मेरो प्रेम-पत्र

मेरो प्रेम-पत्र

साताकाे साहित्य  : कविता
*** ***
 
मेरो यो प्रेम-पत्र
तिम्रा सुन्दर अनि ओसिला आँखासम्म
पुग्नु अगाडि
थाहा छैन
कति सुख्खा आँखाहरू हुदै जाने छ
जहाँ ,
मैले लेखेका हरेक हरफको उत्खनन् हुनेछ
र त्यसको गुह्य अर्थ खोजिने छ ।
जब मैले
तिम्रा आँखा तलाऊजस्तै गहिरा छन भनेर लेख्ने छु
त्यसको अर्थ निकालिने छ-
म राजाका विरुध्द युध्द गर्न
गहिरो खाडल खन्दै छु
त्यसपछि मेरो प्रेमपत्र
तिमीसम्म पुग्नै पाउदैन ।
जब म लेख्ने छु-
तिम्रा सुन्दर ओठमा म
एउटा फूल उमार्न चाहन्छु
उनीहरू
मैले हतियार उठाउने कुरा गर्दै छु भनेर बुझ्ने छन ।
तिम्रा सुन्दर काला र बाक्ला केशरासीमा
म हराउन चाहन्छु भनेर लेखें भने
म जङ्गलमा छापामारहरूसँग भेट्न चाहन्छु भनेको बुझ्ने छन् ।
तिम्रो मायाँमा डुबेर
म जिन्दगी तर्न चाहन्छु भनेर लेख्ने हो भने
गहिरो सुरुङ्ग खनेर
जेलबाट भाग्न चाहेको बुझ्ने छन् ।
यसरी मेरा प्रेमपत्रहरू
तिमीसम्म पुग्नुभन्दा पहिलै मर्ने छन् ।
तर यो कुराले
राजाका बिरुध्द
युध्दको तयारीमा के फरक पर्ला र ?
के राजाका बिरुध्द
हतियार उठाउनेहरू घट्लान र ?
के जङ्गलमा
बिद्रोही नौजवानहरूसँग
भेटघाट पातलिएला र ?
के जेलहरूमा
सुरुङ्ग खन्ने काम रोकिएला र ?
अनि यी सबै कुरा छोडेर
के यो कुराले
हाम्रो प्रेममा कुनै कमी आउला र ?
अनु: मुक्ति पथिक