सिक्किम विलयपछि जो पछुताए, राजनीतिबाट सन्यास लिए, मंगलबार मृत फेला परे

सिक्किम विलयपछि जो पछुताए, राजनीतिबाट सन्यास लिए, मंगलबार मृत फेला परे

भारतको सिक्किम प्रान्तका पूर्वमन्त्री रामचन्द्र पौड्याल (आरसी पौड्याल) को ८० वर्षको उमेरमा निधन भएको छ । जुलाई ७ मा बेपत्ता भएका पौड्याल यही मङ्गलबार पश्चिम बङ्गालको एक नहरमा मृतावस्थामा फेला परे । पौड्याल सिक्किमको पाकयोङ्ग जिल्लाको आफ्नै गृहनगर छोटा सिङ्गताममा बस्दै आएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार ७ जुलाई बिहान ९ बजे घरबाट तल सेतीपुलस्थित अन्तरी दिदीको घर जाने भनी निस्किएका थिए । दिउँसो २ बजे घर आइपुग्छु भनेर निस्किएका पौड्याल त्यो बेलादेखि सम्पर्कविहीन भएका थिए । त्यसपछि खोजीका लागि सिक्किम सरकारले विशेष जाँच दल (एसआइट) गठन गरेर खोजी थालेको थियो । तर, उनको कुनै अत्तोपत्तो लागेन ।
मङ्गलबार पश्चिम बङ्गालको सिलिगुडीस्थित फूलबारीको टिस्टा नहरमा तैरिएको अवस्थामा पौड्यालको शव भेटिएको छ । घडी र पहिरनले उनको शव पहिचान भएको हो । प्रहरीले प्रथम दृष्टिमै उनको शव टिस्टा नदीको माथिल्लो हिस्साबाट बगेर आएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि, उनको मृत्युबारे विस्तृत जाँच भइरहेको पनि बताइएको छ ।

को हुन् आरसी पौड्याल ?
पौड्याल भारतको सिक्किम प्रदेश विधानसभाका पूर्वउपसभामुख र प्रदेशका पूर्वमन्त्री भइसकेका व्यक्ति हुन् । तर, यत्तिले मात्र उनको परिचय पूर्ण हुन्न । सिक्किमलाई भारतमा विलय गराउन भूमिका खेल्दा तत्कालीन सिक्किमका प्रधानमन्त्री ९पछि भारतीय राज्यका मुख्यमन्त्री० काजी लेन्डुप दोर्जे खाङसर्पाका प्रमुख सारथि पनि मानिन्छन् । विश्वभर देशद्रोहीको नाम लिँदा लेन्डुपको नाम अग्रपङ्क्तिमा राखिन्छ । उनकै अगुवाइमा १६ मे १९७५ मा सिक्किम भारतमा विलय भएको थियो । दोर्जेकै अगुवाइमा सिक्किम भारतमा विलय हुँदाका एक सशक्त सहयोगी पात्र थिए पौड्याल ।
सिक्किम भारतमा विलय गराउने निर्णय हुँदा पौड्याल उपसभामुख थिए भने पछि दोर्जे मुख्यमन्त्री भएको सरकारमा उनी वनमन्त्री बनेका थिए । पछि देश बेचुवाको आरोप लागेपछि राजनीतिमा सफल हुन सकेनन् । पश्चातापको जिन्दगी व्यतीत गर्दैै बाँकी जीवन धर्मकर्म, नेपाली भाषा संस्कृतिको संरक्षण र उन्नयनमा बिताए ।


सङ्घर्ष, भारतमा विलय र पश्चाताप
सिक्किममा सन् १६४१ मा फुन्त्सोङ्ग नमग्याल पहिलो चोग्याल ९राजा० बनेका थिए । तिब्बतका तीन बौद्ध भिक्षुद्वारा फुन्त्सोङ्गलाई पहिला चोग्याल घोषणा गरिएको थियो । त्यसपछि नमग्याल राजवंशले तीन शताब्दीभन्दा बढी सिक्किममा राज ग¥यो । भारतमा ब्रिटिस इस्ट इन्डिया कम्पनीले राज गर्दा सिक्किम पनि उसैको नियन्त्रणमा थियो । १८६१ मा सिक्किमका चोग्यालसँग कम्पनी सरकारले सम्झौता गरेर नमग्याल वंशलाई भारतका अन्य राजारजौटाका राज्यजस्तै कठपुतली बनाएर राखेको थियो ।
भारतबाट अङ्ग्रेज फिर्ता गएपछि सिक्किमको अर्को अध्याय सुरु हुन्छ । भारत स्वतन्त्र हुँदा सिक्किमका तत्कालीन चोग्याल टाँसी नमग्यालले भारतमा विलय हुन चाहेनन् । नागरिकले पनि स्वतन्त्र देशकै रूपमा रहन जनमतसङ्ग्रहमा अभिमत जाहेर गरे । त्यसपछि भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले थप बल प्रयोग गरेर हडप्न चाहेनन् ।
तर, सिक्किममा करिब ७५ प्रतिशत नेपालीभाषी समुदाय थियो । जून १४ प्रतिशत रहेको तिब्बती चोग्यालबाट शासित थियो । यही कारण नेपाली समुदाय र अन्य केही लोकतन्त्र चाहने समूहले आन्दोलन गर्न थाले । जसमा भारतको अप्रत्यक्ष सहयोग रहेको बताइन्छ । यसैबिच तिब्बती समुदायकै नेता लेन्डुपले राजतन्त्रको विरोध गर्दै गणतन्त्रका पक्षमा सङ्घर्ष गर्न थाले । जसमा नेपाली समुदायको साथ हुन थाल्यो ।
लोकतन्त्रका लागि आन्दोलन हुँदा राज्यले धरपकड, दमन, हिंसाका घटना हुन थाले । त्यही अशान्ति र अस्थिरताको फाइदा उठाउँदै भारतले सन् १९५० मा सन्धि गरेर भारत संरक्षित राज्य बनायो । जसमा चोग्याललाई सिक्किमको सार्वभौमिकता र स्वतन्त्रतामाथि कदापि दखल नदिने विश्वास दिलाएको बताइन्छ । यो सन्धिमार्फत सिक्किमको बाह्य रक्षा, परराष्ट्र मामिला र सञ्चारमा भने भारत सरकारले नियन्त्रण गर्ने अवसर पायो ।
सन् १९५९ सम्म आइपुग्दा लेन्डुपलाई नेपाली समुदायका नेताहरूले पनि नेता स्वीकारे । लेन्डुपको नेतृत्वमा सिक्किम नेसनल काङ्ग्रेस स्थापना भयो । त्यतिबेला नेपाली समुदायले लेन्डुपलाई नेपाली समाजको सुरक्षाका लागि नेता मानेका थिए । सिक्किम मामिलाका जानकार वरिष्ठ पत्रकार हरिहर विरहीका अनुसार नेपालीले नै नेतृत्व दिँदा राजा बढी दमनमा उत्रिनसक्ने डर थियो । अर्को नेपालीलाई तिब्बती जुनसुकै बेला मिल्नसक्छन् भन्ने भय थियो । त्यसैले लेन्डुपले नेता बन्ने मौका पाए ।
सन् १९६१ मा चोग्यालले अधिकार कटौती गर्दै नयाँ नीति ल्यायो । जसको विरोधमा नेपाली समुदाय उत्रियो । नेतृत्व सिक्किम नेसनल काङ्ग्रेस र सिक्किम स्टेट काङ्ग्रेसले लिए । पछि समाधानका लागि भारतले मध्यस्थता गरेको थियो । त्यसपछि सन् १९६२ मा भारत–चीन युद्ध, १९६३ मा चोग्याल टाँसीको निधन र सन् १९६४ मा नेहरूको पनि निधन हुँदा सिक्किममा भारतको नजर अझै कडा हुँदै गएको बताइन्छ ।
टाँसीको मृत्युपछि उनका छोरा पाल्देन थोन्डुप नमग्याल सन् १९६५ मा सिक्किमका नयाँ चोग्याल बनेका थिए । पाल्देन सन् १९५० को सन्धि खारेजीको माग गर्दै भुटानजस्तै राष्ट्र माग गर्न थाले । पाल्देन त्यतिमा रोकिएनन्स सिक्किम, नेपाल र भुटानसहितको ‘हिमाली सङ्घ’ बनाउने प्रस्ताव राख्न थाले ।
उक्त कुरामा नेहरूको निधनपछि भारतीय प्रधानमन्त्री बनेकी इन्दिरा गान्धीले बाबु नेहरूको जस्तो धैर्य राख्न सकिनन् । उनले सिक्किमबारे आक्रामक रणनीति अख्तियार गरिन् । यसैबिच उनले लेन्डुपलाई विश्वासमा लिने कोसिस गरिन् । जसमा लेन्डुप फस्दै गए ।
सन् १९७२ मा सिक्किम जनता काङ्ग्रेस स्थापना भयो, नेतृत्वमा केसी प्रधान आए । यसैबिच सोही वर्ष भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ९रअ० का प्रमुख रामेश्वरनाथ काओले सिक्किम विलयको योजना बनाए । इन्दिराले अनुमोदन गरिन् । जसमा चोग्याल राजतन्त्रको विस्तारै कमजोर पार्ने र त्यहाँका स्थानीय पार्टीको सहयोग लिने योजना बनेको थियो । सिक्किममा प्रजातन्त्रका लागि सङ्घर्षरत नेपाली समुदायले यो विषयको छनकसम्म पाएनन् ।
यसैबिच सन् १९७३ मा भएको निर्वाचनको नतिजा अस्वीकार गर्दै सिक्किम नेसनल काङ्ग्रेसका नेता लेन्डुप, सिक्किम जनता काङ्ग्रेसका केसी प्रधानले आन्दोलन सुरु गरे । नेपाली समुदाय लगातार आन्दोलित नै थियो । आरसी पौड्याल पनि त्यतिबेलाको लोकतान्त्रिक आन्दोलनमा नेपाली समाजको अगुवाइमा थिए । उनीबाहेक नरबहादुर खतिवडा पनि त्यतिबेला आन्दोलनमा थिए । पौड्यालले त राजधानी गान्तोकमा सातदिने अनसन नै गरेका थिए ।
आन्दोलनकारीले लिखित संविधान, मौलिक अधिकार, बालिग मताधिकार, आरक्षण माग गरिरहेका थिएस तीन दिनकै आन्दोलनमा हजारौँ व्यक्ति सडकमा ओर्लिए । उता दिल्लीको रणनीतिमा लेन्डुपबाहेक अरूलाई थाहा थिएन । तर, अन्य नेतालाई चोग्यालको राजशाहीविरुद्ध सहयोग गर्ने भनेर आश्वस्त पारिएको थियो ।
तर, राज्य दमन बढ्दै गएपछि नेताहरूमा ‘चोग्यालको गुलाम हुनुभन्दा सिक्किमलाई भारतमा गाभ्नु राम्रो हुने’ भन्ने धारणा विकसित भयो । तर, आम नागरिक र लोकतन्त्रवादी नेताहरू व्यवस्था मात्र परिवर्तन चाहन्थे । तर, चोग्यालको दमन बढ्दै गएपछि पौड्याल र खतिवडा पनि विलयकै लाइनमा पुगेका थिए ।
त्यसपछि भारतले आन्दोलनरत पक्ष र चोग्यालसँग दोहोरो संवाद गरेर वार्ताको वातावरण बनायो । सहजीकरण गर्न भन्दै दिल्लीबाट बीएस दास सिक्किम पुगे । १९७३ मे ८ मा राजा, भारत र दलबिच त्रिपक्षीय सम्झौता भयो । सम्झौतामा सिक्किमको रेखदेख गर्न एक भारतीय प्रतिनिधि रहने र आवधिक निर्वाचनको सहमति भयो ।
१९७३ अगस्टमा लेन्डुप र प्रधानले पार्टी एकीकरण गरेर सिक्किम काङ्ग्रेस बनाए । यसै क्रममा लेन्डुप सिक्किमको प्रधानमन्त्री पनि बने । उता लेन्डुपसँगको मिलेमतोमा राजा हुँदाहुँदै भारतले बीबी लाललाई सिक्किमको राज्यपाल पठायो । यसक्रममा उनले राजालाई क्रूर र निरङ्कुश भनेर भारतमा विलयको वातावरण बनाउँदै लगे ।
यसैक्रममा सिक्किम प्रहरीलाई कमजोर बनाउँदै भारतले आफ्नो सशस्त्र प्रहरीको उपस्थिति बढाउँदै लग्यो । सन् १९७४ मा सिक्किममा निर्वाचन भयो । जसमा सिक्किम काङ्ग्रेसले ३२ मध्ये ३१ सिट जित्यो । सोही निर्वाचनमा पौड्याल पनि निर्वाचित भएका थिए ।
निर्वाचनपछि अप्रिल १९७५ मा बसेको संसद्मा लेन्डुपले भारतको इसारामा ‘सिक्किममा दिगो शान्ति, विकास र जनअधिकारका लागि’ भन्दै एउटा विधेयक प्रस्तुत गरे । अङ्ग्रेजीमा लेखिएको विधेयक २० जना अङ्ग्रेजी भाषा पटक्कै नबुझ्ने सांसदले थाहा नै पाएनन् । विधेयक निर्विरोध पारित भएको घोषणा गरियो ।
जसमा ‘प्रशासन सञ्चालन भारतीय प्रशासकले गर्ने र सिक्किमलाई भारतमा विलय गर्ने विषयमा जनमतसङ्ग्रह गर्ने’ विषय थियो । त्यो निर्णय कार्यान्वयन गर्ने जिम्मेवारीसमेत भारतीय प्रशासनलाई प्राप्त भयो । १४ अप्रिल १९७५ मा जनमतसङ्ग्रह भयो, जसमा ९३ प्रतिशत विलय पक्षमा मत आएको घोषणा गरियो । १६ मई १९७५ मा भारतले २२ औँ पूर्ण राज्यको मान्यता प्रदान ग¥यो ।
त्यसपछि विद्वान् र धाराप्रवाह बोल्नसक्ने नेता मानिने पौड्याल दुई विधानसभाको उपसभामुख भए भने त्यसपछि वनमन्त्री बने । तर, भारतमा विलिन गराएको आरोपले लेन्डुप, पौड्याल, खतिवडालगायत नेतालाई ‘देश बेचुवा’को आरोप लाग्यो । नरबहादुर भण्डारीले नयाँ दल खोलेरै तीनजनाको आलोचना गर्न थाले । जनस्तरमा पनि उनीहरू आरोपित हुँदै गए । उता भारतीय संस्थापनले पनि उनीहरूलाई हेप्न थाल्यो ।
देश बेचुवाकै आरोपमा सन् १९७९ मा भएको विधानसभा निर्वाचनमा लेन्डुपसहित पौड्याल र खतिवडाहरू पनि हारे । बल्ल उनीहरूको चेत खुल्यो । त्यसपछि पश्चाताप गर्दै लेन्डुप कालिम्पोङमा गएर बस्न थाले । खतिवडा मुम्बईतिर गएर वकालत पेसा गर्न थाले ।
विद्वान् मानिने पौड्याल पार्टी गठन गरेर राजनीति गर्ने प्रयास गरे पनि सफल हुन सकेनन् । त्यसपछि पछुतोले गर्दा योगी भएर गीताज्ञान प्रचारमा लागे । धार्मिक, सांस्कृतिक अभियानमा लागे । यही पश्चाताप पौड्यालले आफूसँगको भेटमा देखाएको वरिष्ठ पत्रकार विरहीले आफ्नो पुस्तकमा समेत लेखेका छन् ।
जसमा पौड्यालले भनेका छन्, “सबैले गलत बुझेका अथवा बुझाइएको मान्छे । हामीजस्ता इमानदार र सोझा मानिसले राजनीति गर्ने समय होइन रहेछ यो । त्यसैले मैले राजनीतिबाट सन्न्यास लिएँ ।” उनले दिल्लीसँग एक पैसा पनि नखाएको बताएको उल्लेख छ । “तर, आफ्नो मातृभूमि कसैले बेच्छ ? दिल्लीसँग मैले आजसम्म एक पैसा पनि खाएको भए आमाको रगत बराबर हो । म नर्कमा परिजाऊँ ।”
विरही पौड्याललाई सिक्किमलाई भारत विलय गराउन लेन्डुपको सारथीभन्दा परिचय नपुग हुने बताउँछन् । विरही भन्छन्, “उनी बहुसङ्ख्यक सिक्किमे नेपालीलाई अधिकार दिलाउन लडेका व्यक्ति हुन् । उनकै सङ्घर्षले नेपालीभाषीले चोग्यालको ठुलो अत्याचारबाट बचेको पनि देख्न सकिन्छ ।” पौड्यालकै सङ्घर्षमा नेपाली भाषा, साहित्य, सनातन हिन्दू धर्म संस्कार पनि सिक्किममा जोगिएको विरहीको बुझाइ छ ।
पश्चातापमा रहेका ८० वर्षीय नेता पौड्यालको निधनलाई शङ्कास्पद मानिएको छ । कसैले उनको मृत्यु आत्महत्या त कसैले हत्याका रूपमा व्याख्या गरिरहेका छन् । मृत भेटिएपछि बुधबार सिक्किममै उनको अत्येष्टि गरिएको छ । अन्त्येष्टि उनका भाइ पूर्वमन्त्री सोमनाथ पौड्यालले गरेका छन् । सोमनाथ पवन चाम्लिङ मुख्यमन्त्रीको मन्त्रिपरिषद्का सदस्य थिए ।

साभार ः नागरिक दैनिक, ३ साउन