जनमुक्ति सेनाको एम्बुसबाट बचेका खेमबहादुर खत्री, युनिफाइड कमान्डको एन्काउन्टरमा सहिद भए

जनमुक्ति सेनाको एम्बुसबाट बचेका खेमबहादुर खत्री, युनिफाइड कमान्डको एन्काउन्टरमा सहिद भए

शनिबारीय साहित्य ः सहिदगाथा
*** ***

२०६१ साल साउन १५ गते । संकटकाल चरम उत्कर्षमा थियो । अचानक एउटा ठूलो आवाज आयो र भुईँचालो आए जसरी जमिन थर्कियो । घरहरू पनि थर्किए । रत्नगर नगरपालिका बैरिया स्कुलको नजिकै बाटो पारी आफ्नो घरको पिँढिमा बसेर चिया खाइरहेका लावण्य पन्तको हातबाट चियाको गिलास घोप्टिएर जिउभरी पोखियो । उनको मन पनि थर्कियो । बरररर् गोली चल्यो र केही बेर चलिरह्यो । एकछिन पछि चकमन्न सुनसान भयो । केही मोटरसाइकल भुटुटु हुइँकिएर आए र नरोकी उस्तै वेगमा कतै गए । एकछिन फेरि सुनसान भयो । केही बेर पछि मान्छेहरू कराएको सुने उनले । धेरै बेर पछि फेरि गोली चलेको सुने, ड्याम्म ड्याम ….ड्याम …. । र फेरि उस्तै मसानघाटको जस्तै शान्ति । लावण्यले तत्कालै केही मेसै पाएनन् । यो एक शक्तिशाली एम्बुस थियो । सेनाको गौंडो कुरेर बसेको जनमुक्ति सेनाले थापेको धराप ।
लावण्य पन्त माओवादी पार्टीका पुराना नेता र भरपर्दो सूचना श्रोत थिए । आफू माओवादी पार्टीको सदस्य र त्यस भेगको एउटा विश्वसनीय सेल्टर हुँदाहुँदै पनि लावण्यले त्यो एम्बुसको बारेमा सुइँको समेत पाएका रहेनछन् । यदि पाएका हुन्थे भने सायद उनी ढुक्कले घरमा चिया खाएर बस्ने थिएनन् होला ।

२०६१ साउन १४ गते संयुक्त सुरक्षा फौज (unified command) ले पश्चिम चितवन मङ्गलपुरबाट माओवादी कार्यकर्ता पार्बती न्यौपाने रश्मिलाई गिरफ्तार गरेको थियो । गिरफ्तार गरिएकी रश्मिको आँखामा कालो पट्टि बाँधेर भोलिपल्ट बिहानै उनीहरू टाँडिबाट बैरिया हुँदै जुटपानीतिर लागे । गिरफ्तार परेका नेता कार्यकर्तालाई त्यसरी घुमाउँदा सेना पुलिसलाई दुईटा फाइदा हुन्थ्यो । पहिलो शारीरिक र मानसिक यातनाका कारण उसले आत्मसमर्पण गर्न सक्थ्यो, दोश्रो उसले आत्मसमर्पण गरेर अरूको सुराकी गरेको भ्रम पार्टीसम्म पु¥याएर गडबडी मच्चाउन सजिलो हुन्थ्यो ।

शक्तिखोर गैरिबारिका खेमबहादुर खत्री र होमबहादुर गुरुङ पनि बिहानै टाँडी बजार जान हिँडेका थिए । जुटपानी चोकमा रोकिराखेको माइक्रोबस देखेपछि उनीहरू साइकल लिएर माइक्रो भएनेर पुगे । सुरक्षा फौजले साइकल सहित उनीहरूलाई नियन्त्रणमा लियो । माइक्रोमा पहिल्यैदेखि केही सर्वसाधारण मान्छे थिए, ती पनि गिरफ्तार गरिएका मानिसहरू रहेछन् । सबैलाई भित्र कोचेर नियन्त्रणमा लिएका साइकलहरू माइक्रोबसको छतमा हालेर टाँडी बजारतर्फ फर्किए । खोलेसिमल बजारनेर आइपुगेपछि सबैको आँखामा पट्टि बाँधी दिए । युद्धको बिभिषिका भोग्नेलाई मात्रै थाहा हुन्छ । जब मान्छेको आँखामा पट्टि बाँधेर निष्पट्ट अँध्यारो बनाइन्छ नि, उसको कल्पनाको दृष्टि झन भयङ्कर हुन्छ । मनको वेग तुफान भन्दा तेज हुन्छ । जीवन र मरणको दोसाँध उनीहरू छर्लङ्ग देखिरहेका थिए । तर एकअर्कालाई सुनाउन सकेनन् ।

पट्टी बाँधिएका आँखाबाट उनीहरूले बाँच्ने आशा देखेकै थिएनन् । सेना पुलिसले दिने मृत्युको कतिवटा भेराइटी सम्झेरै उनीहरू ललाकलुलुक परिसकेका थिए । गाउँमै माओवादी पार्टीका कार्यकर्ताहरूकै मुखबाट जेल÷ हिरासतमा पाएको यातना र अपमानको कथा सुनेका थिए । बन्दिहरूलाई मुठभेडका नाममा मारिएको उनीहरूले देखे सुनेका थिए । सुरक्षा फौज बाहेक सबैका आँखामा पट्टि थियो त्यसैले उनीहरूले एकार्काको अनुहारको डर त देखेनन् । तर आफ्नो मनभित्रको डर झन् डरलाग्दो भएर बढ्दै थियो । माओवादी पार्टीका कार्यकर्ताहरूले सुनाउँदा आङ्गै सिरिंग हुने ‘फेन्टासी’ जस्ता लाग्ने युद्धको भयानकता उनीहरू भोगी रहेका थिए । कथा सुन्नु र भोग्नुमा धेरै फरक हुन्छ ।

अचानक ठूलो आवाज आयो । होमबहादुर गुरुङका अनुसार गाडी लगभग दस मिटर भन्दा बढी घिसारिएको थियो । उफ । आँखामा कालो पट्टी भएपनि कालको मुख मात्रै हैन सिंगै कालको कैयौं तस्बिर उनको मनमा कैयौंपटक बन्यो र च्यातियो ।

‘दुश्मन’ उँभो लागेको थाहा पाएर जनमुक्ति सेनाले एम्बुस थापेर बसेको रहेछ । त्यत्रो ठूलो एम्बुसमा पर्दा पनि घटनस्थलमा कसैको मृत्यु भएन । गाडीको अगाडि सिटमा राखिएकी पार्बती न्यौपानेलाई केही पनि भएन । सरकारी सुरक्षा फौजका सदस्य टोलि र माओवादी आरोपमा पक्राउ परेकाहरू सामान्य घाइते भए । एम्बुसमा परेपछि सबैले आआफ्नो आँखाको पट्टी खोले । गिरफ्तार गर्ने र गिरफ्तारीमा पर्नेहरूको विभेद एकै छिनलाई भए पनि भत्कियो । बन्दिहरू पनि भागेनन्, उल्टो आफैंलाई गिरफ्तार गर्ने घाइते सुरक्षाकर्मिहरूको स्याहार गरे ।

नेपाल प्रहरीका इन्स्पेक्टर भरत प्रसाईं गम्भीर घाइते भएका थिए । उपचारको लागि भरतपुर लैजाँदै गर्दा उनको मृत्यु भएको होमबहादुरले समाचारमै सुने । भरत प्रसाईं जब्बर मान्छे थिए । त्यो समय जेलमा बन्दी जीवन बिताई रहेका पिताम्बर पौडेल ‘उसको आफ्नो वर्गप्रति निष्ठावान’ र ‘माओवादी प्रति ज्यादै असहिष्णु’ भनेर सम्झन्छन् । एम्बुसमा परेर घाइते हुँदाहुँदै पनि उनले गोलि चलाई रहेकोे कुरा त्यतिखेर चर्चाको विषय थियो ।

खेमबहादुर खत्री माओवादी पार्टीको साधारण सदस्य समेत थिएनन् । रणकुमारी र भिमबहादुर खत्रीका कान्छा छोरा थिए खेम । उनको जन्म २०३२÷९÷१३ गते चितवन जिल्लाको तत्कालीन काउले गाबिसको थापाथलीमा भएको थियो । उनका दुई दिदी, दुई भाइ र दुई बहिनी थिए । २०३४ सालमा भिमबहादुरको परिवार शक्तिखोरको गैरिबारिमा बसोबास गर्न थाल्यो । गैरिबारिकै स्कुलबाट कक्षा आठसम्म अध्ययन गरेका खेमले गैरिबारिकै कृष्णमती गुरुङसँग प्रेम बिबाह गरे । ‘जंगलमा गाईबस्तु चराउँदा चराउँदै लभ परेको हो’ भनेर सोध्दा कृष्णमती लाजले भुतुक्कै हुँदै ‘हो’ भन्थिन् । उनीहरूका चार भाई छोरा छन् । पछि खेमले कृष्णमतिकै बहिनीसँग दोश्रो विवाह गरे । कृष्णमतिको कान्छा छोरा र कान्छी पट्टिकी एकमात्र छोरीको जन्म खेमबहादुरको हत्या भएको चार महिनापछि क्रमश मङ्सिर र पुसमा भयो । श्रीमानको मृत्युुको एक वर्षपछि कृष्णमतिले नै बहिनीको पुनर्विवाह गरिदिइन् र एक मात्र छोरीको जिम्मेवारी पनि आफैले लिइन् ।

२०६१ साउन १४ गते रोपाइँ सकेर १५ गतेको दिन खेम र होमबहादुर गुरुङ बजार जाँदै गर्दा पक्राउ परे । पक्राउ पछि उनीहरूलाई पुलिसले माओवादीको सिआइडीको आरोप लगायो । बैरिया चोकमा एम्बुसमा परेर थुनी राखेको कोठाको पछाडिको ढोकाबाट खेम भाग्न खोजेका थिए । भाग्यो भाग्यो भनेर हल्ला भयो । सेना प्रहरी उनको पछि लागे । पछाडि चैते धानको खेत थियो । उनी धानबारीमै हराए । कोठामा थुनेर राखेका अरू बन्दिहरू पनि थिए । त्यही भएर घेरा हालेर खोजी गरेन होला तर उनीहरूले निगरानी गरिराखेका रहेछन् । धेरै बेर सुनसान भएपछि बैरिया स्कुलको पछाडी पट्टी नन्दलालको धानबारीबाट खेमबहादुरले मुन्टो उठाएर हेरे । उनलाई खोजी रहेका दुश्मनको नजर पर्ने बित्तिकै ड्याङ्ग ड्याङ्ग गोली चल्न थल्यो । खेमबहादुरको जीवन त्यहीँ अन्त्य भयो । यो खबर सुनेर खेमकी आमा रणकुमारीको कानै बन्द भयो । अहिले पनि उनी राम्रोसँग सुन्दिनन् । सन्तानको मृत्यु भन्दा अप्रिय खबर के हुन्छ र ? अब सुन्न के नै पो बाँकी रह्यो र जिवनमा ।

भरत प्रसाँईलाई अस्पताल पठाएपछि सबैजनालाई एउटा घरमा थुनेर राखेका थिए । सेनाको अर्को गाडी आएर एम्बुसमा परेकाहरूलाई लगेर गयो । अस्थायी सुरक्षा क्याम्प बनाइएको रत्ननगर नगरपालिकामा पुगेपछि होमबहादुर गुरुङले थाहा पाए । सँगै गिरफ्तार गरिएका मध्य आफ्नै साथी खेमबहादुर खत्री त्यहाँ छैनन् । गिरफ्तार गरिएका अरू सबैसँग केके भयो त्यो पनि होमबहादुरले मेसो पाएनन् । त्यो दिन साँझसम्म उनी र गोर्खा तिरका प्रवीण ढकाल भन्ने मान्छे सँगै हिरासतमा थिए । दिनभरि मानसिक र शारीरिक यातना पछि होमबहादुरलाई छोडी दिए । प्रवीण ढकाललाई पÞmेरि आँखामा पट्टी बाँधेर फेरि क्याम्पमै पसाएको देखे होमबहादुरले । शरीरभरि जताततै गाडिएका सिसाका टुक्रा थिए । बमको धमाका र यातना गृहबाट अधमरो भएर अबेर घर पुगे । एकै छिनपछि रेडियोमा समाचार बज्यो, एम्बुस थाप्ने आतङ्ककारीको कमाण्डर खेमबहादुर खत्रीको मुठभेडमा मृत्यु ।

छोराको हत्यापछि तत्कालीन शक्तिखोर गाबिसका पूर्व अध्यक्ष बलबहादुर श्रेष्ठलाई लिएर सरकारी सुरक्षा संयन्त्रका हाकिमहरूकहाँ भिमबहादुर तीन दिनसम्म धाए । अन्तिममा शाही सेनाका कमाण्डरले ‘आतङ्ककारीको कमान्डर’ भन्ने सहि गरेर लास बुझ्नु भने । भिमबहादुरले छोराको लास बुझेनन् । सदगत गर्न गाउँबाटै दाउरा लिएर केही मलामी पनि देवघाट पुगिसकेका थिए । त्यो दाउरा त्यत्तिकै त्यँही छोडेर उनीहरू गाउँ फर्के ।

घटनाको बीस वर्ष पछि इतिहासका टुक्राटुक्री बटुल्दै गैरिबारी खेमबहादुरको घर पुग्दा उनका बुबा भर्खरै बनबाट आइपुगेका थिए । आमा रणकुमारी पनि घरमा थिइनन् । खेमको जीवनसाथी कृष्णमति गोठाला गएकी थिइन् । त्यही गोठाला जाँदा गाँसिएको पिरती रक्षक भनिएकाहरूले नै चुँडालिदिए ।

जनयुद्ध नेपाली जनताको अपार त्याग र बलिदानको जगमा मुक्तिको महान् सङ्घर्ष थियो । युद्ध धेरै निर्मम हुन्छ । विवेकले नियन्त्रण नगरिएको फौजले आतङ्क मात्रै सिर्जना गर्दछ । राज्यले जनताको जायज मागहरू पूरा गर्नुको साटो गिरफ्तारी र अनेकौं यातना, बलात्कार र हत्या समेतको घटनाले जनताको अगाडि आत्मरक्षाका खातिर युद्ध मात्रै विकल्प थियो । जनयुद्ध नेपाली जनताको चाहना थिएन । यो त जनता विरुद्ध शासकहरूले थालेको युद्धको प्रतिरोध थियो । युद्धमा कोही सहभागी भए पनि वा नभए पनि युद्धले सबैलाई समेट्दछ । युद्धको त्यही भुमरीमा परे खेमबहादुर पनि ।

श्रीमानको हत्यापछि कृष्णमति माओवादी पार्टीसँग जोडिइन् । घर नजिक हुने र पायक पर्ने कार्यक्रमहरूमा जान थालिन् । बुबाको हत्या हुँदा ठूलो छोरा त्यस्तै १२–१३ वर्षका थिए होलान् । दुखजिलो गरेर पाँच सन्तानको जिम्मेवारी पूरा गरिन् । पार्टीमा लाग्दा कृष्णमतिलाई ससुराले भन्नू नभन्नु गाली गरे । उनको चरित्र माथि प्रश्न पनि उठाए । तर कृष्णमतिलाई आफ्नो निर्दोष लोग्ने मारिएको बदला क्रान्तिमा लागेर मात्रै पूरा गर्न सकिन्छ भन्ने लागिरह्यो । तर बिस्तारै माओवादी पार्टी क्रान्तिको बाटो छोडेर अलपत्र परेको जस्तै लाग्छ कृष्णमतिलाई । ‘खै सर, सँधै यस्तै त के होला र ? यत्रो शहिदको रगत खेर त जाँदैन होला नि ।’ परिवर्तनको आशा उनले अझै पनि मनको एउटा कुनामा पोको पारेर राखेकै छिन् ।

श्रोत ः भिमबहादुर खत्री, कृष्णमति गुरुङ खत्री, होमबहादुर गुरुङ, पार्वती न्यौपाने, पिताम्बर पौडेल, लावण्य पन्त, बलबहादुर बिकसँगको कुराकानी ।