२२औं समिटार हत्याकाण्ड स्मृति दिवस सम्पन्न

२२औं समिटार हत्याकाण्ड स्मृति दिवस सम्पन्न

चितवन ।
२०५९ भदौ १० गते शाही नेपाली सेनाद्वारा गिरफ्तार गरि निर्ममतापूर्वक हत्या गरिनु भएका महान सहिदहरु कमरेड इश्वरी खनाल प्रतीक , हरि सुवेदी बिपिन र हरिबाबू सेढाईको स्मृतिमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , चितवनले २२औं समिटार हत्याकाण्ड स्मृति दिवस राप्ती न.पा.१० समिटारमा सम्पन्न भएको छ ।
२०५९ भदौ १० गते राती सुतिरहेको अवस्थामा शाही नेपाली सेनाद्वारा गिरफ्तार गरि उहाँहरुको नृशंस हत्या गरिएको थियो । गिरफ्तार गरेर अमानवीय शारीरिक यातना दिन थालेपछि क.प्रतिकले आफुहरु राजनैतिक कार्यकर्ता भएको कारण राजनैतिक र मानविय व्याबहार गर्न माग गर्नु भएको थियो । शाही सेनाले धेरै बोल्यो भनेर क. प्रतिकको जिब्रो काटी दिएका थिए । भरत चेपाङ सेनाको बुट र एसएमजीको कुन्दाको कुटाई खाएर अधमरो भै सक्नु भएको थियो । हरि सुवेदी घेरा तोड्न खोजेर भाग्न खोज्दा तल आँगनमा रहेका सेनाहरु उँहाको पिछा गर्दै गएपछि भरत चेपाङ भागेर ज्यान जोगाएर घटनाको जानकारी पार्टी सम्पर्कमा र्पुयाउन सफल हुनुभएको थियो ।
हरि सुवेदी र हरिबाबु सेढाईलाई पनि गिरफ्तार गरि क.प्रतीक सहित अमानवीय यातना दिदै तिनैजनालाई घिसार्दै रातमाटे दर्लामी डाडाँमा ल्याएर हत्या गरेर तीन दिन सम्म लास समेत कुरेर सेना बस्यो । लास कुहिएर गन्हाउन थालेपछि सेनाले छोडेर हिड्यो । गाउँले जनताको सहयोगमा पार्टीले खाल्टो खनेर ब्यवस्थापन गरेको थियो । कार्यक्रममा सो घटनाका एक मात्र जिवित योद्धा क. भरत चेपाङ गोबिन्दले त्यो कहालीलाग्दो रातको यथार्थ विवरण र आफ्ना अनुभुती सुनाउँदै गर्दा सहभागी सबैका आँखा रसाएका थिए ।
लोथरको डिहिटारमा चल्दै गरेको जनमुक्ति सेनाको आधारभुत तालिमको व्यवस्थापन र सुचना सम्पर्कको जिम्मेवारीमा रहेको बेला तीन जना कमरेडहरुको हत्या भएको थियो । सोही तालिममा सहभागी मध्ये एक कमरेड अम्बिका मुडभरी पनि हुनुहुन्थ्यो । हाल पार्टी महाधिवेशन आयोजक समितिको सचिवालय सदस्य एवं क्रान्तिकारी महिला संगठन , नेपालका संयोजक अम्बिका मुडभरी उक्त कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यो दिन अर्थात २०५९भदौ १०गते तालिमको अन्तिम दिन थियो । तालिम सकेर तत्कालीन जिल्ला इन्चार्ज श्याम र आफू फर्कदै गर्दा तलको सेन्ट्री पोस्टबाट कमरेड प्रतिकले सबै ठिकठाक छ भनेर लेखेको पत्र र क. प्रतीक लगायत हरिबाबु सेढाई र हरि सुबेदिको सहादतको खबर एकैजनाले एकैचोटि क. श्यामको हात लगाएको प्रसंग क. अम्बिकाले सुनाउनु भयो । उहाँले क.प्रतीक लगायत समिटारका तिनै जना सहिदहरुको व्यक्तित्वको बारेमा पनि चर्चा गर्नु भएको थियो । उहाँले वर्गसंघर्षमा कोराक गाविसको भुमिका , त्यस गाबिसका आठ जना सहिदहरु र पहिलो जनसरकार घोषणा लगायतका विषयमा आफ्ना अनुभुती राख्नु भयो ।
कार्यक्रमका अध्यक्ष एवं सञ्चालक चितवन जिल्ला इन्चार्ज क. बिकासले घटनाको दुई दिन अघि मात्रै आफू सोही ठाउँमा क.प्रतीक लगायत कमरेडहरु संगै रात बिताएको घटना सम्झना गर्नु भयो । उहाँले बलिदानको जगमा खडा भएको आन्दोलनमा धोका भए पनि सहिदहरुको सपना पूरा गर्ने बाटोबाट बिचलित हुने छुट कसैलाई नरहेको बताउनु भयो ।
घटना स्थलमा युद्धकालमै पार्टीले सहिद स्मृतिमा एक प्रतिक्षालय निर्माण गरेको थियो । कार्यक्रमकै दौरानमा सो प्रतिक्षालय वरपर सरसफाइ गरि प्रतिक्षालयलाई रंग रोगन समेत गरिएको छ ।
सो कार्यक्रममा पार्टी सचिवालय सदस्य अम्बिका मुडभरी , जिल्ला इन्चार्ज बिकास, जिल्ला संयोजक जगत, पार्टी केन्द्रिय सल्लाहकारहरु दिवाकर न्यौपाने , बाबुराम प्यासी , सहिद अनिस कुवरका बुबा खड्गबहादुर कुवर , नेताहरु कमल गिरि , उक्त घटनामा घेरा तोडेर वचन सफल एक मात्र जिवित योद्धा भरतलाल चेपाङ , महिला नेत्री कल्पना छेत्री ,युवा नेताहरु सन्तोष बस्ताकोटी , गोपाल भट्टराई , रामचन्द्र बिक , विद्यार्थी नेता सबिन खड्का , लगायत अन्य नेता कार्यकर्ता एवं समिटार वरपरका स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो । माओवादीहरु त गाउँ छोडेर सत्तामै हराए भन्ने सोचेका थियौं , सहिद सम्झेर गाउँ आउने माओवादी पनि बाँकी रहेछन भनेर स्थानीय मानिसहरूले प्रतिक्रिया दिएका थिए ।