शनिबारीय साहित्य : कविता
*** ***
तिमीले आगो चिसो हुनु पर्छ भन्यौ
आगोलाई अनुशासित
र स्थिर बस्नु पर्छ भन्यौ
तर महोदय
आगो चिसो पनि हुदैन
आगो डराएर
तिम्रो रैती पनि बन्दैन
र आगो,
तिमीले तोकिदिएको चौहद्दीमा
चुपचाप स्थिर पनि बस्दैन ।
तिमीले भन्यौ
आगो कलात्मक हुनु पर्छ
आगो प्रतीकात्मक हुनु पर्छ
बिम्बात्मक र आलङ्कारिक हुनु पर्छ
तर महाशय,
आगो आक्रामक हुन्छ
सिधा सिधा देखिने र पोल्ने हुन्छ
आगोको अलङ्कार बल्नु हो
आगोको बिम्ब न्यानो र उज्यालो हो
आगोलाई अरु कुरा थाहा छैन
आगोलाई तिम्रो आदेश थाहा छैन
तिम्रो रुचीको वारेमा
आगोलाई केही जानकारी छैन
आगो तिम्रो आदेशमा
बल्ने र निभ्ने पनि गर्दैन ।
महाशय !
मेरा कविता पनि आगो हुन
आगो-प्रेमीहरूलाई यो कुरा थाहा छ
जसरी जङ्गली जनावरहरू
आगो देखेर डराउँछन
तिमी पनि आगो देखेर डराउँछौ
यो कुरा मलाई थाहा छ
त्यसैले म आगो कविता लेख्छु ।
महाशय !
तपाईलाई आगो निभेको मन पर्छ
मलाई भने तपाई डराएको मन पर्छ ।
********
२०८१ भाद्र १२ सिनामंगल