शनिबारीय साहित्य ः कविता
***  ***
 
हुर्कंदै गरेका फटाहाहरुलाई
हुर्किसकेका फटाहाहरुले
‘धत् फटाहा’ भन्दै छन् !
भ्रष्टाचार सिक्दै–सिक्दै
उकालो चढ्दै गरेकाहरुलाई
भ्रष्टाचारको चरमचुलीमा पुगेकाहरुले
लघार्न खोज्दै छन् !
पक्राउ पर्दै गरेकाहरु
रोइरहेका छन्
पक्राउ गर्दै गरेकाहरु
हाँसिरहेका छन्
तर दुवैथरी
यो देश लुट्न खप्पिस छन्
कहिले कोही रोएजस्तो गर्छन्
कहिले कोही हाँसेजस्तो गर्छन् !
यिनको कत्ति भर छैन
छिटै फेरि
अर्को कुन विन्दु आइपुग्छ
अनि दुवैथरी
फेरि अँगालो हालेर
मिलीजुली लुटधन्दा चलाउने छन् !
यी दुवै एउटै बाटो
र एउटै गन्तव्यका
यात्री हुन्
कोही अलि अघिअघि
फुर्तिसाथ हिंडिरहेका छन्
कोही अलि पछिपछि
स्याँस्याँ गरिरहेका छन् !
आज गर्छन् पक्रेजस्तो
भोलि गर्छन् छोडेजस्तो
आज गर्छन् जुधेजस्तो
भोलि गर्छन् मिलेजस्तो
एकातिर हल्ला गर्छन् चील आएको
अर्कोतिर टप्काउँछन् कुखुरा
एकातिर हाउगुजी छर्छन् पक्राउको
त्यही हल्लाभित्र लुकाउँछन् आफ्नो लुटधन्दा !

प्रतिक्रिया

सम्बन्धित खवर