क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको बैठक काठमाडौंमा जारी : अनुशासित जुझारु संगठन र प्रतिरोधी संघर्षका योजना निर्माणमा जोड

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको बैठक काठमाडौंमा जारी : अनुशासित जुझारु संगठन र प्रतिरोधी संघर्षका योजना निर्माणमा जोड

काठमाडौं । माघ २६ बाट सुरु भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौंमा जारी छ । पार्टीका कार्यवाहक महासचिव गौरवको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीलाई जनतासँग जोड्ने, पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गर्ने योजनाहरु प्रस्ताव गरिएको छ । पार्टी महासचिव किरण निमोनियाका कारण लामो समयसम्म अस्पताल भर्ना भइ हाल अस्पतालबाट डिस्चार्ज भएर स्वास्थ्य लाभ गरिरहनु भएकोले कार्यवाहक महासचिव गौरवको अध्यक्षतामा बैठक बसिएको हो ।

बैठकमा कार्यवाहक महासचिव गौरवले सम्पन्न महाधिवेशनको समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ भने पुरक प्रस्तावको रुपमा पार्टी एचक्यू सहयोग समितिका सदस्यहरु राजवीरले ‘संगठनात्मक नियमावली’, कुमुदले ‘आर्थिक नियमावली’, असिमले ‘आचारसंहिता’ र सुदर्शनले ‘जनएकता अभियान’का विषयमा प्रस्ताव पेश गर्नुभएको छ ।

पाँचवटै प्रस्तावहरुमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने काम सकिएको छ । सम्बद्ध स्रोतका अनुसार प्रायः केन्द्रीय सदस्यहरुले अनुशासित जुझारु जनसंगठन र प्रतिरोधी संघर्ष निर्माणमा जोड दिनुभएको छ । केन्द्रीय सदस्यहरुले राखेका सुझावहरुसहित मंगलबार सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित हुने सम्बद्ध स्रोतले जानकारी दिएको छ । बैठकले संगठन र संघर्षको क्षेत्रमा महत्वपूर्ण निर्णय गर्ने र त्यसबाट सिंगो पार्टीपंक्ति र क्रान्तिकारी जनपंपिक्तमा पनि नयाँ आशा, दृढ विश्वास, उर्जा र उत्साह पैदा गर्ने स्रोतको दावी छ ।

वर्तमान दलाल पूँजीवादी राज्यव्यवस्था, सत्ता, संविधानको समूल अन्त्य गरी नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने संकल्पका साथ अगाडि बढिरहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको यो बैठकले पार्टी जीवनमा निरन्तरतामा एउटा क्रमभंग पैदा गर्ने र क्रान्ति गर्न लायक एक अनुशासित र जुझारु क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्ने आधार तयार पार्ने विश्वास लिइएको छ । बैठक माघ ३० गतेसम्म चेल्नेछ ।