनहरुका लागि पनि पवित्रस्थल बनेको हो । यसरी सो क्षेत्र प्यालेष्टाइनहरुको पुख्र्यौली थलो भएको कुरामा बिवादगर्ने ठाउँ छैन । हाल आएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेष्टाइनहरुलाई अन्यत्र सार्ने भनेपछि चौतर्फी विरोध भएको छ । बेलायत, फ्रान्स, रुस, चीन, अष्ट्रेलिया, साउदी अरब, इजिप्ट, टर्कीलगायतका देशकासाथै प्यालेष्टाइन र प्यालेष्टिनी समूह हमासले ट्रम्पको हालैको टिप्पणीको निन्दा गरिसकेका छन् । गतसाता अमेरिकाको भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले गाजा नियन्त्रणमा लिने अभिव्यक्ति दिनुभएको थियो । उक्त पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकाले गाजापट्टी नियन्त्रणमा लिन्छ र त्यहाँ रहेका सबै खतरनाक विष्फोटक बम र अन्य हतियार नष्ट गर्नेछ भन्नुभएको थियो । त्यसलगत्तै प्यालेष्टिनी समूह हमासले ट्रम्पको प्रस्ताव अस्वीकार्य रहेको जनाएको थियो । हमासका प्रवक्ता अब्देल लतिफ अल–कानोउद्वारा जारी विज्ञप्तिमा अमेरिकाको जातीय दृष्टिकोण हाम्रा मानिसलाई विस्थापितगर्ने र हाम्रो मुद्धा समाप्त पार्ने इजरायली अति दक्षिणपन्थी स्थितिसँग मेल खान्छभन्ने उल्लेख गरिएको थियो । हमासले यस्ता टिप्पणीले यस क्षेत्रको स्थिरतालाई मद्दत नमिल्ने पनि बताइसकेको छ । उक्त विज्ञप्तिमा ‘हामी अमेरिकी प्रशासन र राष्ट्रपति ट्रम्पलाई अन्तर्राष्ट्रिय कानून र प्यालेष्टिनी जनताको आफ्नो भूमिमा आधारभूत अधिकारको विरोधगर्ने यस्ता गैरजिम्मेवारपूर्ण टिप्पणीबाट पछि हट्न आहवान गर्छौं भनिएको थियो ।
प्यालेष्टिनी राष्ट्रपति महमुद अब्बासले पनि एक अलग्गै विज्ञप्ति जारीगर्दै ट्रम्पको प्रस्ताव अस्वीकार गर्नुभएको थियो । गाजामा रहेका प्यालेष्टिनीहरुले पनि ट्रम्पको पुनर्वास योजनाको विरोधगर्दै आएका छन् । गतसाता बिहीबार राष्ट्रपति ट्रम्पले युद्धविरामपछि गाजा नियन्त्रण लिने र त्यहाँका प्यालेष्टिनी बासिन्दालाई पुनः स्थापितगर्ने आफ्नो प्रस्तावको बचाउ गर्नुभएको थियो । जबकि इजरायलका रक्षामन्त्रीले मानिसलाई स्वेच्छाले गाजा छोड्न दिने योजना तयारगर्न सेनालाई आदेश दिइसक्नु भएको समाचार बाहिर आएको छ । उपरोक्त घटनाक्रमहरुले ट्रम्पको गाजापट्टी नियन्त्रणगर्ने र त्यहाँ बस्ने करिब २० लाख प्यालेष्टिनीलाई अन्यत्र सार्ने प्रस्ताव चरम बिवादमा परेको छ । उक्त प्रस्ताव के कसरी कार्यान्वयन हुन्छभन्ने अझै पनि स्पष्ट हुनसकेको छैन । इजरायली र अमेरिकी अधिकारीहरुलेसमेत गाजामा रहेका मानिसहरुले कहाँ जाने आशा गरेका छन्, कति मानिस स्वेच्छाले गाजा छोड्न सक्छन्भन्ने अनुमानसमेत गर्ननसकेको देखिएको छ । अन्तराष्ट्रिय कानून र प्रचलनअनुसार कुनैपनि देशका नागरिकलाई उनीहरुको स्वेच्छाबेगर जबरजस्ती निर्वासनमा पठाउनु वा स्थानान्तरणगर्नु हुँदैन । त्यसोगर्नु अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लंघन, युद्ध अपराध र मानवताविरुद्धको अपराध हुनजान्छ । कतिपय अन्तराष्ट्रिय राजनीतिक बिश्लेषकहरुले प्यालेष्टिनीलाई गाजाबाट हटाउने प्रस्तावलाई जातीय सफायासँग तुलना गर्नेगरेको पाइएको छ । गजबको कुरा के छभने ट्रम्पको हालैको प्रस्तावलाई उहाँकै सल्लाहकारहरुलेसमेत खुलेर समर्थन गरेको देखिएको छैन ।
यसरी आफ्नो भनाईको कार्यान्वयन नहुने देखिएपछि ट्रम्पले हालै सामाजिक सञ्जालमा आफ्नो अडानलाई पुनः पुष्टिगर्ने प्रयास गर्नुभएको थियो । उहाँले सामाजिक सञ्जालमा ‘गाजापट्टीमा लडाइँ समाप्त भएपछि इजरायलले अमेरिकालाई हस्तान्तरण गर्नेछ, त्यसपछि प्यालेष्टिनी अझ सुरक्षित र सुन्दर समुदाय, नयाँ र आधुनिक घरमा पुनः स्थापित हुनेछन्’भन्ने उल्लेख गर्नुभएको छ । ट्रम्पको पछिल्लो दलिलको यतिबेला अरब मुलुकसहित बिभिन्न देशले विरोध गरिरहेका छन् । गाजा खालीगर्नेभन्ने प्रस्तावलाई साउदी अरबले त ठाडै अस्वीकार गरेको पाइएको छ । उसले आफू प्यालेष्टिनी राज्य स्थापनाको मागमा अडिग रहेको र त्यसलेमात्रै इजरायलसँगको सम्बन्ध सामान्य बनाउन मद्दतगर्ने जनाएको छ । गाजाका मानिसलाई शरण दिनसक्ने राष्ट्रकारुपमा ट्रम्पले इजिप्ट र जोर्डनको नाम उल्लेख गर्नुभएपनि ती देशलेसमेत प्यालेष्टिनीको ठूलो विस्थापन स्वीकार नहुने बताइसकेका छन् । इजरायलका प्रधानमन्त्रीसँगको गतसाताको भेटपछि ट्रम्पले प्यालेष्टाइनीलाई उनीहरुको भूमीबाट पूरै विस्थापितगर्ने बिचार प्रकट गरेका कारणले पनि सबैलाई आशंका भएको हो । ट्रम्पको उक्त शोच साम्राज्यवादी र फासिष्ट हुनुकासाथै अन्तर्राष्ट्रिय कानून र स्वयं संयुक्त राष्ट्रसंघको निर्णयकोसमेत विरुद्ध रहेको स्पष्ट छ । गाजापट्टीमा धेरैनै खनिज पदार्थ रहेको हुनाले अमेरिकाले त्यहाँ आफ्नो नियन्त्रण कायमगर्ने उद्देश्य बनाएको हुनसक्ने आंकलन पनि गर्नसकिन्छ । त्यसैले प्यालेष्टाइनलाई उनीहरुको भूमीबाट बिस्थापनगर्ने कुराको नेपालले डटेर बिरोध गर्नुपर्दछ । त्यसको अर्को बिकल्प छैन ।