कमरेड रामवृक्ष यादव, न्यानो लाल सलाम !

कमरेड रामवृक्ष यादव, न्यानो लाल सलाम !

शनिबारीय साहित्य ः संस्मरण
***  ***

(क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मोहन वैद्य ‘किरण’ले २०६० साल भदौमा लेख्नुभएको यो लेख उहाँको डायरीमा प्राप्त भएको हो । शहीद रामबृक्ष यादवको एघारौैँ स्मृति दिवसका सन्दर्भमा यो लेख विशेष सामग्रीका रूपमा २०६१ भदौ १ गतेको जनादेशमा प्रकाशित गरिएको थियो । अहिले पनि यो लेख उत्तिकै महत्वको रहेकोले रामवृक्ष यादवको स्मृति दिवशका सन्दर्भमा साभार गरि प्रकाशित गरिएको छ । – सम्पादक)

रत रह सङ्घर्ष में जीवन सङ्घर्ष है ।
या कुर्वान हो जा देश षै, यही तो उत्कर्ष है ।।
दब के ना रहना कभी, यही तो निष्कर्ष है ।
वह वक्त ही महान् है, जहाँ उत्सर्ग है ।।

उक्त कवितांश २०४७ को नव वर्षको सन्दर्भमा सिन्धुली कारागारमा रहेको बेला क.रामवृक्ष यादवद्वारा रचित एक गीति कविताबाट लिइएको हो । यो कवितांशमा जीवनलाई सङ्घर्षमय मानिएको छ र त्याग, वीरता तथा बलिदानको एक ओजस्वी सन्देश सशक्त रूपमा मुखरित भएको छ । त्यो सन्देश हो–वह वक्त ही महान् है, जहाँ उत्सर्ग है । वास्तवमा, क. यादवले शहादत प्राप्त गरेको समय महान् जनयुद्धको तयारीको समयका रूपमा धेरै नै महान् र भव्य रहेको छ ।

महान् जनयुद्धको तयारीको प्रक्रियामा सत्तासीन नेपाली काङ्ग्रेसका गुण्डाहरूद्वारा २०५१ साल भाद्र २ गते क.रामवृक्ष यादवको जघन्य हत्या गरिएको थियो । क.रामवृक्ष यादवले शहादत प्राप्त गर्नु भएको अहिले एक दशक पूरा हुँदैछ । यो एक दशक सिंगो नेपाली क्रान्ति र कम्युनिस्ट आन्दोलनको इतिहासमा त्याग, वीरता र बलिदानको एक अद्वितीय दशक बन्न गएको छ । यो एक दशकका एक अग्रणी वीर योद्धाका रूपमा क.रामवृक्ष यादव तमाम देशभक्त, जनवादी तथा वामपन्थीहरू र ने.क.पा.(माओवादी)का लागि अविस्मरणीय रहन गएको छ । कमरेड यादवले २००३ सालमा धनुषा जिल्लाको बर्मझिया गाउँको एउटा किसान परिवारमा जन्मिई आइ.ए.सम्म उतीर्ण हुने अवसर पाउनु भएको थियो । वहाँ गरिबी, रुढिवादी सामाजिक परम्परा र सामन्ती उत्पीडनका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आउनु भयो । वहाँमा सामन्त, शोषक र जमीन्दारहरूप्रति असीम घृणाको भावना थियो । त्यसैले त उहाँ जीवनभर सामन्तवर्गका विरुद्धको सङ्घर्षमा लगातार संलग्न भैरहनु भयो । उहाँले सामन्तवाद, साम्राज्यवाद र विस्तारवाद विरोधी जनआन्दोलनमा एक सशक्त योद्धाको भूमिका निर्वाह गर्नु भएको थियो । यिनै सङ्घर्षका बीचमा वहाँ पटक–पटक जेलमा पनि पर्नुभयो । एक पटक वहाँ दुश्मनलाई छलेर जेलबाट मुक्त हुन पनि सफल हुनुभएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत चौथो महाधिवेशन कालदेखि नै क.यादव सङ्गठन र सङ्घर्षमा संलग्न हुँदै आउनु भएको थियो । वहाँ विभिन्न जनवर्गीय सङ्गठनहरूका कामहरूमा पनि सरिक रहँदै आउनुभयो । वहाँले पार्टीमा छँदा साङ्गठनिक, राजनीतिक र वैचारिक फाँटमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । पार्टी केन्द्रमा चल्ने जटिल र भीषण दुई लाइन सङ्घर्षहरूमा वहाँ सदैव गलत चिन्तन, विचार, प्रवृत्ति तथा कार्यदिशाको विरोध र सही चिन्तन, विचार, प्रवृत्ति तथा कार्यदिशाको पक्षमा उभिनुभयो । तमाम प्रकारका सुधारवादी, अराजकतावादी र विर्सजनवादी विचलनहरूका विरुद्ध सङ्घर्ष गर्दै नयाँ ढङ्गको पार्टीको रूपमा ने.क.पा.(माओवादी)लाई विकसित गर्ने प्रक्रियामा केन्द्रीय समितिको एक जिम्मेवार सदस्यको हैसियतले वहाँको उल्लेखनीय भूमिका रह्यो । साथै वहाँले संयुक्त जनमोर्चा नेपालको केन्द्रीय समितिमा रहेर समेत महत्वपूर्ण कामहरू गर्नुभयो ।

एक प्रबुद्ध राजनीतिक नेताका साथै क.यादव प्रखर सांस्कृतिक योद्धा पनि हुनुहुन्थ्यो । वहाँको गायन, वादन र नृत्यको क्षेत्रमा पनि राम्रो दखल थियो । वहाँले मैथिली भाषामा कैयौं गीति कविताहरू रच्नुभयो र तिनमा सङ्गीत भर्ने काम पनि स्वयं नै गर्नुभयो । वहाँले रचेका विभिन्न गीति कविताहरूमा ‘पेरु में लाल झण्डा फहरायी रे’ शीर्षक रचना निकै महत्वपूर्ण रहेको छ । यसमा सर्वहारा अन्तर्राष्ट्रियतावादी भावना सशक्त रूपमा अभिव्यक्त हुन गएको छ । मधेसमा जनवादी सांस्कृतिक आन्दोलनलाई विकसित तुल्याउने र मैथिली भाषाको गरिमालाई अगाडि बढाउने काममा वहाँको उल्लेखनीय योगदान रहेको छ ।

क.यादव बाहिर र भित्र दुवै ठाउँमा देखिने तमाम षड्यन्त्र, छलछाम, पाखण्ड र अन्यायका विरुद्ध जिन्दगीभर लडिरहनु भयो । वहाँ दृढता र शाहसका धनी हुनुहुन्थ्यो । आफ्नो कार्यक्षेत्रमा रहँदा पार्टीका निर्णय र भावनाहरूको कार्यान्वयन गर्ने काममा वहाँ सदैव दृढ रहनु हुन्थ्यो । वहाँ तलका सामान्य विवाद र झगडामा कहिल्यै फँस्नु हुन्नथ्यो । वहाँले हरेक चिजलाई माथिबाट हेर्ने प्रयास गर्नु हुन्थ्यो । वहाँ मृदुभाषी, प्रष्ट वक्ता, सरल र गम्भीर प्रकृतिको हुनुहुन्थ्यो । जनताको बीचमा जाने र भिज्ने काममा वहाँ निकै कुशल हुनुहुन्थ्यो । त्यसैले वहाँ जनमानसमा मास्टर सापको नामले सुपरिचित एक लोकप्रिय नेताका रूपमा स्थापित हुन पुग्नुभएको थियो । वहाँको व्यक्तित्वका धेरै पाटा छन् । देश, जनता र क्रान्तिका निमित्त समर्पित एक वीर क्रान्तिकारी कम्युनिस्ट योद्धा हुनु नै वहाँको व्यक्तित्वको प्रमुख पाटो हो ।

ने.क.पा.(माओवादी) को नेतृत्वमा संचालित महान् जनयुद्धको तयारीको प्रक्रियामा कमरेड यादवको शहादत भएको थियो । अहिले महान् जनयुद्ध थालिएको पनि साढे सात वर्ष भैसकेको छ । यो सिंगो अवधिमा पी.वी.एम. क.सुरेश वाग्ले, सी.सी.एम. क.रीतबहादुर खड्का लगायत करीब ६ हजार जति वीर योद्धाहरूको शहादत भैसकेको छ । कमरेड यादवको सम्झनामा “बर्मझिया” शीर्षकमा एक सुन्दर कविता रच्ने महान् सांस्कृतिक योद्धा तथा अखिल नेपाल जनसांस्कृतिक सङ्घका अध्यक्ष क.कृष्ण सेन “इच्छुक”ले पनि शहादत प्राप्त गरिसक्नु भएको छ । सिंगो देशका साथै मधेसमा पनि थुप्रै कमरेडहरूको शहादत भएको छ । यस सन्दर्भमा धनुषा जिल्लाकै वीर शहीद क.अजवलाल यादव र क.रामवृक्ष यादव कै छोरा वीर शहीद क.शेखर यादव उल्लेखनीय रहनु भएको छ । महान् अमर शहीदहरूको यो विशाल लामबन्दीलाई उत्प्रेरित गर्ने र महान् जनयुद्धको यो भव्य ऐतिहासिक प्रक्रियामा निरन्तर नयाँ उर्जा थप्दै जाने काममा क.रामवृक्ष यादवको शहादतले विशेष ऐतिहासिक भूमिका खेलेको छ ।

नेपाली नयाँ जनवादी क्रान्ति र कम्युनिस्ट आन्दोलनका एक प्रभावशाली नेता तथा महान् वीर योद्धा क.रामवृक्ष यादवको सङ्घर्षमय जीवन र गौरवमय व्यक्तित्वबाट हामीले सिक्नुपर्ने अमूल्य शिक्षाहरू धेरै छन् । ती मध्ये त्याग, वीरता र बलिदानी भावको उदात्त शिक्षा नै हाम्रा लागि एक सर्वोत्कृष्ट शिक्षा हो । आउनुहोस्, अमर शहीद क.रामबृक्ष यादवले देखाएको त्याग, वीरता र बलिदानको बाटोमा निरन्तर अगाडि बढ्दै जाऔं ! क. रामवृक्ष यादवको सम्मान र सम्झनामा फेरि पनि लाल सलाम अर्पण गरौं ! क. रामवृक्ष यादव, न्यानो लाल सलाम !