शनिबारीय साहित्य : कविता
*** ***
सालिन्दा फेरिएको क्यालेण्डर
फेरियो यसचोटी उसैगरी
सिंहदरबार र बालुवाटार
शितलनिवास र बल्खु दरबार
सानेपा र प्यारीडाँडाका
ग्यालरी बैठकहरूमा
परन्तु, फेरिएन क्यालेण्डर
खण्डहर जस्तै नेपाली भित्ताहरूमा ।
लोकसेवाको टिकेट बोकेर
सिंहदरबार छिरेका मेरा दौँतरीहरू
गृहमन्त्रालयको नोटिस पढ्दै
चिनो लगाउँछन् विदाका दिनहरूको
क्यालेण्डरको पाताहरूमा
साइत जुराउँछन् विदेश यात्राको
र, डायरीका पानाहरूमा
भर्छन्, ‘सपिङ’ सामानहरूको सूची ।
फेरिएको क्यालेण्डरमा देखिँदैन
भुइँचालोले नङ्ग्याएका छालाहरूमा
एकसरो टालो फेर्ने मिति
आकाश ओढेर रात काटिरहेका
उदास अनुहार लुकाउन
एउटा झुपडीको शिलान्यास गर्ने साइत
र, भेटिँदैन कतै पनि
रोजाना ठूलो गौचरबाट
मालचरीका ताँती जस्तै उड्ने
कर्मठ पाखुरा रोक्ने योजना
अहँ, कतै भेटिँदैन नयाँ क्यालेण्डरमा
यस्ता कुनै पनि कुराहरू ।
युग बदल्ने रणमैदानमा
चढाइएका जोवनहरूको मूल्य
भेटिँदैन नयाँ क्यालेण्डरमा
बरू भेटिन्छन् उनीहरूका
फौजदारी अभियोगका मिसिल
‘न्यायालय’का पेशी फाइलहरूमा
र, पनि फेरिइरहन्छ उसैगरी
जसरी यो बर्स फेरिएको छ क्यालेण्डर ।
सिंहदरबारबाट गर्जित
‘कार्यकारी’को गर्जन होस्
अथवा, शितलनिवासका
‘संरक्षक’को फर्माइस कामना
चारतारामा अङ्कित शुभधुन होस्
अथवा, बल्खु र प्यारीडाँडामा विराजमान
फिका रातो कोटको खल्तीबाट
वाचित शुभकामनाका गोधिका अश्रु
अर्थात् गुगलका भित्ताहरूमा साटिएका
मङ्गलगानका आलापहरू नै किन नहोस्
त्यसले त बन्दोरहेनछ
बारपाक गाउँको पुनर्निर्माण
त्यसले त भरिँदो रहेनछ
सिंगटीमा दोब्रिएका पेटहरू
त्यसले त रोक्दो रहेनछ
चिलगारीले ओसार्ने चीसा पाखुराहरू
त्यसले त बदल्दो रहेनछ
कानूनले तयार पारेको मिसिल
र, त्यसले त फेर्दो रहेनछ
खण्डहर जस्तै नेपाली भित्ताको क्यालेण्डर ।
उठ, ए दोब्रिएका पेटहरू
जाग, ए चीसा पाखुराहरू
सल्काऊ चिराग ए बारपाकहरू
जुट ए, घर छोड्ने पाखुराहरू
र, फेर तिम्रा लालाबालाका लागि
एउटा क्यालेण्डर
जहाँ, उनीहरू पढ्नेछन्
वीरताको नयाँ कृति ।
… …