इतिहासमै पहिलो पटक मुख्य सचिव नै भ्रष्टाचार मुद्दामा पदमुक्त, संसदीय व्यवस्था भ्रष्टहरुको व्यवस्था भएको साबित

इतिहासमै पहिलो पटक मुख्य सचिव नै भ्रष्टाचार मुद्दामा पदमुक्त, संसदीय व्यवस्था भ्रष्टहरुको व्यवस्था भएको साबित

काठमाडौं । नेपालको इतिहासमा कर्मचारी प्रशासनको नेतृत्व गर्ने मुख्य सचिव भ्रष्टाचार मुद्दामा पदमुक्त बनेका छन् । आइतबार अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी पदमुक्त बनेका छन् । एक पूर्वसचिव यसलाई निजामती सेवा प्रशासनको सबभन्दा ठूलो ‘दाग’ भन्छन् । किनकी विगतमा मुख्यसचिवहरु भूमिका र उनीहहरुको पृष्ठभूमिमाथि विवादहरु हुने गरेपनि मुद्दा नै लागेको भने थिएन । एक प्रशासकका अनुसार लिच्वीकालीन अंशुबर्माको पालादेखि अहिलेसम्म प्रशासनको नेतृत्व गर्ने कसैमाथि भ्रष्टाचार अभियोग लागेको थिएन, मुख्तियारहरुलाई दरबार र राणा शासकहरुले अनेक बाहनामा कारवाही गर्दा पनि भ्रष्टाचारको अभियोग लगाएको इतिहास छैन । २८ असोज २०१२ मा चन्द्रहादुर थापा पहिलो मुख्यसचिव भएका थिए । त्यसयता २५ जना मुख्यसचिव फेरिए ।

कुलशेखर शर्मा, कृष्णबम मल्ल, क्षेत्रविक्रम राणा, प्रधुम्नलाल राजभण्डारी, कृष्णबहादुर मानन्धर, भोगेन्द्रनाथ रिमाल, कर्णध्वज अधिकारी, लोकबहादुर श्रेष्ठ र दामोदरप्रसाद गौतमले पञ्चायतकालसम्म प्रशासनको नेतृत्व लिंदै मुख्यसचिव भएर काम गरे । मधुसुधनप्रसाद गोर्खाली, डा. इश्वरप्रसाद उपाध्याय, बलरामसिंह मल्ल, तिर्थमान शाक्य, केशवराज राजभण्डारी, विमल कोइराला र लोकमानसिंह कार्कीले दोस्रो जनआन्दोलन हुँदासम्म मुख्यसचिव पद सम्हाले । मुकुन्द शर्मा पौडेल, डा.भोजराज घिमिरे, माधवप्रसाद घिमिरे, लीलामणि पौडेल, डा.सोमलाल सुवेदी, राजेन्द्रकिशोर क्षेत्री, लोकदर्शन रेग्मी र शंकरदाश वैरागी देशमा गणतन्त्र आएपछि भएका मुख्यसचिवहरु हुन् ।

उनीहरुमध्ये ३ असोज २०६२ मा मुख्यसचिव बनेका लोकमान सिंह कार्की दोस्रो जनआन्दोलन दबाउन मुख्य भूमिकामा रहेको भन्दै विवादमा परे । यसकै कारण जनआन्दोलनपछि बनेको सरकारले उनलाई विशेष पद सिर्जना गरेर मुख्यसचिव पदबाट हटाएको थियो, तर उनीमाथि भ्रष्टाचारको अभियोग थिएन ।

कार्कीलाई २५ वैशाख २०७० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्त गरिएपनि उनको विवादास्पद भूमिकाका कारण ८ असोठ २०७१ मा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । तर महाअभियोग प्रक्रिया नटुंगिँदै सर्वोच्च अदालतले २४ पुस २०७३ मा उनलाई अख्तियार प्रमुख हुन योग्यता नपुग्ने भन्दै पदमुक्त गरेको थियो ।

स्वच्छ छविको भनिएका लिलामणि पौडेल पनि मुख्यसचिव पनि ललिता निवास जग्गा प्रकरणमा मुछिए । २०६९ सालमा गृह मन्त्रालय अन्तर्गतको समरजंग कम्पनीको नाममा रहेको ललितानिवासको जग्गा पशुपति टिकिन्छा गुठीको नाममा सार्न मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिन गरेको निर्णयको विवादमा पौडेल मुछिएका थिए । मन्त्रिपरिषद्को बैठकको निर्णय मुख्यसचिव पौड्यालले प्रमाणीकरण गरेकाले उनी पनि अनुसन्धानको दायरामा परेका थिए ।

माधवकुमार नेपाल नेतृत्वले ३१ वैशाख २०६७मा गरेको ललिता निवासको सरकारी जग्गा भूमाफियालाई दिने निर्णयमा तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरे पनि मुछिएका थिए ।

सार्वजनिक, सरकारी र गुठी जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुने गरी भएको मन्त्रिपरिषदको निर्णयहरुलाई लिएर तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि प्रश्न उठेको थियो । तर अख्तियारले मन्त्रिपरिषद्को निर्णयमाथि मुद्दा नचलाउने निर्णय गरेपछि तत्कालीन प्रधामन्त्रीसँगै मूख्यसचिवहरु विरुद्ध पनि मुद्दा चलेन ।

२०७२ मा तत्कालनि मुख्यसचिव डा. सोमलाल सुवेदीले एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक बन्न जाने निर्णय लिएपछि चर्को विवादमा परे । सरकारको मुख्यसचिव नै काज मिलाएर विकास साझेदार निकायमा जागिर खान जान लागेपछि सुवेदीको आलोचना भयो । त्यसपछि उनी राजीनामा बुझाएर हिँडेका थिए । मुख्यसचिव पदमा रहँदा लोकदर्शन रेग्मी र शंकरदास वैरागीले पनि विवादास्पद निर्णय गरेको र मुख्यसचिव पदमा बसेर खेलेको कमजोर भूमिकाका कारण आलोचित थिए । कसैका विरुद्ध पनि भ्रष्टचारको मुद्दा भने लागेको थिएन । डा. वैकुण्ठ अर्याल भने भ्रष्टचारको मुद्दामा तानिएका छन् । उनी मुख्यसचिव रहँदा गरेको निर्णयका कारण नभई सञ्चार मन्त्रालयमा सचिव रहँदा गरेको विवादास्पद निर्णयहरुका कारण अख्तियारको अनुसन्धानमा तानिएका थिए ।

सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्क स्टिकर छाप्ने नीतिगत निर्णयसहित टेरामक्स, नेपाल टेलिकमको बिलिङ मर्मतसम्भार ठेक्का लगायतमा उनले मुख्यसचिव हुँदा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिनुपर्‍यो ।

त्यसमध्ये अन्तःशुल्क स्टिकरसम्बन्धी मुद्दामा उनीसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भयो । मुद्दामा अख्तियारले अर्यालविरुद्ध ३८ करोडभन्दा बढी विगोदाबी गरेको छ ।

कर्मचारी प्रशासनको ‘आइडल’ मानिने मुख्यसचिव पदको गरीमा पछिल्ला दशकमा खस्किँदै गएको थियो । मूख्य सचिव नियुक्तिमा वरिष्ठता र कार्यकुशलता हेर्ने कानुनी व्यवस्थालाई अपव्याख्या गर्दै सत्तारुढ दलहरुले आफूअनुकूलको व्यक्ति ल्याउने अभ्यास थाले । त्यसका लागि सत्तारुढ दलहरुले बहालवाला मुख्यसचिवलाई कार्यकाल सकिनु अगाडि नै राजीनामा दिने प्रस्ताव गर्ने, अनि मुख्यसचिवहरु पनि राजदूत, सुरक्षा सल्लाहकार जस्ता पदको लोभमा सहजै पद छाडिदिने गलत अभ्यास सुरु भयो । यसले मुख्यसचिवमा ‘एस म्यान’हरु हावी भए भने तुलनात्मक रुपमा क्षमतावानहरु सचिवबाटै विदा हुने अवस्था आयो । डा. अर्याल स्वयम् पनि त्यसरी नै मुख्यसचिव बनेका थिए । तत्कालीन मुख्यसचिव शंकरदास बैरागीले ६ महिना अगाडि नै पद छाडेर राष्ट्रिय सुरक्षा परिषद्को सुरक्षा सल्लाहकार पदको लोभ नगरेको भए डा.अर्यालले सचिवबाटै विदा लिन्थे ।

तर, सञ्चार मन्त्रालयमा रहँदा अर्यालसँग निकट सम्बन्ध बनाएका बिचौलिया विकल पौडलसहितको समूहको सेटिङमा अर्याल अवकाश पाउनुभन्दा ३ दिनअघि ३२ जेठ २०८० मा मुख्यसचिव बन्न सफल भए । तिनै अर्याल मुख्यसचिवमै रहेका बेला सूचना प्रविधि ठेक्का सेटिङका योजनाकार विकल पौडेलसँगै भ्रष्टाचार मुद्दामा अभियुक्त बनेका छन् ।

पूर्वसचिव सूर्यनाथ उपाध्याय मुख्यसचिव नै भ्रष्टचार अभियोगमा मुछिएर निलम्बन भएको घटनाले राजनीतिक नेतृत्वसँगै कर्मचारीतन्त्र पनि ‘खत्तम’ हुने बाटोमा अग्रसर भएको प्रमाण दिएको बताउँछन् । पूर्वसचिव रामेश्वर खनाल निजामतीतन्त्रभित्र गलत कामविरुद्ध लड्ने हिम्मत भएका मान्छेहरु नभएको उनको ठम्याइ छ ।
नेपालको संसदीय इतिहासमा भ्रष्टाचारका काण्ड र प्रकरणहरुको चाङ छ । धेरै भ्रष्टाचारका मुद्दाहरु इतिहासको गर्भभित्रै दबाइएको छ । संसदीय व्यवस्था भ्रष्ट, निकम्मा र नालायक व्यवस्था हो भन्ने कुरा एकपटक फेरि सान्दार रुपमा पुष्टि भएको छ ।