क्रान्तिका लागि वस्तुगत तथा आत्मगत परिस्थिति बारे बहस

क्रान्तिका लागि वस्तुगत तथा आत्मगत परिस्थिति बारे बहस

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन यहि २०८१ मंसिर १३ देखि २३ गते सम्म काठमाडौंमा हुदैछ । यो महाधिवेशनलाई भब्य रुपमा सफल बनाउनको लागि सम्पूर्ण पार्टी पंक्ती आ—आफ्नो ठाउँबाट वैचारिक र संगठनिक काम गरिरहेका छौँ । पार्टीका गाउँ, नगर र जिल्ला सम्मेलनहरु धमाधम सम्पन्न भैरहेका छन् । पार्टीले हरेक जिल्ला,नगर तथा गाउँहरुमा भेला आर्थात सम्मेलन पछि फोरम संचालन गरेर महाधिवेशनका दस्तावेजहरु माथि छलफल चलाइरहेको छ । दस्तावेजहरुलाई वैचारिक र संगठानिक दुवै हिसाबले मजबुद बनाउदै नेपालको क्रान्तिलाई हाँक्न सक्ने बनाउनको लागि सबै आ–आफ्नो ठाउँबाट लागि परेका छौं ।
अर्कोतिर पार्टीको महाधिवेशन बारे हाम्रा मित्र शक्तिहरु मजदुर, किसान, सुकुम्वासी, महिला, दलित मुस्लिम, मधेशी र राष्ट्रिय पुँजीपतिहरु लगायतसँग छलफल गरिरहेका छौं ।उहाँहरुका सुझाव र सल्लाह लिइरहेका छौं । यो महाधिवेशनबाट हामीले थुप्रै विषयहरु क्रान्तिकारी विचारलाई आत्मासाथ गर्दै टुङयाउनु पर्ने छ । भाषणमा मात्र हैन व्यवहारमा समेत क्रान्तिकारी पार्टी बनाउन सक्ने क्रान्तिकारी विचार सहितको दस्तावेज बनाउन सक्नु पर्छ । यसका लागि छलफल र बहस घनिभूत रुपमा महाधिवेशन सम्म चलाई राख्नु पर्दछ । यहाँ अहिले छलफल चलाउन खोजीएको विषय क्रान्तिकारी कम्युनिष्ट पार्टीले भन्दै आएको कुरा यो हो की क्रान्तिको लागि वस्तुगत परिस्थिति अनुकूल बनेको छ तर आत्मगत परिस्थिति अनुकूल बनेको छैन । सत्य पनि यहि हो । वस्तुगत परिस्थितिको बारे अध्ययन ,अनुसन्धान र तथ्यहरुले अनुकुल वातावरण तयार भएको देखाएको छ ।
अमेरिकी साम्राज्यवादले नेपालमा आफ्नो सैन्य अखडा खडा गरेर यस देशमा भएका प्रकृती साधनहरुको दोहन गर्ने र चीनलाई घेर्ने नीति अनुसार नेपालका दलालहरुलाई किनेर एमसीसी जबरजस्त लाद्ने काम गरिरहेको छ । भारतीय विस्तारवादले हाम्रो देशमा राजनीतिक, भौगोलिक, सास्कृतिक लगायतका हस्तक्षेपहरु तिब्र रुपमा बढाइ नै रहेको छ । अहिले देशमा दलाल तथा नोकरशाही एवं सामन्त वर्गीय चरित्र भएको राज्य सत्ता र त्यो सत्ता चलाउने शासकहरुले देश र नागरिकलाई अन्याय र अत्यचार गरिरहेको प्रति नागरिकहरु आक्रोशित छन ।
देश चलाउने मुख्य अंगहरु व्यवस्थापिका, कार्यपालिक र न्यायपालिका समेत अपराधिक गति विधिमा चुलुम्व डुवेका छन । शासकहरु सत्ताको भागवण्डामा घिनैलाग्दो झगडा गरिरहेका छन । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको अवस्था कहालिलाग्दो बनेको छ । नागरिकका दैनिक उपभोग्य बस्तुहरुको महंगीले सीमा नाघेको छ । यस्ता थुप्रै तथ्यहरुले गर्दा क्रान्तिको लागि वस्तुगत परिस्थित अनुकूल भएको स्पष्ट गर्दछ ।
वस्तुगत परिस्थित अनुकूल भए पनि लामो समयदेखि प्रतिकूल बनेको आत्मगत परिस्थितिलाई कसरी अनुकूल बनाउन सकिन्छ ? यो प्रश्नको सैद्धान्तिक जवाफ महाधिवेशनले पत्ता लगाउन सक्नु पर्ने छ । अनि व्यवहारमा त्यसलाई कार्यान्वयन गर्नु पर्दछ । त्यसको लागि विभिन्न कोणबाट अहिले देखिनै अध्ययन,अनुशन्धान, छलफल र बहस हुन जरुरी छ। नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएको निम्न पुँजीवादी चिन्तन क्रान्तिलाई अगाडि बढाउन र आत्मगत परिस्थित अनुकूल बनाउन निकै ठूलो बाधक बनेर हिजो देखि आज सम्म बसेको छ । निराशावाद, निष्क्रियतावाद, अकर्मण्यतावाद, व्याक्तिवाद, संकीणतावाद, अराजकतावाद उदारवाद लगायतले कम्युनिष्ट आन्दोलनलाई सहि दिशामा जान दिएको छैन । जति बेला क्रान्तिकारी कार्यदिशा र क्रान्तिकारी नेतृत्व भयो त्यति बेला क्रान्तिकारी आन्दोलन सहि दिशामा अगाडि बढेको छ भने जति बेला यी दुई वा एउटाको अभाव भयो क्रान्ति गलत दिशामा पुगेको देखिन्छ ।
अर्को पाटो भनेको क्रान्तिकारी शक्तिहरु टुटफुट र विभाजन हुनु हो । यो विभाजनले आत्मगत परिस्थिति अनुकूल बनाउन बाधा खडा गरेको छ । लेनिनवादी सांगठानिक संरचना अनुसार पार्टी नचल्दा पनि आत्मगत परिस्थिति अनुकूल बनाउन सकिदैन । अनुशासन पार्टीको जीवन हो , अनुशासनलाई सहि ढंगले पालना भएन भने पनि समस्या खडा हुन्छ । कम्युनष्टि पार्टी सर्वहारावर्गको मुक्ति गर्ने पार्टी हो । त्यसैले यहि वर्गमा आधारित भएर यिनिहरुलाई नै विषेश रुपले स्कूलिङ गर्दै नेता बनाउने अभियान संचालन गर्नु पर्दछ । अधिकांश नेपालीहरु अहिले पनि कम्युनिष्ट पार्टीहरुलाई माया गर्छन । तर विडम्वनाको कुरा वास्तविक कम्युनिष्ट पार्टी कुन हो भनेर छुट्याउन आम मानिसलाई गाह्रो भएको छ । अहिने पनि नेपालमा कम्युनिष्ट नाम गरेका दुई दर्जन भन्दा धेरै पार्टीहरु छन । यी सबैजसो पार्टीका नेताहरुको व्यवहार उस्तै उस्तै देखिने गरेको छ । आफुलाई सच्चा कम्युनिष्ट पार्टीको नेता हुँ भनेर परिचित गराउनेहरुबाट नागरिकहरुले पटक पटक धोका खाएका छन । यस्ता कयौं धोकाहरुबाट पीडित भएका नागरिकहरुलाई निराशाबाट मुक्त गराउदै विश्वास दिलाउन कठिनाई छ । त्यसका लागि निकै ठूलो संघर्ष ,त्याग ,मेहनत र असल व्यवहारको आवश्यता पर्दछ । श्रमजीवी वर्गलाई क्रान्तिको बाटोमा हिडाउनको लागि आवश्यकता परेको समयमा वलिदान दिन तयार हुने नेताहरु भएको कम्युनिष्ट पार्टीले मात्र उनीहरुलाई निराशाबाट मुक्त गर्दै क्रान्तिको बाटोमा हिडाउन सक्दछ । समग्रमा भन्नु पर्दा अहिलेको समयमा यस्ता नेताहरुको खडेरी नै परेको छ ।
कम्युनिष्ट पार्टीको विभिन्न तहको कार्यकारी पदमा रहेका नेताहरुमा नै चरम निराशा, अराजकता का साथै चरम महत्वकांक्षा समेत देखिन्छ । कतिपयमा निम्न पुँजीवादी चिन्तनले घर गरेको छ । यस्तो अवस्थामा आत्मगत परिस्थिति अनुकूल हुने कुरा सहज देखिदैन । अहिलेको दलाल पुँजीवादी तथा नोकरशाही एवं सामन्ती चरित्रको व्यवस्था र संसदीय व्यवस्थाको अन्त्य गरी जनवादी क्रान्तिको खुट्किलो पार गर्दै वैज्ञानिक समाजवाद ल्याउनको लागि आत्मगत परिस्थिति अनुकूल बनाउन ठूलै कसरत गर्नु पर्दछ । अर्कोतिर साम्रज्यवादी, विस्तारवादी, दलाल नोकरशाहि पुँजीवादीहरु र सामन्तवादीहरुले कम्युनिष्ट नेता, कार्यक्रर्ताहरु र आम नागरिकलाई कम्युनिष्ट विचारबाट टाढा राख्न अनेकौ किसिमका षडयन्त्रहरु गरिरहेका छन । यी सबै षडयन्त्रहरुको भण्डाफोर गर्दै क्रान्तिको बाटोमा अगाडि बढन सक्ने कम्युनिष्ट पार्टीले मात्र आत्मगत परिस्थिति अनुकूल बनाउन सक्छ । नेपालमा नक्कली कम्युनिष्टहरुको बिगबिगिनै छ । यहाँ भएको कम्युनिष्टहरुको मतलाई भजाएर आफ्नो स्वार्थ पुरा गर्न सामन्तीहरु र दलाल पुँजीवादीहरुले कम्युनिष्टको मुखन्डो भिरेर नागरिकहरुलाई विभिन्न रुप र रङमा शोषण गरी उनीहरुले आफ्नो स्वार्थ पुरा गरी रहेका छन । यस्ता अपराधीक चरित्र बोकेका दलालहरुले वास्तविक कम्युनिष्ट पार्टी भित्रपनि सोहि प्रकारका अपराधीहरु घुसाएर सच्चा कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाउन लागि परेका तथ्यहरु समेत छन् । यस्ता सबै कुराहरुबाट चनाखो हुन सके मात्र आत्मगत परिस्थति अनुकूल बनाउन सकिन्छ ।