दिनदिनै

शनिबारीय साहित्य ः कविता
*** ***

 
भरखरै बाह्र कक्षा
पास गरेको युवा
नागरिकतासागरिकता
च्यातचुत पारेर
आफैंलाई मारेर
अन्तै कतै गइरहेको छ
एउटा उज्यालो बिहान
अन्तर्राष्ट्रिय एअरपोर्टबाट
अस्ताउँदै गइरहेको छ ।
 
त्यसैगरी
एउटा मिठो हाबा
सुस्ताउँदै सुस्ताउँदै
मन अमिलो पारी
धरतीबाट पर सरिरहेको छ
बेकुफ सत्ताधारी
दिनदिनै
नयाँ मुकुट फेरिरहेको छ ।
 
म भने
अलमलमा छु
कुनै नयाँ अलि प्रभावी
अस्त्र कसरी बनाउन सकिएला
र जम्मै नरद्वेषी परजीवीलाई
सखाप पारी
सधैं ढुक्कसँग
कसरी निदाउन सकिएला ।