शनिबारीय साहित्य ः कविता
*** ***
जब कुनै घटना घट्छ
त्यो पनि नितान्त नयाँ
मानिसहरूमा उत्सुकता बढ्छ ?
के हो ? किन ? कसरी ?
अब के हुन्छ ? आदि आदि ।
विज्ञान सोच्न सुरु गर्छ
विज्ञान कारण खोज्न सुरु गर्छ
मानिसहररू हतारमा हुन्छन्
त्यो पनि आइक्यु लेवल तल भएकाहरू !
त्यति नै बेला
विज्ञानलाई उछिन्दै धर्म आइपुग्छ
पात्रो पल्टाउँछ
ग्रह–नक्षत्र हेर्छ
धूलौटो कोर्छ
या जोखाना हेर्छ
र तुरुन्तै जवाफ दिन्छ ।
अधिकाङ्श मानिसहरू
सत्यको हैन जवाफको खोजीमा हुन्छन्
जवाफ जतिसुकै झुर हवस
उनीहरूलाई छु मतलव ।
उनीहरू चिच्याउन थाल्छन–
लौ हेर लौ !
विज्ञान लद्दु विद्यार्थी जसरी
झोक्राएर बसेको छ
बिचरो कारण खोज्दै छ
यी……यता धर्मले जवाफ दिइसक्यो
कुरा त यो हो नि !
उनीहरू भन्छन –
जवाफ दिन पनि कारण खोज्नु पर्छ ?
चाहिँदैन कुनै कारण सारण
प्रभुको इच्छा हो
प्रभुले चाहेपछि हुन्छ ।
अरु त अरु
यसो भन्नेको जमातमा
केही वैज्ञानिक पनि छन्
विज्ञान विषयकै प्रोफेसरहरू
र थुप्रै विद्यार्थीहरू पनि छन् ।
यसरी
गलत तर छिटो जवाफ दिएर
धर्म धुरन्धर बाठो कहलिएको छ
अनि,
सही तर ढिलो जवाफ दिनाले
विज्ञानलाई हेप्ने गरिएको छ ।
***
२०८१ श्रावण १०
सिनामंगल